
नविन अर्याल
८ चैत, काठमाडौं । शहरबाट नजिकै घुम्ने र मनोरञ्जन लिने उपयुक्त गन्तव्यको अभाव खेपिरहेका लाखौं राजधानीबासीले छिट्टै मनोरञ्जनको नयाँ गन्तब्य पाउनेछन् । मुख्य शहरबाट केही किलोमिटरको दुरीमा रहेको थानकोटबाट केवलकार चढेर चन्द्रागिरी पुगी आनन्द लिन अब केही महिनामात्र कुरे पुग्छ ।
दशैंसम्म सञ्चालनमा ल्याइसक्ने लक्ष्य राखिएको केवलकार निर्माण अहिले ६५ प्रतिशत सम्पन्न भइसकेको छ ।
चन्द्रागिरी डाँडालाई थानकोटबाट केवलकार मार्फत जोडेर मुलुककै नुमना पार्कका रुपमा विकास गर्न लागिएको छ । गोदामचौरबाट चन्द्रगिरीसम्म केवलकारको दुरी साढे दुई किलोमिटर रहनेछ । जहाँ केवलकारबाट ८ मिनेटमै पुगिन्छ ।
काठमाडौं फनपार्क प्रालिले चन्द्रागिरी डाँडाको ७ सय २० रोपनी जग्गा ४० वर्षका लागि सरकारसँग भाडामा लिएर मेगा परियोजना निर्माण गर्न लागेको हो । केबलकारको बटम स्टेशन गोदामचौरमा भने ५५ करोड रुपैयाँमा सय रोपनी जग्गा खरिद गरिएको छ ।

जहाँ बच्चादेखि बुढाबुढीसम्म रमाउन मिल्ने थिम (मनोरञ्जन) पार्क, सपिङ सेन्टर, रेष्टुरेन्ट, बोटानिकल गार्डेन, फोरडी थियटर, भ्यू टावर, पाँचतारे स्तरको लक्जरी होटल, जीप फ्लायर, गल्फ कार्ट लगायतका सविधाहरु उपलब्ध हुनेछन् ।
केवलकार सहित पुरै परियोजना सम्पन्न हुँदा साढे तीन अर्ब रुपैयाँ लगानी हुने परियोजनाका प्रबन्धक दिलिप श्रेष्ठले जानकारी दिए । राजधानीबासी लगायत विदेशी पर्यटकलाई चन्द्रागिरी प्रमुख गन्तव्य बन्ने उनको विश्वास छ ।
अहिले बटम स्टेशन र टप स्टेशनमा केवलकारको भवन तथा टावरहरु निर्माण कार्य तिब्र गतिमा भइरहेको छ । सँगसँगै डाँडामा इच्छेश्वर महादेवको मन्दिर र दृश्यावलकोनका लागि भ्यू टावर पनि निर्माण भइरहेको छ ।
‘गोदाम चौरमा भवन निर्माण ९० प्रतिशत सकियो, चन्द्रागिरी भवनको काम ५० प्रतिशत सकिएको छ’ प्रबन्धक श्रेष्ठले भने- ‘सँगसँगै केवलकारका टावरहरुको निर्माण कार्य पनि भइरहेको छ ।’
थानकोटदेखि चन्द्रागिरीसम्म ११ वटा टावर (पोल) निर्माण गरिने छ । टावरको फाउन्डेसन निर्माण कार्य करिव ७० प्रतिशत सकिएको इञ्जिनियर हरिदेव तामाङले बताए ।

राजधानीवासीलाई चन्द्रागिरीसम्म पुर्याउन ३८ वटा केवलकार तैनाथ हुनेछन् । एउटा कारमा ८ जनाले यात्रा गर्न सक्ने प्रबन्धक श्रेष्ठले बताए । केवलकारबाट प्रतिघण्टा एक हजार जनासम्म बोक्ने गरी पूर्वाधार निर्माण भइरहेको छ ।
केबलकारका सामाग्रीहरु अष्ट्रिया र सिंगापुरबाट निर्माणस्थलमा ल्याइसकिएको छ । भवन निर्माण सकिने वित्तिकै इक्वीपमेन्टहरु जडान सुरु गरिहाल्ने प्रबन्धक श्रेष्ठले अनलाइनखबरलाई बताए ।
केवलकार यही बैशाखसम्म सञ्चालनमा आइसक्नुपर्ने भएपनि बाटो निर्माण गर्नुपर्दा निर्माणमा ढिलाई हुन पुगेको कन्सल्ट्यान्ट रिसव भण्डारीले बताए । उनका अनुसार चित्लाङ भञ्ज्याङदेखि डाँडासम्म करिव ३.२ किलोमिटर बाटो आफै खनिएको हो ।
यस परियोजनामा आइएमई समूह र भाटभटेनीका संचालक मिनबहादुर गुरुङको संयुक्त लगानी रहेको छ ।
भिडियो हेर्नुहोस्
यस्तो हुनेछ चन्द्रागिरी
चन्द्रागिरी डाँडालाई सजिसजाउ र सुबिधायुक्त बनाउने कम्पनीको लक्ष्य रहेको छ । २४ सय ७५ मिटर उचाई रहेको चन्द्रागिरीमा केवलकारबाट हरियो घना जंगलको अवलोकन गर्दै पुगिने छ ।
केवलकारको टप स्टेशनमा पुग्ने वित्तिकै आँखै अगाडि १६० डिग्रीको कोणमा सेतै हाँसेका हिमालहरु हेर्न पाइनेछ । यहाँबाट काठमाडौं, ललितपुर भक्तपुरका अधिकांश भागहरु देख्न पाइन्छ । आकाश खुलेको बेलामा तराइको केही भू-भागसमेत यहाँबाट देखिन्छ ।
भ्यूटावरमै फोरडी थियटर समेत बनाउन लागिएको छ । जहाँ शैक्षिक सामाग्री, चन्द्रागिरी क्षेत्रमा पाइने वनस्पती, पशुपन्छीदेखि किरा फट्याङ्ग्रासम्मको भिडियो हेर्न पाइनेछ ।
करिव २०/२५ मिनेटको भिडियो एक पटकमा ४० जनासम्मले हेर्न सक्छन् । भ्यू टावर पनि केवलकार सँगसँगै सञ्चालनमा आइसक्ने बताइएको छ ।

चन्द्रागिरीको ७२० रोपनी जग्गाभित्रै आकर्षक बोटानिकल गार्डेन बनाइने छ । हरियाली मेन्टेन गर्नका लागि कम्पनीले बायो इञ्जिनियरिङ गर्ने जनाएको छ ।
केवलकारबाट ओर्लिएपछि डाँडामा रहेको इच्छापुरेश्वर महादेवको मन्दिरमा पुगेर दर्शन गर्न सकिन्छ । अहिले यहाँ धमाधम मन्दिर निर्माण भइरहेको छ । जग बसालिसकेको मन्दिर दशैं अगाडि निर्माण गरिसक्ने लक्ष्य रहेको प्रबन्धक श्रेष्ठले बताए ।
मन्दिरको छेवैमा भ्यू टावर निर्माण भइरहेको छ । भ्यू टावरको भुँइतलामा सर्वसाधारणका लागि फुड कोर्ट हुनेछ भने त्यसमाथिको तलामा खर्चालु ग्राहकलाई लक्षित गरी फाइनडाइन रेष्टुरेन्ट हुने छ ।
डाँडाबाट करिव एक किलोमिटर तल पाँचतारे स्तरको रिसोर्ट होटल सञ्चालन गरिने छ । रिसोर्टको डिजाइन भइरहेको जानकारी दिँदै प्रबन्धक श्रेष्ठले २/३ महिना भित्रमा निर्माण सुरु गर्ने जानकारी दिए । भ्यू टावरबाट रिसोर्टसम्म पुग्ने बाटोको दायाँबायाँ फुल लगाएर सुन्दर बनाइने छ ।

कम्पनीले भ्यू टावरबाट रिसोर्टसम्म जिप फ्लायर बनाउने बताएको छ । करिव ९ सय मिटर दुरी रहने जिप फ्लायरको ल्यान्डिङ स्टेशन रिसोर्टभन्दा केही टाढा हुने छ ।
चन्द्रागिरीको ७२० रोपनी जग्गामा सवारी साधनलाई निषेधित गर्ने बताइएको छ । यहाँ यात्रा गर्नका लागि कम्पनीले इलेक्ट्रिक भेहिकल (गल्फ कार्ट्र)को व्यवस्था गर्ने छ ।
रिसोर्टमा बँगैचाको आनन्द लिँदै हिँडेर जान पनि सकिन्छ, जिप लाइनरबाट पनि जान सकिन्छ, गल्फ कार्टबाट पनि जान सकिन्छ । फर्किदा भने कि त हिँड्नुपर्ने हुन्छ कि त गल्फ कार्ट चढ्नुपर्ने हुन्छ ।
केवलकार नचढी आफ्नो सवारी साधन चढेर जानेहरुले चित्लाङ भञ्ज्याङनेर गाडी रोकेर जानुपर्ने हुन्छ । भञ्ज्याङबाट डाँडासम्म पुग्ने करिव डेढ किलोमिटर सडकको दुबैतिर फुलको बँगैचा बनाइने छ ।
डेढ किलोमिटरको सडक छेऊँछाऊँ बस्नका लागि बेञ्चहरु राखिने र कफि सप खोलिने प्रबन्धक श्रेष्ठले जानकारी दिए । उनका अनुसार चन्द्रागिरीमा एकै पटकमा १० हजार मानिसलाई होल्ड गर्नेगरी ठाउँ निर्माण हुँदैछ ।
यस्तो हुनेछ रिसोर्ट

खर्चालु पर्यटकलाई लक्षित गर्दै यहाँ पाँचतारे स्तरको रिसोर्ट निर्माण गरिने भएको छ । आगामी दुई वर्षभित्रमा उक्त रिसोर्ट सञ्चालनमा आइसक्ने छ ।
करिव ८० करोड लगानी रहने रिसोर्टमा सयवटा डिलक्स रुमहरु रहने बताइएको छ । रिसोर्टमा दुईवटा स्वीट रुम समेत बनाइने छ । यहाँ रात विताउनका लागि प्रतिरात सय देखि १५० डलरसम्म तिर्नुपर्ने हुन्छ ।
रिसोर्टमा स्वीमिङ पुल, स्पा, ज्याकुजी, सौना, स्टीम वाथ, जीम हाउस, मिनी क्यासिनो लगायतका सबै सुविधाहरु हुने प्रबन्धक श्रेष्ठले जानकारी दिए ।
रिसोर्टमा ४ वटा भवन निर्माण गरिने छ । दुईवटा भवनमा २४/२४ रुमहरु रहनेछन भने दुईवटा भवनमा २६/२६ रुम रहनेछन् । ग्राहकलाई थानकोटबाट केवलकार हुँदै डाँडामा लगिने छ भने त्यहाँबाट जीप फ्लायर वा गल्फ कार्टबाट रिसोर्टमा लगिने छ ।

रिसोर्टमा आउने अधिकांश ग्राहकहरु विदेशी हुनेछन् । त्यसको अलवा नेपालका व्यवसायीहरु, उच्चपदस्थ सरकारी अधिकारी, गैरसरकारी संस्थाका कर्मचारी, तथा कर्पोरेट हाउसका बैठक तथा सेमिनारलाई लक्षित गरिएको छ ।
बटम स्टेशन
परियोजनको बटम स्टेशनमा १०० रोपनी जग्गा रहेको छ । सय रोपनी जग्गामध्ये ५० रोपनीमा केवलकारको भवन बनिरहेको छ भने बाँकी ५० रोपनी जग्गामा थिमपार्क (मनोरञ्जन पार्क) निर्माण गरिने बताइएको छ । करिव ५० करोड लगानी रहने पार्कमा बच्चादेखि बुढा बुढीसम्म रमाउन सक्नेछन् ।
भवनको सबैभन्दा तल सर्वसाधारणका लागि फुड कोर्ट हुने छ । त्यसभन्दा माथि खर्चालु ग्राहकलाई लक्षित गर्दै फाइनडाइन रेष्टुरेन्ट खोलिने छ भने त्यसभन्दा माथि ब्रान्डेड शप हुनेछ ।

सबैभन्दा माथिको भागमा केवलकारको संरचना निर्माण गरिने प्रबन्धक श्रेष्ठले जानकारी दिए । दशैंसम्म केवलकार, मन्दिर र भ्यू टावर निर्माण सम्पन्न भइसके पनि सबै संरचना निर्माण भएर पूर्णरुपमा सञ्चालनमा आउन करिव २ वर्ष लाग्ने छ ।
यहाँ आगन्तुकका २ सय कार, ४ सय मोटरसाइकल र सयवटा बस पार्किङ गर्न मिल्ने ठाउँ बनाउने बताइएको छ । यस परियोजनामा सिटिजन्स बैंक इन्टरनेशनलको नेतृत्वमा नेपाल इन्भेष्टमेन्ट बैंक, ग्रान्ड बैंक, सिद्धार्थ बैंक र प्रभु बैंकले कर्जा लगानी गरेका छन् ।








तस्वीर : श्रीधर पौडेल/अनलाइनखबर
स्केच सौजन्यः काठमाडौं फनपार्क प्रालि
प्रतिक्रिया 4