Comments Add Comment

बुटिक होटलमा समिट समूहकाे ६ अर्ब लगानी

Summit-Hotel-Final-3
नविन अर्याल

९ चैत, काठमाडौं । मुलुकका प्रख्यात व्यवसायिक घराना सीजी, एनई र समिट समूहले होटलमा ६ अर्ब लगानी गर्ने भएका छन् । तीन समूहले खर्चालु पर्यटकलाई लक्षित गर्दै राजधानीमा वर्ल्ड क्लास बुटिक होटल सञ्चालन गर्ने भएका हुन् ।

राजधानी लगायत प्रमुख पर्यटकीय गन्तव्यमा लक्जरी बुटिक होटल सञ्चालन गर्ने गरी गत हप्ता यी तीन समूहबीच साझेदारी भएको छ । सीजी र एनई समूहले आरएनआर हेरिटेज कम्पनीमार्फत समिट होटलको ६० प्रतिशत शेयर हिस्सा खरिद गरेका छन् ।

तीन समूहले पहिलो चरणमा कुपण्डोल हाइटस्थित समिट होटलको स्तरोन्नती गरी बेष्ट बुटिक होटल (बीबीएच) बनाउने भएका छन् ।  त्यसपछि कान्तिपथमा पाँचतारे ‘अर्बन हाइराइज बुटिक’ होटल र बिशंखुनारायणमा ‘इको रिसोर्ट’ निर्माण गर्ने समिट होटलका अध्यक्ष अमृतरत्न शाक्यले बताए ।

‘सबै होटलहरु ‘समिट’ ब्रान्डमै सञ्चालन हुनेछन’ अध्यक्ष शाक्यले भने- ‘तीनवटा होटलमा ५ देखि ६ अर्ब रुपैयाँ लगानी हुने हाम्रो हाम्रो छ ।’ लक्जरी बुटिक होटलमा समिट ब्रान्डलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन तीन समूहबीच सहकार्य भएको उनको भनाई थियो ।

कान्तिपथस्थित १९०५ रेष्टुरेन्ट भएको ठाउँमा निर्माण गरिने बुटिक होटलमा ४ अर्ब र बिशंखुनारायणको इको रिसोर्टमा एक अर्ब रुपैयाँ लगानी गर्ने एनई समूहका अध्यक्ष रविभक्त श्रेष्ठले बताए ।

समिटको स्तरोन्नती

कुपण्डोलस्थित समिट होटलमा अहिले ८३ वटा कोठा छन् । यस होटलमा ६० देखि ८० वटासम्म कोठा थपेर वल्र्ड क्लास बुटिक होटल बनाउने बताइएको छ । सेमिनार हल र अन्तर्राष्ट्रिय स्तरको स्पा समेत समेत सञ्चालनमा ल्याइने यस होटलको स्तरोन्नतीमा मात्र डेढ अर्ब लगानी हुने अनुमान सञ्चालकको छ ।

Summit-Hotel-Final-5
पत्रकार सम्मेलनमा एनर्इ ग्रुपका अध्यक्ष रविभक्त श्रेष्ठ (बायाँ) र समिट होटलका अध्यक्ष अमृतरत्न शाक्य (दायाँ) ।

‘हामी समिट होटललाई विश्वकै उत्कृष्ट बुटिक होटलमा स्तरोन्नती गर्दैछौं’ अध्यक्ष शाक्यले भने- ‘हाम्रो लक्ष्य मुलुकमा उच्चस्तरीय पर्यटक भित्राउने हो ।’ अहिले पनि यो होटलका रुमहरु प्रतिरात १२० यूरोमा बिक्री हुने गरेको छ ।

सञ्चालनमा रहेका पाँचतारे होटलले ४० डलरसम्म झरेर रुमहरु बिक्री गर्दै आएको बताउँदै श्रेष्ठले यसले मुलुकमा पर्यटन विकास सम्भव नभएको ठोकुवा गरे । समिटको भौतिक संरचना र यहाँको गुणस्तरीय सेवाकै कारण रुमहरु महंगोमा बिक्री गर्न सफल भएको उनको भनाई छ ।

मुलुकमा उच्चस्तरीय पर्यटकको संख्या बढाउन समिटसँग साझेदारी गरेको एनई समूहका अध्यक्ष श्रेष्ठले बताए । ‘अहिले ठमेलमा एक कप चियाको लागि पर्यटक बार्गेनिङ गरेको देखिन्छ’ उनले भने- ‘यस्ता पर्यटकले मात्र हुँदैन, अबको हाम्रो ध्यान उच्चस्तरीय टुरिष्टमा केन्दि्रत हुनुपर्छ ।’

दिल्लीमा झ्याल र एसी समेत नभएका रुमहरु ८ हजार भारुमा बेचिरहेको बताउँदै श्रेष्ठले नेपालमा भने पाँचतारे होटलका रुमहरु पनि ४ हजार रुपैयाँमा बेचिरहेको उल्लेख गरे ।

समिट होटल साढे १३ रोपनी क्षेत्रफलमा फैलिएको छ । २ वर्षभित्रमा स्तरोन्नतीको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सन् १९७८ मा डच समूहले खोलेको समिट होटल २०१२ मा नेपाली व्यवसायीले आफ्नो स्वामित्वमा लिएका हुन् ।

कान्तिपथमा अर्बन हाइराइज बुटिक होटल

समिटको स्तरोन्नती पश्चात यो समूहले कान्तिपथमा अर्बन हाइराइज बुटिक होटल निर्माण गर्ने जनाएको छ । १६५ आना जग्गामा फैलिने बुटिक होटल १६ तले हुनेछ । नेपालमै फरक खालको होटल निर्माण गर्ने दाबी गर्दै शाक्यले विदेशी आर्किटेक्टबाट डिजाइनको काम अन्तिम चरणमा पुगेको बताए ।

Summit-Hotel-Final-4

यो होटल निर्माण गर्नका लागि करिव ४ अर्ब रुपैयाँ लगानी हुने बताइएको छ । होटलमा १२० वटा रुमहरु रहनेछन् । जहाँ खर्चालु पर्यटकको मात्र पहुँच रहनेछ ।

अहिले यसको छेवैमा गैरआवासिय नेपाली शेष घलेको लगानीमा १७ तले शेराटन होटल निर्माण भइरहेको छ । करिव ८ अर्ब रुपैयाँ लगानी हुने यो होटलले पनि गुणस्तरीय पर्यटक भित्राउन लक्ष्य राखेको छ ।

विशंखुनारायणमा इको रिसोर्ट

विशंखुनारायण डाँडामा रिसोर्ट सञ्चालन गर्नलाई समिटले २५ वर्ष अगाडि नै जग्गा खरिद गरेको थियो । त्यतिबेला ३ सय २० रोपनी जग्गा किनेर एक हजार रुखविरुवा लगाएर जंगल बनाएको शाक्यले जानकारी दिए ।

यहाँ निर्माण गरिने इको रिसोर्टको डिजाइनको काम सकिसकेको बताइएको छ । रिसोर्ट निर्माण कार्य छिट्टै सुरु गरेर दुई वर्षभित्रमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

यो रिसोर्ट मुलुककै नमुना रिसोर्टका रुपमा सञ्चालनमा आउने छ । यहाँ निर्माण गरिने भौतिक संरचना बाँस, ढुंगा र माटोबाट बनाइने छ । साथै, उर्जाका लागि सौर्य र वायुशक्तिको प्रयो गरिने, प्रदुषण रोक्न आधुनिक प्रविधि अपनाइने शाक्यले बताए ।

पछिल्लो समय विकास भएको फार्मिङ टुरिजम अवधारणा यो रिसोर्टमा लागू गर्ने लक्ष्य राखिएको छ । यहाँका किसानलाई कृषि उत्पादनमा लगाएर उत्पादित वस्तुहरु रिसोर्टमा खपत गर्ने शाक्यको भनाई छ । रिसोर्टमा आउने ग्राहकलाई अर्गानिक खाना खुवाउने लक्ष्य राखिएको छ ।

पोखरामा जग्गा खोजी

यो समूहले पोखरामा पनि इको रिसोर्ट सञ्चालन गर्ने बताएको छ । यसका लागि डेढ/दुई सय रोपनी जग्गा खोजी भइरहेको एनई समूहका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

Summit-Hotel-Final-2

‘नेपालको हस्पिटालिटी इन्डष्ट्रिमा नयाँ आयाम ल्याउने गरी होटल तथा रिसोर्ट सञ्चालन गर्न लागेका छौं’ श्रेष्ठले भने- ‘तीनवटा समूह आफ्नो लक्ष्यमा अगाडि बढ्न सफल हुने विश्वास छ ।’

समिटले भारतीय प्रख्यात चेन होटल ब्रान्ड लीला प्यालेससँग व्यवस्थापन सम्हाल्ने गरी सम्झौता गरिसकेको छ । तीन समूहको साझेदारी पछि पनि लीलालाई व्यवस्थापन सम्हाल्न भित्राउने श्रेष्ठले जानकारी दिए । नेपाली होटल उद्योगमा कुशल व्यवस्थापन नभएको हुँदा विदेशी साझेदार खोज्नुपर्ने बाध्यता रहेको उनको भनाई छ ।

समिट र लीलाबीच सम्झौतामा चारवटा नयाँ होटल सञ्चालन गर्ने उल्लेख गरिएको छ । सीजी र एनई समूहसँगको साझेदारी पछि पनि लिलासँगको समझदारीले निरन्तरता पाउने शाक्यले बताए ।

तीनवटै समूह होटल क्षेत्रमा उदाउँदा कम्पनी हुन् । समिटले मुलुकभित्र चारवटा होटल सञ्चालन गरिरहेको छ भने सीजीले विभिन्न मुलुकमा ८० भन्दा बढी लक्जरी होटलहरु सञ्चालन गररहेको छ ।

एनई समूहले पनि होटल सोल्टीसँग सहकार्य गरेर नेपालगञ्ज र पोखरामा चारतारे होटल निर्माणमा लागेको छ । नेपालगञ्जमा होटल निर्माण कार्य सुरु भइसकेको छ भने पोखरामा छिट्टै निर्माण सुरु हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment