Comments Add Comment

‘रेकर्ड राख्न’ एमाओवादी सभासद सगरमाथा चढ्ने

२८ फागुन, काठमाडौं । संविधान निर्माण प्रक्रिया अन्योलमा परिरहेकोबेला सभासदहरु भने सगरमाथाको शिखर चुमेर ‘विश्व रेकर्ड’ राख्ने अभियानमा लागेका छन् ।

Rupa-Maharjan-and-Ongdi-She

सगरमाथा चढ्न जान लागेका सभासदहरु हुन् ओङ्दी शेर्पा र रुपा महर्जन । उनीहरु दुबै एमाओवादीका समानुपातिक सभासद हुन् । सगरमाथामा जान सभासदहरु अहिले पूर्वअभ्यास र प्राविधिक तालिममा व्यस्त छन् ।

‘वाल क्लाइम्विङ र फिजिकल फिटनेसको तालिम लिइराखेका छौं, यो सकिएपछि केही साना हिमाल चढ्न जान्छौं,’ सभासद शेर्पाले भने ।

कहिले जाने ?

चैत महिना भित्र सभासदहरुलाई सगरमाथा लैजाने योजना रहेको उनो ट्रेकिङका पीके शेर्पाले अनलाइनखबरलाई बताए । उनले भने, ‘ट्रेनिङ र खर्च जुटाउने काम भैरहेको छ, प्राविधिक समस्या नआए चैत २० देखि २५ गतेको बीचमा आधार शिविर प्रस्थान गर्छौं ।’

सगरमाथा चढ्न जानका लागि सभासदद्वय शेर्पा र महर्जनले संविधानसभा अध्यक्ष सुवास नेम्वाङसँग ४५ दिन विदा मागेका छन् । ‘लामो विदा लिनु पर्ने भयो, विदा मिलाउने प्रयास भैरहेको छ,’ सभासद महर्जनले भनिन्, ‘सगरमाथा चढ्न कहिले जाने भन्ने कुरा राजनीतिक परिस्थितिमा पनि भरपर्छ ।’

तालिम लिन, सगरमाथा चढ्न र फर्किन ६० दिन जति लाग्ने ट्रेकिङ व्यवसायीहरु बताउँछन् ।

संविधान लेख्न लागेकोबेला सगरमाथाको यात्रा किन त ? अनलाइनखबरको प्रश्नमा सभासद शेर्पाले भने, ‘सगरमाथा चढ्न जाने भनेर प्रस्ताव मलाई आएको थियो, त्यो थाहा पाएपछि रुपा जीले म पनि जान्छु भन्नुभयो, मैले पनि हुन्छ भनें ।’ उनले संविधानसभा बैठकमा असर नपर्ने गरी सगरमाथा चढ्न जाने बताए ।

उनो ट्रेकिङका पीके शेर्पाले सभासदबाट सगरमाथा आरोहण अहिलेसम्म विश्वमै नभएकोले नेपालबाट नयाँ सन्देश दिन खोजिएको बताए । उनले नीति निर्माण तहमा रहेका सभासदहरुलाई पर्यटन क्षेत्रबारे जानकारी होस् र समस्या समाधान गर्न ध्यानाकर्षण होस् भनेर सगरमाथा आरोहणको प्रस्ताव गरेको बताए ।

‘डेढ-दुई दशकसम्म पर्यटन क्षेत्रमा काम गरियो । समस्या लिएर सरकारकोमा पटक पटक डेलिगेशन पनि गयौं । तर सम्वोधन भएन,’ शेर्पाले भने, ‘सभासदहरुलाई समस्याको फिलिङ गराउन पनि खोजेका हौं ।’

लेखिएला त इतिहास ?

८ हजार ८४८ मिटर अग्लो विश्वको शिखर सगरमाथा आरोहण गर्नु चानचुने कुरा होइन । मौसम, स्वास्थ्य लगायतले आरोहणमा समस्या पर्छ । तर, आफूहरु सफल हुनेमा सभासद महर्जन ढुक्क छिन् । उनले भनिन्, ‘सभासदहरुको तर्फबाट विश्वमा नयाँ सन्देश दिन चाहान्छौं र मलाई विश्वास छ हामी सफल हुने छौं ।’

उनो ट्रेकिङका पीके शेर्पाले सभासदहरु सगरमाथा चढ्न नसकेर बिचबाटै फर्किने अवस्था आए उनीहरुको हस्ताक्षर मात्रै भए पनि चुचुरोमा पुर्‍याउने योजना रहेको बताए ।

यसरी जुट्दै छ खर्च

सगरमाथा चढ्दा एउटा व्यक्तिलाई कम्तिमा २० लाख रुपैयाँ खर्च लाग्छ । मन्त्रिपरिषदबाट निर्णय गराएर रोयल्टी मिनाहा गराइए त्यो भन्दा पनि सस्तोमा जान सकिन्छ । सभासदहरु अहिले त्यही योजनामा छन् ।

सभासदहरुलाई सगरमाथा आरोहण गराउने जिम्मा ‘असिमित प्राकृतिक अवसर नेपाल’ र ‘उनो ट्रेकिङ’ले लिएका छन् । उनीहरुले नै खर्चको व्यवस्था गर्ने सभासद शेर्पाले बताए । सरकारसँग पनि सहयोग माग्ने योजना रहेको उनले बताए ।

उनो ट्रेकिङका पीके शेर्पाले भने, ‘कर्पोरेट हाउस, सहयोगी लगायतसँग सहयोग संकलन भैरहेको छ । सभासद सगरमाथामा जाने भएपछि धेरैजना उत्साहित हुनु भएको छ, अहिलेसम्म करिब २५ लाख रुपैयाँको प्रतिबद्धता आइसकेको छ ।’

कसरी हुँदैछ तालिम ?

ताप्लेजुङका सभासद ओङ्दी शेर्पा हिमाली हावापानीसँग भिजेकाले उनलाई त्यति समस्या छैन । तर, काठमाडौंकी सभासद रुपा महर्जनलाई भने अलि समस्या आउन सक्ने अनुमान गरिएको छ । त्यसैले उनलाई हिमाली हावापानीसँग घुलमिल गराउने र भिर पहरामा चढ्ने तालिम दिएर पोख्त बनाइँदै छ ।

‘अहिले फिजिकल फिटनेस र रक क्लाम्बिङको तालिम दिइरहेका छौं,’ उनो टे्रकिङका पीके शेर्पा भन्छन्, ‘ओङ्दी जीलाई धेरै समस्या छैन, रुपा जीले पनि अहिलेसम्म राम्रो गरिरहनु भएको छ ।’

सभासदद्वयले विहानको समयमा सुकेधारास्थित ‘प्लाटन फिजिकल फिटनेस’ र पासाङल्हामु आरोहण प्रशिक्षण प्रतिष्ठानमा विहान ५ बजेदेखि झण्डै ९ बजेसम्म तालिम लिइरहेका छन् । यो तालिम सकिएपछि बालाजु र हात्तिबनमा थप तालिम दिएर लाङटाङ हिमाल आरोहणमा लैजाने पीके शेर्पाले जानकारी दिए ।

यसअघि नेपालका ९ जना निजामति कर्मचारीहरुले सगरमाथाको सफल आरोण गरिसकेका छन् । अब सभासदले सगरमाथा आँटेका छन् । नयाँ संविधान जारी गरेर रेकर्ड राख्न नसकेर आलोचित भैरहेका सभासदहरुले सगरमाथा चढेर रेकर्ड राख्ने हुन की होइनन् त्यो हेर्न भने केही दिन कुर्नुपर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment