Comments Add Comment

जनजाति र मधेसीलाई अधिकार दिनुपर्छ : सूर्यबहादुर

५ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले जनजाति र मधेसीलाई सम्बोधन नगरेरसम्म समस्या समाधान नहुने बताएका छन् ।

जनजाति, मधेसी, दलित र महिलाले समानताको महसुस नगरेको भन्दै थापाले उनीहरुलाई सम्बोधन गर्न दलका नेताहरुलाई आग्रह गरेका छन् । आफ्नो ८८ औं जन्म दिनका अवसरमा बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै राप्रपाका वरिष्ठ नेता थापाले भने-‘त्यो वर्गलाई हामीले समान अधिकार पाएका छौं भन्ने फिलिङ दिन सक्नुपर्छ ।’

surya-bdr-thapa

केही पार्टी र नेताहरु मिल्दैमा जनजाति, मधेसी, दलित र महिलाको समस्या समाधान नहुने बताउँदै थापाले भने-त्यतातिर फोकस गरेर समान हक अधिकार दियो भने असन्तोष हराएर जान्छ, अनि मात्र राष्ट्र अगाडि बढ्छ । यसलाई निवारण गर्न नसके स्थिति बिगि्रएर जान्छ ।’

पार्टीहरुको मिटिङ मनोरन्जन दिने अखडा होइन

थापाले सबै दल एक ठाउँमा आएर संविधान निर्माणमा केन्दि्रत हुनुपर्ने बताए । संविधानसभामा सत्ता पक्ष र प्रतिपक्ष नहुने भन्दै उनले संविधानसभामा भएका दलहरुलाई जनताले दिएको मतलाई केही होइन भन्नुअघि आफ्नो हैसियत पुग्छ कि पुग्दैन भनी बुझ्न आग्रह गरे ।

दलका नेताहरु सक्षम रहेको दाबी गर्दै थापाले भने-‘पार्टीहरुको मिटिङ गफ गर्ने र मनोरन्जन दिने अखडा होइन ।’ कसैले कसैको तमसुक नगरेकाले एक ठाउँमा बस्न नेताहरु डराउन नहुने उनले बताए ।

नेताहरुले जनतालाई हामीले झुक्याएका छौं भन्ने नठान्न आग्रह गर्दै थापाले जनताले सहने र अन्तरराष्ट्रिय समुदायले विश्वास गर्ने कुराको पनि सीमा हुने बताए । उनले तत्काल संविधान जारी गर्ने मिति तोकेर वार्ता र छलफलमा जुट्न दलहरुलाई आग्रह गरेका छन् ।

संघीयतालाई थाती राखेर संविधान जारी गर्न सम्भव छ कि छैन भन्ने पत्रकारको प्रश्नमा थापाले भने- ‘टाउको थाती राखेर संविधान बनाऔं भन्नुहुन्छ भने मेरो भन्नु के छ र ।’

राप्रपा नेपालसँगको एकता गफ मात्र

राप्रपा र राप्रपा नेपालबीच सुरु भएको पार्टी एकता प्रयासलाई उनले गफको संज्ञा दिए ।  राप्रपाले गणतन्त्र र संघीयता छाड्न नसक्ने भन्दै उनले भने-‘दुईवटा फण्डामेन्टल कुरामा कुनै सम्झौता हुन सक्दैन, उहाँहरु त्यसलाई स्वीकार गरेर आउनुहुन्छ भने पार्टी एकता हुनसक्छ । थोरै पार्टी हुनु राम्रो हो ।’

राप्रपाले सर्वधर्म सापेक्ष हिन्दु धर्मको कुरा गरेको भन्दै पूर्वप्रधानमन्त्री थापाले पार्टी एकतामा यो ठूलो विषय नभएको बताए ।

वयोवृद्ध राजनीतिज्ञ थापा ८७ पुगेर ८८ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा विहीबार राजधानीमा ‘बर्थ डे पार्टी’ आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment