Comments Add Comment

सफल होला माओवादी पुनर्गठन अभियान ?

Mao Re union prog (1)

२ चैत, काठमाडौं । विश्व कम्युनिष्ट इतिहासमा टुटफुटका उदाहरणहरु अनगिन्ती छन् । तर, फुटपछि एकताका उदाहरण निकै कम छन् ।

रुसमा लेलिनकै पालामा भएको विभाजन पार्टीको पछि संयुक्त एकता महाधिवेशन भयो । तर, यो एकता टिकाउ हुन सकेन । नेपालमा २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीमा थुप्रै टुटफुटको श्रृखला पार गरेर एकता केन्द्र बन्यो ।

अर्को चारु मुजुन्दारको गिरफ्तारीपछि १७ टुक्रामा विभाजित भएको भारतमा नक्सलवादी आन्दोलन भाकपा गठनसँगै पार्टी एकता सुरु भयो ।

फुटका उदाहरण नेपालमा प्रशस्तै छन् । पेरु र बंगलादेशमा त टुटफुटकै कारण कम्युनिष्ट पार्टी नै लोप भयो । १० वर्षे सशस्त्र विद्रोहबाट नयाँ शक्तिका रुपमा आएको एमाओवादी पनि फुटको शिकार बन्यो ।

तर, विभिन्न माओवादीमा आवद्ध दोस्रो तहका नेताहरुले सोमबार प्रज्ञा भवनमा भेला भएर ‘माओवादी आन्दोलन पुनर्गठन अभियान’ घोषणा गरेका छन् ।

Mao Re union prog (2)

घोषणा सभालाई सम्बोधन गर्दै बैद्य माओवादीका नेता हितमान शाक्यले भने-‘अब हामी विभाजित भएर बसेर कुनै अर्थ छैन । अब टुक्राटुक्री बसेर हुँदैन । सबै माओवादी आन्दोलनलाई एक ठाउँमा ल्याउनुपर्छ ।’

कार्यक्रममा एमाओवादी, बैद्य र विप्लव माओवादीका पदाधिकारी बाहेकका अधिकांश नेताहरु उपस्थित थिए भने मातृका यादव र मणि थापा पनि सहभागी भए ।

माओवादीलाई मिल्न दिने नदिने सोचाइहरु रहेको भन्दै उनले अब एकतावद्ध हुनुपर्छ र नेपालको जिम्मा माओवादीले लिनुपर्छ भनेर हिम्मत गरेको बताए । उनले यसो भनिरहँदा हलमा भएका नेता कार्यकर्ताले ताली बजाएका थिए ।

एमाओवादी नेता जर्नादन शर्मा प्रभाकर र विप्लव माओवादीका नेता धमेन्द्र बास्तोलाले पुनर्गठित महाधिवेशनसम्म लैजाने बताए । शर्माले भने भने-‘टुटफुट भएको पार्टीको स्थायी समिति, पोटिब्यूरो र केन्द्रीय सदस्य हुनु भन्दा एकीकृत पार्टीको एउटा सदस्य रहेर बस्नु बेस । तर, एउटै शर्त छ, माओवादी आन्दोलनलाई पुनर्गठन गर्नुपर्छ ।’

यस्तो छ अभियानको कार्यक्रम

माओवादी आन्दोलन पुनर्गठन अभियानले ६ बुँदे प्रतिवद्धता पत्रसमेत सार्वजनिक गरेको छ । जसमा माओवादी आन्दोलनमा होमिएका सबै क्रान्तिकारी भएको स्वीकार गरिएको छ ।

साथै आन्दोलनमा विभिन्न स्खलन देखिएको भन्दै गल्ती कमजोरी सच्याइ विकसित कार्यदिशा निर्माण गर्दै एकतावद्ध गरिने प्रतिवद्धता गरिएको छ ।  जनयुद्धको ऐतिहासिक पृष्ठभूमि र जनआन्दोलनबाट विकसित विचार, नीति, नेतृत्व र उपलब्धीको रक्षा र गुणात्मक विकाससहित आन्दोलनलाई केन्द्रित  र पुर्नगठन गर्न प्रतिवद्ध रहनेे प्रतिवद्धतापत्रमा उल्लेख छ ।

क्रान्तिको नयाँ कार्यदिशा बनाउने र संयुक्त संघर्षको अभियानको घोषणा छ ।

Mao Re union prog (3)

माओवादी आन्दोलन पुर्नगठन अभियानको केन्द्रीय टिम रहनुका साथै अभियानकै आयोजनामा देशब्यापी रुपमा ५ देखि ७ ठाउँमा सभा सम्मेलन गरिने एमाओवादी नेता प्रभाकरले बताए । यसको संरचना तल्लोस्तरसम्म रहने तथा जिल्ला र राज्य तहमा वैचारिक बहसहरु चलाइने अभियानले जनाएको छ ।

कार्यदिशा स्पष्ट नभएको अभियानको ठहर

माओवादी आन्दोलन पुनर्गठन अभियानमा रहेका माओवादी युवा नेताहरुले तीनवटै माओवादीको कार्यदिशा स्पष्ट नभएको बताएका छन् ।

एमाओवादी नेता जनार्दन शर्मा प्रभाकरले तीन वटा पार्टीमा विभक्त भएका माओवादीसँग कार्यदिशा स्पष्ट नभएको बताए । वैद्य माओवादीका नेता हितमान शाक्यले माओवादी आन्दोलन विश्व इतिहासमै फुटको दुखान्त घटना भएको स्मरण गर्दै सवै विभाजित भएर बस्नुको कुनै अर्थ नहुने बताए ।

विप्लव माओवादीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले माओवादी आन्दोलनको कमजोरी भनेकै विखण्डन भएको उल्लेख गर्दै वैचारिक, राजनीतिक संस्कृतिक विचलनले गर्दा माओवादी आन्दोलन पछाडि पर्न थालेको उल्लेख गरे । उनले विकसित कार्यदिशा निर्माण गर्दै अगाडि बढ्नुपर्ने बताए ।

नेकपा माओवादीका संयोजक मात्रिका यादवले आफ्ना पूर्वनेताहरुले ल्याएको ठीक नभएको युवा नेताहरुले स्वीकार गरेको भन्दै आभार व्यक्त गरे । क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले जनताप्रति उत्तरदायी माओवादी पुनर्गठन हेर्न चाहेको बताए । उनले पाँचवटा टाउको जुधाएर रावण बनाउन नहुने सुझाव दिए ।

एमाओवादी नेता विश्वभक्त दुलाल ‘आहुती’ले सानो मेहनतले माओवादी पुनर्गठन हुन नसक्ने उल्लेख गर्दै रातो पश्चात्ताप बक्स सिर्जना गर्न सक्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment