Comments Add Comment

बैंकिङ क्षेत्रले अब २०/२५ प्रतिशतभन्दा प्रतिफल दिन सक्दैन

अनिल केशरी शाह, (प्रमुख कार्यकारी अधिकृत, मेगा बैंक)

‘तपाई नबिल बैंकबाट आएको मान्छे, मेगा बैंकले कहिले नबिलकोजस्तो प्रतिफल दिन्छ ?’ मेगा बैंकका सेयरधनीहरुले कहिलेकाहीँ यस्तो प्रश्न गर्नुहुन्छ । सेयरधनीहरुलाई यो प्रश्नको चित्तबुझ्दो जवाफ दिन मलाई निकै कठीन हुन्छ ।

Anil-shaयो वर्ष नबिल बैंकले सेयरधनीलाई ६४ प्रतिशत प्रतिफल दियो । मेगा बैंकले १२ प्रतिशत प्रतिफल बोनस सेयरमा दियो ।

मैले उत्तर दिने गरेको छु कि, अहिलेकैजस्तो बजार भएमा मेगा बैंकले सेयरधनीलाई कहिल्यै पनि ६४ प्रतिशत प्रतिफल दिन सक्दैन । सेयरधनीको अर्को जिज्ञासा हुन्छ, तर नबिलले दिइरहेको छ त ?

सेयरधनीको जिज्ञासामाथि मैले जिज्ञासा थप्ने गरेको छु, नबिल रातारात यति धेरै प्रतिफल दिन सक्ने हैसियतमा पुगेको पनि त होइन नि ।

पछिल्लो समयमा बैंकले दिएको प्रतिफललाई राम्रो नभएको भन्दै लगानीकर्ताहरुले व्यवस्थापनसँग गुनासो गर्ने क्रम बढ्दो छ, जुन स्वभाविक हो । तर, किन बैंकहरुले प्रतिफल दिन सकिरहेका छैनन् ? यस विषयमा लगानीकर्ताहरु पनि प्रष्ट हुन भने जरुरी छ ।
एउटा जमाना थियो, जुनबेला बैंकहरुले १०० प्रतिशत प्रतिफल र एक बराबर एकको अनुपातमा हकप्रद सेयर दिन्थे । त्यसपछिको युगमा ५०/६० प्रतिशतको प्रतिफल दिन्थे । तर, अहिले बैंकहरुको औषत प्रतिफल  २५/३० प्रतिशत मात्रै छ ।

सञ्चालनमा रहेका ३० वाणिज्य बैंकहरुमध्ये आज नबिल बैंकले सबैभन्दा बढी प्रतिफल दिइरहेको छ । के रातारात नबिल बैंकले यत्रो प्रतिफल दिएको हो त ? नबिल बैंकले प्रतिफल दिँदा खुसी हुने व्यक्ति म पनि हुँ । कुनै पनि संस्थाको प्रमुख कार्यकारी अधिकृत राम्रो कि नराम्रो ? यो कुरा हेर्न सीइओले संस्था छोडेको केही वर्ष हेरे पुग्छ । नबिल बैंक छोडेर म मेगा बैंकमा आए पनि नबिल बैंकले गरेको प्रगतिमा मेरो पनि पसीना बगेको छ ।

सीइओ आफू बन्ने होइन, संस्था बनाउने हो । त्यसैले अनिल शाहले आफू सफल भएर संस्थालाई डुबाउँदैन ।

लगानीकर्ताहरुले पुरानो प्रतिफल सम्झिन्छन् र प्रतिफल कम भयो भन्छन् । तर, नाफा कमाउन अहोरात्र खट्ने हामी बैंकरहरु लगानीकर्तालाई सन्तुष्ट हुनेगरीको नाफा कमाउन सकिरहेका छैनौं । त्यसका पछाडि केही महत्वपूर्ण कारणहरु छन् ।

मैले बारम्बार लगानीकर्ताहरुलाई भन्ने गरेको छु कि बैंक खोल्नु भनेको काफल रोप्नुजस्तो हो । छिमेकीले गोलभेडा रोपेर आठ-आठ महिनामा प्रतिफल लिन्छ । तर, काफल रोप्नेले पाँचौं वर्षसम्म प्रतिफल पाउँदैन । बोट हेरेर बस्नुपरेको छ । र, उसलाई छिमेकीले गरेको चाहीँ ठीक रहेछ, मैले गल्ती गरेँ कि भन्ने लाग्न सक्छ ।

तर, जब काफल फल्न थाल्छ, त्यसले २० औं वर्षसम्म स्थायी र आकर्षक प्रतिफल दिन्छ । त्यसबेला गोलभेडा रोप्नेको प्रतिफल कम हुन्छ ।

बैंकको लगानीे काफल रोपे जस्तै हो ।  त्यसैले यो क्षेत्रमा लगानी गर्नेहरु धैर्य रहन सक्नुपर्छ ।

पहिला नेपाल अरब बैंक, इन्डोस्वेज बैंक, गि्रनलेज बैंक मात्रै थिए । ती बैंकहरुले १०० प्रतिशतसम्म प्रतिफल दिन्थे । एक बराबर एकको अनुपातमा बोनस सेयर दिन्थे ।

त्यसबेला बैंकिङ क्षेत्रको लगानी सबैभन्दा बढी प्रतिफल दिने लगानीका रुपमा स्थापित भयो । जसकारण यो क्षेत्र लगानीकर्ताको पहिलो रोजाइमा पर्‍यो । तर, अहिले परिस्थिति फेरिएको छ ।

त्यसबेला तीनवटा बैंक थिए । अहिले ३० वटा छन् । जुन रुपमा बैंक तथा वित्तीय संस्थाहरुको संख्या बढ्यो, त्यस अनुपातमा अर्थतन्त्रको आकार बढ्न सकेन । परिवारमा खाने मुखहरु थपिए, तर त्यस अनुरुपको दाल/भात चाहीँ बढेन ।
त्यसकारण अब बैंकिङ क्षेत्रले शत प्रतिशत बोनस र एक बराबर एकको अनुपातमा बोनस सेयर दिने दिन गयो ।

वित्तीय क्षेत्रमा काम गरेको २५ वर्षे मेरो अनुभवले नेपालको वित्तीय क्षेत्रलाई मुख्यतः तीन भागमा विभाजन गरेर विश्लेषण गर्छ । सरकारी लगानीका नेपाल बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंकको युग थियो । त्यसबेला बैंकमा पैसा राख्न पनि टोकन लिएर घण्टौं लाइनमा बस्नुपर्थ्यो ।

जब नेपालको पहिलो निजी क्षेत्रसँगको संयुक्त लगानीमा नेपाल अरब बैंक स्थापना भयो । त्यसपछि दोस्रो युगको सुरुवात भयो । इन्डोस्वेज, हिमालयन लगायतका बैंक आए । त्यसपछि सरकार अलि उदार भयो र बैंक अफ काठमाण्डू, कुमारीलगायतका बैंकहरु स्थापना भए । त्यसपछि सरकार पूर्णरुपमा उदार भयो । र, बैंकहरु च्याउ उम्रिएसरी खोलिए । पछिल्लो समय, जनता, मेगा, कमर्ज एण्ड ट्रष्ट, सेञ्चुरी र सिभिल बैंक आए ।

नेपालमा धेरै राजनीतिक परिवर्तनहरु भए । पछिल्लो राजनीतिक परिवर्तनले हामी गणतन्त्रमा प्रवेश गर्‍यौं । सबै क्षेत्र उत्साहित भए । देशमा केही वर्षभित्रै ठूलो आर्थिक र सामाजिक रुपान्तरण हुन्छ भन्ने सबैको सोचाइ भयो । आर्थिक रुपान्तरणमा उल्लेख्य भूमिका खेल्न त्यसबेलामा भएका बैंक वित्तीय संस्थाहरुले मात्रै पुग्दैन भनेर राष्ट्र बैंकले धेरै संस्थाहरुलाई इजाजत दियो ।

वित्तीय क्षेत्र त आयो । तर, राजनीतिक रुपान्तरण भएन । संविधान बनेन । जसकारण भ्यागुते छलाङमा अर्थतन्त्र अघि बढ्ने अपेक्षा गर्दा त्यो भ्यागुताको खुट्टा नै भाँचियो ।

वित्तीय क्षेत्र बढ्यो । तर, अर्थन्त्र बढेन । उद्योग व्यवसाय बढेन । जसकारण बैंकिङ क्षेत्रको प्रतिफल कमजोर बन्दै गयो ।
यो वर्ष मेगा बैंकले १२ प्रतिशत बोनस सेयर दिएको छ । अरु बैंकहरुसँग तुलना गर्दा यो राम्रो प्रतिफल हो । तर, पहिले बैंकहरुले जुन प्रतिफल दिन्थे, त्यो भन्दा धेरै कम हो ।

आगामी दिनमा मर्जर र एक्विजिसनले बैंक वित्तीय संस्थाहरुको संख्या घट्छ । जुनबेला बैंकहरुको प्रतिफलको आकार बढ्छ । तर, मेरो बिचारमा अर्थतन्त्र अहिलेकै जसरीमात्रै अघि बढ्यो भने बैंकिङ क्षेत्रको प्रतिफल १५/२० प्रतिशतमाभन्दा माथि हुँदैन ।

राष्ट्र बैंकले स्प्रेड पनि तोकेको छ । सेवा शुल्क पनि लिन नपाइने भनेको छ । हालैमात्रै प्रोभिजनिङमा पनि कडाइ गरेको छ । नियामक निकाय कडा भएर गइरहेको अवस्थामा बैंकहरुले ठूलो प्रतिफल दिन सम्भव छैन ।

बजार र नियामक निकायले निरन्तर बैंकरलाई पेलिरहेको छ । दुबै कुरालाई मिलाएर अघि बढ्न बडो कठीन छ ।

अर्थतन्त्र दुर्घटनामा जान लागेका अवस्थामा मेगा बैंक खोलियो । नियामकले लगातार कडाइ गरिरहेको छ । तर, यस्तो अवस्थामा पनि हामीले २० अर्ब निक्षेप संकलन गरेका छौं । १९ अर्ब कर्जा छ । १२ प्रतिशत बोनस दिएको छ । यो परिस्थितिमा यो प्रतिफल दिनु पनि चानचुने कुरा होइन ।

कुराकानीमा आधारित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment