Comments Add Comment

वाणिज्य बैंकले यसैवर्ष पौने तीन अर्बको साधारण सेयर जारी गर्ने

Rastriya-Banijya-Bank

२९ फागुन, काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले यसै आर्थिक वर्षभित्र सर्वसाधारणका लागि २ अर्ब ७० करोड रुपैयाँको साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । यो हाल कायम रहेको चुक्ता पुँजीको ३० प्रतिशत हो । बैंकको पुँजी ८ अर्ब ५८ करोड रुपैयाँ छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माको संयोजकत्वमा गठित चार सदस्यीय सिफारिस समितिले साधारण सेयर जारी गर्ने सम्बन्धमा तयार पारेको प्रतिवेदन एक महिनाअघि नै अर्थ मन्त्रालयलाई बुझाएको छ । सिफारिस समितिमा अर्थमन्त्रालयका प्रतिनिधि पनि संलग्न छन् ।

अर्थ मन्त्रालयले स्वीकृतिका लागि मन्त्रिपरिषद पठाउने तयारी गरिरहेको छ । मन्त्रिपरिषदले स्वीकृत गरेपछि औपचारिकरुपमा साधारण सेयर जारी गर्ने प्रक्रिया अघि बढ्ने सीइओ शर्माले अनलाइनखबरलाई जानकारी दिए ।

‘मन्त्रिपरिषदले चाँडै निर्णय गर्‍यो भने यो वर्षभित्रै साधारण सेयर जारी गर्छौं’ शर्माले भने ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन -बाफिया) मा बैंक वित्तीय संस्थाले आफ्नो चुक्ता पुँजीको न्यूनतम ३० प्रतिशत सेयर सर्वसाधारण गर्नु पर्ने व्यवस्था छ । बाफियामा भएको व्यवस्था कार्यान्वयन गर्न राष्ट्र बैंकले दबाव दिएपछि बैंकले सर्वसाधारण सेयर जारी गर्ने प्रक्रिया अघि बढाएको हो ।

गभर्नरको निर्देशन

राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले सार्वजानिकरुपमा नै तत्काल साधारण सेयर जारी गर्न निर्देशन दिँदै आएका छन् । ‘तपाईहरु सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने प्रक्रिया तत्काल सुरु गर्नुहोस् ।’  गत माघमा भएको वाणिज्य बैंकको एक कार्यक्रममा गभर्नर खतिवडाले निर्देशन दिएका थिए ।

सरकारीस्तरमा एउटा बैंक अनिवार्य हुनुपर्छ भन्ने पक्षमा रहेको मेरो बिचारसमेत परिवर्तन भएको र बैंकले साधारण सेयर जारी गरेपछि बैंक बढि जीम्मेवार हुने खतिवडाको बताएका थिए । हालसम्म वाणिज्य बैंकका लागि सरकारले साढे चार अर्ब रुपैयाँ लगानी गरिसकेको छ ।

खर्ब बढी निक्षेप, पौने तीन अर्ब नाफा

चालू आर्थिक वर्षको पुस मसान्तसम्म बैंकले १ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ६५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकले ३ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएको छ । यस अवधिमा नेपाल इन्भेस्टमेन्ट बैंक र नेपाल आवास कम्पनीमा रहेको सेयर बिक्री गरेकाले बैंकको नाफा बढी देखिएको हो ।

३३ प्रतिशत नकारात्मक रहेको पुँजी पर्याप्तता अनुपातहाल  १०.०५ प्रतिशतमा झरेको छ । एनआइबीएलको १५ प्रतिशत संस्थापक सेयर बिक्री गरेपछि बैंकले राष्ट्र बैंकले तोकेको पुँजी कोष अनुपातमा पुर्‍याएको हो । तोकिएको पुँजीकोष पुर्‍याएपछि साधारण सेयर निष्काशन गर्ने भएको हो ।

६८ जिल्लामा सञ्जाल

बैंकले देशका ६८ जिल्लामा १ सय ५९ शाखा, २८ शाखारहित बैंकिङ र ८० एटीएममार्फत प्रत्यक्षरुपमा २० लाख बढी ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment