+
+
Shares

बहस : केपी ओली र सूर्यबहादुर थापामध्ये को प्रगतिशील ?

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले विहीबार आफ्नो ८८ औं ‘बर्थ डे’ का अवसरमा व्यक्त गरेको विचारले राजनीतिमा नयाँ बहसको आधार प्रदान गरेको छ । जनजाति, मधेसी, दलित र महिलाले समान अधिकार पाएको महसुस नहुँदासम्म मुलुकमा स्थायित्व र विकास सम्भव नहुने निश्कर्षमा सूर्यबहादुर थापा पुगेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत ६ गते १८:२८

अरुण बराल/ विश्लेषण

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले विहीबार आफ्नो ८८ औं ‘बर्थ डे’ का अवसरमा व्यक्त गरेको विचारले राजनीतिमा नयाँ बहसको आधार प्रदान गरेको छ । जनजाति, मधेसी, दलित र महिलाले समान अधिकार पाएको महसुस नहुँदासम्म मुलुकमा स्थायित्व र विकास सम्भव नहुने निश्कर्षमा सूर्यबहादुर थापा पुगेका छन् ।

एकातिर ज्येष्ठ राजनीतिज्ञ सूर्यबहादुरको अनुभूति जनजाति र मधेसीकाे पक्षमा छ भने अर्कातिर वर्तमान राजनीतिको केन्द्र भागका रहेका एमालेका शक्तिशाली अध्यक्ष केपी शर्मा ओलीचाहिँ ‘महेन्द्रीय मोडेलको एकल जातीय राष्ट्रवाद’लाई प्रेम गर्नतिर लागेको आरोप खेप्दैछन् ।

surya-kp

यो स्थितिमा थापा र ओलीको वैचारिक विनिर्माणबारे तुलनात्मक  अध्ययन गर्नु सान्दर्भिक हुने देखिएको छ ।

तुलनात्मक विश्लेषण

उमेरको हिसाबले सूर्यबहादुर थापा केपी ओलीका काकाजस्तै हुन् । ओलीले फागुन ११ गते बालकोटस्थित आफ्नै निवासमा केक काटेर  हास्य कलाकारहरुसँग हास्य रसमा ६४ औं बर्थ डे मनाए । उनीभन्दा २४ वर्ष जेठा सूर्यबहादुर थापाले चाहिँ चैत ५ गते आम्रपाली पार्टी प्यालेसमा ८८ औं बर्थ डे मनाउँदै राजनीतिलाई मनोरञ्जन दिने साधन नबनाउन आग्रह गरे ।

थापा र ओली दुबैको समानताको एउटा पक्ष भनेको राजनीतिमा निरन्तरता हो,  ओली नजन्मिँदै राजनीतिमा प्रवेश गरेका थापा ८८ वर्षको उमेरसम्म पनि निरन्तर राजनीतिमा छन्

वर्गका हिसाबले थापा र ओलीमा १८० डिग्रीको भिन्नता छ । ओली रामनाथ दाहालका घरमा हली बसेर पढेका गरीबका छोरा हुन् भने थापाचाहिँ धनकुटाको मुगाली थापा परिवारमा जन्मिएका जमिन्दारका सन्तान हुन् । ओलीको वाल्यकाल आम गरिबका छोराछोरीको जस्तै दुःखमा बित्यो, थापाको वाल्यकालचाँहि सीमित धनाढ्यका छोराछोरीको जस्तै सुखमा बित्यो ।

राजनीतिक यात्राको हिसाबले पञ्चायतकालको लामो अवधिमा ओली पञ्चायती व्यवस्थालाई फाल्ने अभियानमा लागे । सूर्यबहादुर थापाचाँहि पञ्चायतलाई कसरी जोगाउन सकिन्छ भन्ने अभियानमा लागे । यसक्रममा ओलीले अनेकन दुःख भुक्तान गरे । थापाले चाहिँ पटक-पटक सत्ताको सुखभोग गरे । ओली लामो समय जेल परे, थापाले लामो समय सिंहदरबारमा राज गरे ।

इतिहासको हिसाबले थापा र ओली दुई किनाराका फरक यात्री हुन् । पञ्चायतकालभरि थापा र ओली नदीका दुई किनारमा रहे । झापा काण्ड भयो । छिन्ताङ काण्ड भयो । ओलीको पार्टीले थापालाई ‘हत्यारा’ भन्यो, छिन्ताङमा मान्छे मारेको आरोप लगायो । थापाले नेतृत्व गरेको पञ्चायतले चाँहि ओलीको पार्टीले झापामा मान्छे मारेको आरोप लगायो । ओलीको पार्टीलाई मुठ्ठी भर, अराष्ट्रिय तत्व भन्यो । जेलमा कोच्यो ।

पञ्चायती व्यवस्थामा ओली परिवर्तनको पक्षमा थिए र थापाचाँहि सामन्ती सत्ताको पक्षमा थिए । ओली जनताको अधिकारको पक्षमा थिए । थापा राजशाही व्यवस्था बलियो बनाउने पक्षमा थिए । ओली प्रगतिशील खेमामा थिए । थापा प्रतिगामी कित्तामा थिए ।

तर, थापा र ओली दुबैको समानताको एउटा पक्ष भनेको राजनीतिमा निरन्तरता हो । ओली नजन्मिँदै राजनीतिमा प्रवेश गरेका थापा ८८ वर्षको उमेरसम्म पनि निरन्तर राजनीतिमा छन् ।

थापाभन्दा २४ वर्ष ढीलो जन्मिएका ओलीको राजनीतिक यात्रा पनि किशोरावस्थादेखि अहिलेसम्म निरन्तर छ । मृगौला फेल हुँदा पनि, जतिसुकै जटिल बिरामी हुँदा पनि ओली राजनीतिमा क्रियाशील र सक्रिय छन् । दुबै ज्याद्रो राजनीतिकर्मी हुन् ।

राप्रपा-एमाले भाइ-भाइ

पञ्चायती व्यवस्थाको अन्त्यसँगै ०४६ सालपछि ओलीले पनि संवैधानिक राजतन्त्र माने, सूर्यबहादुर थापाले पनि संवैधानिक राजतन्त्र नै माने ।

वाल्यकालमा अर्काको घरमा हली बसेका केपी ओलीको वर्ग यतिबेला सूर्यबहादुर थापाकै वर्गमा अपग्रेड भइसकेको छ

यद्यपि ०४६ सालको परिवर्तनपछि भएको पहिलो आम निर्वाचनमा एमालेले सूर्यबहादुर थापालाई मनोनयन दर्ता गर्नसमेत दिएन, उनले लुकेर दर्ता गर्नुपर्‍यो । त्यसबेला एमाले र कांग्रेसले अभ्यास गरेको लोकतन्त्रमा विपक्षीमाथि बलमिच्याइँ गरिन्थ्यो ।

तर, विस्तारै आफैंले हत्यारा भनेको थापालाई मिलिजुली सरकारको प्रधानमन्त्री स्वीकार्नेसम्मको संस्कृति शुरु भयो । अहिले एमाले र राप्रपामा पानी बाराबार छैन । एमालेसहितको सरकारमा सूर्यबहादुर थापाको पार्टी पनि सहभागी भएकै छ ।

नेपालको राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैनन् भन्ने मान्यता भित्र्याउने माधव नेपाल र केपी ओली नै हुन् । ३० वर्षे पञ्चायतकालमा जति नै ठूलो शत्रुता भए पनि अहिले केपी ओली र सूर्यबहादुर थापावीच कुनै शत्रुता छैन । दुबै एकै ठाउँमा छन् । एउटै डुंगामा चढेका छन् ।

ओली र थापा दुबैको इतिहास फरक-फरक छ, तर वर्तमान एउटै भइसकेको छ । झापा काण्ड, छिन्ताङ काण्ड जे भए पनि एकले अर्कालाई ‘हत्यारा’ वा ‘आतंकवादी’ देख्न छाडेको धेरै भइसकेको छ ।

आपसमा लडेका गिरिजा र प्रचण्डहरु मिलेजस्तै एमाले र राप्रपा पनि आपसमा मिलिसकेका छन् । उनीहरुले पटक-पटक सहकार्य गरिसकेका छन् । यो अवस्थामा एकले अर्कालाई छिछि र दुरदुर गरिरहनुपर्ने, छोइछिटो गर्नुपर्ने, फरक छुट्याइरहनुपर्ने अवस्था न ओलीतिर छ, न थापातिर । ओलीनिवासमा थापा गएकै छन्, थापानिवासमा पनि ओली पुगेकै छन् ।

इतिहासलाई चटक्क बिर्सने हो भने ओली र थापामध्ये एकजना क्रान्तिकारी र अर्काचाँहि प्रतिगामी भन्ने बार भत्किइसकेको छ ।

राजनीतिक एजेण्डाको हिसाबले हेर्ने हो भने राप्रपाले पनि संघीयता र गणतन्त्रलाई स्वीकार गरेकै छ । धर्मको हकमा सूर्यबहादुर थापा सापेक्षताको पक्षमा छन् । ओलीले पनि धर्म सापेक्षतालाई खासै विरोध गर्दैनन् । भागवत, महाभारत र रामायण केपी ओलीका घरमा पनि पाठ गरिन्छन् ।

वाल्यकालमा अर्काको घरमा हली बसेका केपी ओलीको वर्ग यतिबेला सूर्यबहादुर थापाकै वर्गमा अपग्रेड भइसकेको छ । मालीगाउँमाजस्तै बालकोटमा ओली निवास छ । वर्तमानमा दुई नेतावीच कुनै वर्गीय भिन्नता छैन ।

व्यक्तिको मूल्यांकनको आधार के हो ?

कुनै पनि व्यक्तिको मूल्यांकनको आधार केलाई बनाउने ? उसको इतिहासलाई बनाउने कि वर्तमानलाई ?

इतिहासलाई मात्रै व्यक्तिको मूल्यांकनको आधार बनाउने हो भने सूर्यबहादुर थापाभन्दा केपी ओली नै प्रगतिशील र क्रान्तिकारी हुन् ।

तर, विगतमा हामीले जनजाति, मधेसी, दलित र महिलालाई समान अधिकार दिन सकेनौं भनेर सूर्यबहादुर थापाले ८८ बर्थ डेका दिन जुन अनुभूति गरेका छन्, २४ वर्ष कान्छा कम्युनिष्ट नेता केपी ओलीमा यो अनुभूति पहिल्यै हुनुपर्दथ्यो ।

महेन्द्र राजाका विश्वासपात्र मानिने सूर्यबहादुर थापाले यतिबेला जनजाति, मधेसी, दलित र महिलालाई अधिकार नदिएकोमा गल्ती महसुस गरिरहेका छन्

राज्यका अंगहरुमा जनजाति र मधेसीले आफ्नो स्वामित्वको फिलिङ गर्न सकेका छैनन् भन्ने अनुभूति जसरी थापाले गर्न सके, त्यसरी केपी ओलीले गरिदिने हो भने अहिलेको राजनीतिक जटिलता सहजै हल हुने देखिन्छ ।

सूर्यबहादुर थापा अहिले बुढेसकालमा आएर जनजाति र मधेसीलाई हेर्ने महेन्द्रकालीन नीति सच्याउनुपर्ने निश्कर्षमा पुगेको देखिन्छ ।

आखिरमा पञ्चायतकालभरि आदिवासी, जनजाति, मधेसी, दलित र महिलालाई कसले अधिकारसम्पन्न हुन दिएन ? यसमा सूर्यबहादुर थापाको पनि दोष छ । सूर्यबहादुर थापा यसमा दोषमुक्त छैनन् । तर, उनले बुढेसकालमा यो कुरा स्वीकारेका छन् । महसुस गरेका छन् । थापाको यो स्वीकारोक्तिलाई ‘नियोजित’ विचार मान्ने कि परिवर्तनलाई आत्मसात गरेको मान्ने ? यो बहसको विषय हो ।

सूर्यबहादुर थापाले आफ्नो लामो राजनीतिक जीवनमा केपी ओलीले जस्तो क्रान्ति र परिवर्तनमा कहिल्यै भाग लिएनन् । तर, उनले ००७ सालको क्रान्तिमा राणालाई सघाएनन् । ०३६ सालमा पञ्चायतको अनुदारवादी खेमाले जनमत संग्रहको विरोध गर्दा थापाले उदार पञ्चायतको वकालत गरे । (भलै जनमत संग्रहमा थापाले बहुदललाई हराउने भूमिका खेलेर गल्ती गरे । )

थापाले ०४६ सालपछि परिवर्तनलाई आत्मसाथ गर्दै पार्टी खोलेर राजनीतिक प्रक्रियामा सहभागिता जनाए । ०६२/०६३ को परिवर्तनपछि पनि उनले गणतन्त्र र संघीयतालाई आत्मसात गरे । परिवर्तनको स्पन्दनलाई स्वीकार्दै अघि बढ्ने सूर्यबहादुर थापाको यो शैलीलाई उनको जीवनमा देखिएको प्रगतिशील रुपान्तरण मानिएन भने उनीमाथि अन्याय हुनेछ ।

भविश्य हेर्न बाँकी छ

ओली र थापाको मूल्यांकनका लागि हामीसँग इतिहास र वर्तमानमात्रै छैन, भविश्य पनि बाँकी नै छ । भावी दिनमा नेपाललाई कस्तो बनाउने र नागरिकलाई कति अधिकारसम्पन्न बनाउने भन्ने विषयमा उनीहरुले लिने दृष्टिकोणका आधारमा केपी प्रगतिशील हुन् कि सूर्यबहादुर प्रगतिशील हुन् भन्ने स्पष्ट हुँदै जानेछ ।

मुलुकका जनजाति, मधेसी, दलित र महिलाको अधिकारका विषयमा कसले बढी समावेशिता र समान अधिकारको पक्ष लिन्छ, त्यसैबाट अब यी दुई नेताको मूल्यांकन हुनेछ ।

महेन्द्र राजाका विश्वासपात्र मानिने थापाले यतिबेला जनजाति, मधेसी, दलित र महिलालाई अधिकार नदिएकोमा गल्ती महसुस गरिरहेका छन् । तर, कम्युनिष्ट पार्टीमा लागेर जेलनेल भोगेका नेताले चाहिँ ‘महेन्द्रीय राष्ट्रवाद’लाई भित्रभित्रै मनपराइरहेका छन् । अब कसलाई बढी प्रगतिशील भन्ने ? के आधारमा प्रगतिशीलताको मापन गर्ने ? भविश्यले बताउँदै जाला ।

सूर्यबहादुर थापाको भनाइ पढ्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?