सुरेश भुसाल/नविन अर्याल
२३ फागुन, काठमाडौं । चार दिनदेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएसँगै यात्रुहरुको भिड लागेको छ । विमानस्थल सुचारु भएलगत्तै अन्तर्राष्ट्रिय उडान-अवतरण सुरु भइसकेको छ ।
शनिवार राति विमानस्थलमा नेपाल एयरलाइन्स, ओमन एयर, चाइना इष्टर्न, इत्तिहाद, फ्लाई दुबई लगायतका एयरलाइन्सको बोर्डिङ पास भइरहेको थियो । बोर्डिङ पास लिने ठाउँमा भेटिएका यात्रुहरुमा खुशीको सिमा थिएन् ।
अधिकांश एयरलाइन्सले राति उडान गर्ने जानकारी दिएपछि यात्रुहरुको भिड बढेको बताइएको छ ।
चार/पाँच दिन कुरेर गन्तव्यमा पुग्न पाएकोमा अत्यन्त खुशी लागेको सुनसरीका कुशेस्वर चौधरीले बताए । उनी कतारको दोहा जान मंगलबारदेखि काठमाडौंमा बसिरहेका थिए ।
विमानस्थल कार्यालयका अनुसार राति नेपाल एयरलाइन्सले दिल्ली र दोहा उडान गर्यो ।
भिडियो
चाइना इष्टर्नले रातभरमा ७ वटा उडान गर्न लागेको विमानस्थल टर्मिनल व्यवस्थापन महाशाखा प्रबन्धक शिव शर्मा उपाध्यायले जानकारी दिए । उनका अनुसार ओमान एयर राती १२ बजे काठमाडौं अवतरण गरी १ बजे मस्कटका लागि उड्ने छ ।
इत्तिहाद एयरवेज २ बजे आएर यात्रु बोकी ३ बजे उड्ने तालिका छ । फ्लाई दुबई ११ बजे काठमाडौं आई १२ बजेतिर अबुधावी फर्किने बताइएको छ । टर्कीस एयरले आइतबार बिहान नियमित समय ६ बजेर ३५ मिनेटमा आउने जानकारी दिएको छ ।
विमानस्थल कार्यालयका अनुसार पहिलो उडान नेपाल एयरलाइन्सको हुने छ भने पहिलो अवतरण फ्लाई दुबईको हुने बताइएको छ ।
विमानस्थलमा बच्चादेखि बुढासम्मको भिड देखिन्थ्यो । अधिकांस उडानहरु खाडी मुलुकमा रहेको हुँदा विदेशमा काम गर्न जानेहरु बढि देखिन्थे ।
कतिपय कामदार यात्रुहरु भिसा सकिन लागेको अवस्थामा पनि देखिन्थे । धनुसाका ब्रम्हेश्वर महताको आज राती कतारको भिसा सकिदै छ । मंगलबारदेखि काठमाडौंमा उडान होला भन्ने आशामा बसेका उनी कतार प्रवेश पाउने आशामा आएको अनलाइनखबरसँग बताए ।
विमानस्थलमा महतोजस्तै सप्तरीका हरिहरप्रसाद चौधरी पनि भेटिए । कतारबाट छुट्टीमा आएका उनको पनि राति भिसा सकिदैछ । कतार प्रवेश गर्न पाइन्छ, पाइदैन थाहा छैन, तर उनी ठूलो आशा बोकेर विमानस्थल आएका थिए ।
विमानस्थलमा भिसा सकिने यात्रुहरुको अनुहार मलिन देखिए पनि अधिकांश यात्रुहरुको अनुहारमा खुशी देखिन्थ्यो । कतार जान लागेका पोखराका विधान घिमिरे काठमाडौंमा बस्नुपर्दा कुनै दुःख नलागेको बताउँदै थिए ।
सुनसरीका सुजन कार्कीले ४ दिनदेखि विमान उड्ला भनेर कुरेको बताउँदै निकै हैरान पाएको बताउँदै थिए । लामो समय कुरेर भएपनि गन्तव्यमा जान पाएकोमा खुशी लागेको उनको भनाई थियो ।
चार दिन विमानस्थल अवरुद्ध हुँदा २४ हजार यात्रुहरु अडि्कएर बसेका छन् । त्यति नै मात्रमा यात्रुहरु नेपाल आउन विभिन्न १५ देशका विमानस्थलमा अलपत्र अवस्थामा छन् ।
यी यात्रुहरुलाई गन्तव्यमा सहज रुपमा पुर्याउन विमानस्थल कार्यालय सहित अध्यागमन विभाग, नेपाल प्रहरी, भन्सार लगायतले सहयोग गर्ने महाप्रबन्धक बीरेन्द्रप्रसाद श्रेष्ठले बताए ।
प्रतिक्रिया 4