Comments Add Comment

दिलकुमारीको दुःखेसो : ‘संसार जल्यो, तर कसैले हेरेन’

Dil-Kumari-Baraili-Terhathu

  • जलेको घरमा आफ्ना सामान खोज्दै दिलकुमारी

प्रकाश धौलाकोटी
२८ फागुन, तेह्रथुम । हमरजुङ-४ तेह्रथुमकी दिलकुमारी बराइली आगोले नाना, छाना र खाना खरानी भएपछि बिचल्लीमा परेकी छन् । अभिभावक विना एक्लै घरमा बस्दै आएकी दिलकुमारीको घर जलेर खरानी भएपछि उनी झन् बेसहारा बनेकी छन् ।

घरमा एक्लै बस्दै आएकी ‘दलित’की छोरी दिलकुमारीले आँखाभरि आँसु पारेर भनिन्-बुबा बितेपछि मेरो आफ्नो आफन्त कोही पनि थिएन, भएको एउटा घर पनि जल्यो, आड भरोसासँगै सबथोक टुटेको छ ।’

कमजोर आर्थिक अवस्था र पारिवारिक समस्याका कारण लेखपढ समेत गर्न नपाएकी १७ वर्षीया दिलकुमारी बाबु बितेपछि सात बर्षदेखि एक्लै छिन् । बाबु विरामी भएर थला परेपछि आमाले सानी बहिनीलाई साथ लिएर घर छाडेर गएको दिलकुमारीले बताइन् । आमा हिँडेको केही महिना नबित्दै बुवाको मृत्यु भयो ।

उनले भनिन्-‘बुवा बितेपछि मेरो जीवनमा खडेरी पर्‍यो र दुःखका दिन सुरु भए, जसोतसो जीवन धानेकी नै थिएँ । अब त घर जलेसँगै खाने, बस्ने र दैनिकी गुजार्ने ठाउँ पनि सकियो ।’

बुवा बितेपछि उनी आफन्तको शरणमा केही समय बसिन् । उमेर छिप्पिदै गएपछि काम गरेर खान सक्छु भन्ने आँटले उनी आफ्नै घरमा एक्लै बस्दै आएकी थिइन् । भएको थोरै बारीमा लगाएको बालीले एक्लो ज्यान नधान्दा खर्च चलाउन मेलापात गर्दैमा उनका दिनहरु बित्थे ।

Dil-Kumari-Baraili-Terhathu

फागुन १६ को साँझ उनका लागि अकल्पनीय पीडा र दुःखद रह्यो । सामान्य विरामी समेत रहेकी दिलकुमारीले भनिन्, ‘मध्यरातमा अचानक कुखुरा कराउँदै छेउँमा आएपछि ब्युझिँएर हेर्दा घरको माथिबाट आगोको ज्वाला दन्किरहेको देखेँ, धन्न समयमै व्युझिँएछु र मुस्किलले झ्यालबाट भागेरै भएपनि ज्यान जोगाउन सकेँ ।’

आफन्तको घरमा आश्रय

सर्वस्व खरानी भएपछि दिलकुमारी फेरि साइनोले ठूलो बुवा पर्ने छिमेकका पुखलबहादुर बराइलीको आश्रयमा बसेकी छन् । उनले भनिन्-‘चार वर्षदेखि आफ्नै घरमा बस्दै थिएँ, अब भएको त्यही घर पनि रहेन, कहाँ जाने ? के गर्ने ? कसरी दैनिकी गुजार्ने ? टुङ्गो छैन ।’

दिलकुमारीका घरमा आगलागी भएपछि स्थानीय प्रहरी चौकीले घटनाको मुचुल्का तयार गरी करिब साढे दुई लाखको क्षति भएको निष्कर्ष निकाल्यो । उनको घर बनाइदिने विषयमा गाउँमा छलफल पनि भयो । तर अन्य आयश्रोत र बचत रकम केही नभएकी उनलाई गाउँलेले दिएको केही रकमले घर नबन्ने देखिएपछि त्यो विषय त्यतिकै टुङ्गिएको छ ।

दिलकुमारी भन्छिन्, ‘अरुका घर जल्दा त संघ संस्था र सरकारले राहत दिन्छन्, मलाई त घरसँगै संसार जल्दा पनि कसैले केही दिएन ।’

हुन पनि आगलागी भएको यतिन्जेल वितिसक्दा पनि राहतको पोको लिएर न रेडक्रसकर्मी, न त कुनै संघ संस्था र समाजसेवी नै दिलकुमारीको दुखेको दीलमा मल्हम लगाउन गएका छन् ।

घर जलेबापत जिल्ला दैवी प्रकोप उद्धार समिति मार्फत पाउने राहत रकम पनि प्रक्रिया नमिल्दा उनले पाउन सकेकी छैनन् । आफू लेखपढ गर्न नसक्ने उनलाई अरुले प्रक्रिया पुर्‍याएर निवेदन गरिदिने मान्छे नहुँदा अहिलेसम्म कतैबाट राहत नमिलेको हो ।

जिल्ला प्रशासन कार्यालय तेह्रथुमका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भने आफूलाई औपचारिक रुपमा जानकारी सहितको निवेदन नआएको बताए । प्रक्रिया पुर्‍याएर आए सरकारले गरेको प्रावधान अनुसारको क्षतिपूर्ति रकम दिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment