नविन अर्याल
२१ फागुन, काठमाडौं । टर्किस एयरलाइन्सको विमान धावनमार्ग नै अवरुद्ध हुने गरी दुर्घटना भएपछि नेपालको अन्तराष्ट्रिय अडान अवरुद्ध भएको ३४ घण्टाभन्दा बढी भयो ।
त्रिभुवन बिमानस्थल ब्यबस्थापनका अनुसार अझै कम्तीमा १८ घण्टाभन्दा बढि समय लाग्ने छ बिमानस्थल सुचारु हुन । दुई दिनदेखि नेपालको अन्तराष्ट्रिय हवाई सम्बन्ध बिच्छेद भएपछि हजारौं यात्रु नेपालभित्र र नेपाल बाहिर अलपत्र परेका छन् ।
आखिर किन यति लामो सयम लाग्यो त बिमानस्थल सुचारु हुन ? कसरी हटाइँदै छ दुर्घटनाग्रस्त बिमानस्थल धावनमार्गबाट ?
भारतबाट इन्डियन एयरफोर्सको जहाज त काठमाडौं आयो तर, पूर्व घोषणा अनुसार बिहीबार ५ बजेबाट उडान सुरु हुन सकेन । दिउँसो ३ बजेतिर नागरिक उड्ययन प्राधिकरणले शुक्रबार विहान १० बजेसम्मका लागि सबै उडान रद्द गरेको घोषणा गरेको छ ।
यतिबेला धेरैलाई चासो छ कि अब धावनमार्ग अवरुद्ध हुने गरी दुर्घटनाग्रस्त भएको विमान कसरी हट्छ ?
इन्डियन एयरफोर्सको जहाजमा ‘एयरक्राफ्ट रिमुभल किट’ सहित १२ जनाको प्राविधिक टोली काठमाडौं आएको छ । नेपालको तर्फबाट १२ जना प्राविधिकहरु खटिएका छन् । सहयोगी भूमिकामा नेपाल आर्मी, नेपाल पुलिस, प्राधिकरण, नेपाल एयरलाइन्स, टर्किस एयरको प्राविधिक टिमसहित करिव सय जना काममा खटिएका छन् ।
जहाज हटाउन आवश्यक पर्ने सहयोगी औजार भने प्राधिकरणले जुटाइदिएको छ । दुर्घटना स्थलमा सम्भावित खतरालाई मध्यनजर गर्दै दमकल पनि तयारी हालतमा राखिएको छ ।
यसरी हटाइँदैछ जहाज
भारतबाट ल्याइएको रिमुभल किटको प्रयोग गरी धावनमार्गमा रहेको जहाज हटाउने काम सुरु भएको छ । नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक रतिस चन्द्रलाल सुमनका अनुसार सबैभन्दा पहिले विमानको दुबै तर्फ २ फिट गहिरो खाडल खनिएको छ ।
त्यसमा विशेष खालको बेलुन राखी त्यसमा हावा भरेर जहाज उचाल्ने प्रयास हुनेछ । जहाज सन्तुलनमा आइसकेपछि चारतिर जग हालिने छ र विमानका बिग्रिएका सबै टायर फेर्ने प्रयास गरिने छ । पछाडिको पाग्रा भने परिवर्तन गरिसकिएको छ ।
जहाजमा टायर फेर्न सफल भएमा विस्तारै जमिनमा राखी तानेर प्राविधिक टोलीले धावनमार्गबाट बाहिर लैजानेछन् । यो प्रयास सफल भएमा उडान सुचारु गर्ने बाटो खुल्नेछ ।
सजिलो छैन टायर फेर्न
तर, जहाजमा सहजै टायर फेर्न सकिने सम्भावना निकै कम छ । पछाडिको टायर धावन मार्ग बाहिर भएकाले क्षति कम भएको अनुमान गरिएको छ । तर, अगाडिको टायर जमिनमा भासिएको हुँदा कस्तो अवस्थामा छ अहिल्यै भन्न नसकिने अधिकारीहरुले बताएका छन् ।
विमानको टायर फेर्नका लागि सामान्य नट बोल्ट कस्ने प्वाल समेत बिगि्रनु वा तलमाथि हुनहुँदैन । तर, दुर्घटनाका क्रममा जहाज धावनमार्ग र घाँसेमैदानमा जोडसँग बजारिएको हुँदा टायर राख्ने ठाउँहरुमा क्षति भए/ नभएको अहिले नै केही भन्न सक्ने अवस्था छैन ।
नागरिक उड्ययन प्राधिकरणका अनुसार जहाजका तीनवटै टायर ड्यामेज भएको छ । टायर राखेर जहाज गुडाउनका लागि ‘नोज गियर’ पनि खुल्नुपर्ने हुन्छ । तर, जहाज उचालेर सन्तुलनमा ल्याएपछि मात्र यस विषयमा थाहा हुने प्राविधिकहरु बताउँछन् ।
अर्को विकल्प के ?
यदि जहाजमा टायर राखेर गुडाउन नसकिने अवस्था रहेमा अर्को विकल्पमा जानुपर्ने हुन्छ । त्यसका लागि पनि प्राविधिक टोली तयारी अवस्थामा रहेको महानिर्देशक सुमनले जानकारी दिए ।
पहिलो प्रयास असफल भएमा प्राविधिकले ‘टोइङ बार’ मार्फत जहाज उचालेर धावन मार्गबाट हटाउने प्रयास गर्नेछ । ‘टोइङ बार’ नामक मेसिनबाट जहाजलाई उचाल्ने तथा दायाँबायाँ सार्न सकिन्छ । यसबाट जहाजलाई भने क्षति नहुने बताइएको छ ।
कार्गो र इन्धनसहित जहाजको तौल १५० टनभन्दा बढी हन्छ । जसले दुघर्टनाग्रस्त विमानलाई सहजै धावन मार्गबाट हटाउन सकिने अवस्था नरहेको विमानस्थल प्राविधिकको भनाइ छ ।
भोली विहानसम्म जहाज हटाउन सकिने प्रारम्भिक अनुमान गरिए पनि थप समय लाग्न सक्ने प्राविधिकहरु बताउँछन् । जहाजमा अन्य प्राविधिक समस्या पनि हुनसक्ने हुँदा प्रारम्भीक रुपमा आंकलन गरिएको समयमा जहाज हटाउन असम्भव पनि हुनसक्छ ।
त्यसैले यदि तपाईं भोलि नै त्रिभुवन बिमानस्थल सुचारु होला भन्ने ठानेर नेपाल आउन टिकट लिने योजना बनाउनुभएको छ भने कम्तीमा अझै २४ घण्टा कुर्नु बुद्धिमानी हुने छ ।
नेपाल उड्ने बिभिन्न बिमानस्थल जस्तै थाइल्याण्डको बैंकक, मलेसियाको क्वालालम्पुर, कतारको दोहा, हङकङ, लगायतका शहरमा सयौं यात्रुहरु अलपत्र परिरहेको सूचना आइरहेका छन् । त्यसैले तपाईले नेपाल आउनका लागि हतार गरिहाल्ने अबस्था छैन् ।
यो पनि पढ्नुहोस्
हेर्नुहोस् त्रिभुवन बिमानस्थलमा बिदेश उड्ने यात्रुको बिजोग

तस्वीरः श्रीधर पौडेल/अनलाइनखबर
प्रतिक्रिया 4