+
+

‘ निर्माता हुँ, हिरो हुँ भन्न नै लाज लाग्छ’ : रोज राणा

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत १० गते १५:२३

roj-rana-photo
कुनै समय निर्माता रोज राणाको हालिमुहाली चलचित्र क्षेत्रमा खुबै थियो । चलचित्र निर्माणमा अगाडि सरेसँगै रोजको हालिमुहालीले विभिन्न खालका तरंग ल्याएका थिए । नायिकासँगको अफेयरदेखि चलचित्रमा डन प्रवृत्ती, विभिन्न कारणले चर्चामा थिए उनी ।

तर, अहिले उनै रोज राणा चलचित्रबाट टाढा जस्तै देखिएका छन् । उनले बनाउने भनिएको चलचित्र ‘हिरोइन’ पनि छेउ लागेको छ । के अब, रोज राणाका लागि चलचित्र क्षेत्र विरानो भएको हो त ? अनलाइनखबरसँग कुरा गर्दै रोजले आफू टाढा हुनुको कारण यसरी खुलाए :

हो, म अहिले चलचित्र क्षेत्रबाट टाढा जस्तै  देखिएको छु । अहिले नेपाली कांग्रेसको महाधिवेसन आउँदैछ । म क्षेत्रिय सभापतिका लागि लड्दै छु । प्यूठान क्षेत्र नम्बर २ बाट क्षेत्रिय सभापतिका लागि चुनाव लड्न लागेकाले पनि म जिल्लामै व्यस्त छु । मैले चलचित्रलाई व्यवसायिक पाटोको रुपमा हेरेको थिएँ ।

अब, अहिले यो क्षेत्रमा पैसा लगानी गरेर व्यवसाय नै गर्न सक्ने अवस्था छैन । चलचित्र नै सफल नभएपछि म त्यती मुर्ख कहाँ छु र, यसमा लगानी गर्न । म चलचित्र निर्माता संघको उपाध्यक्ष हुँ । तर, यो संघप्रति मेरो असन्तुष्टी भने छैन । हामीले पनि यो स्विकार गर्नुपर्छ कि हामीबाट कमजोरी भएको छ । निर्मातालाई बचाउन हामीले सकेका छैनौ र अहिले त्यो अवस्था पनि छैन । निर्माताको हक हितका लागि काम गर्न सक्ने अवस्था नै भएन, साह्रै दिक्क लाग्छ मलाई ।

यो क्षेत्रलाई सिकारुहरुले नराम्रोसँग डुबाएका छन् । फेरि, यो क्षेत्रमा कलाकारको कुनै स्टारडम पनि भएन । कलाकारको स्टारडम भएको भए त म चलचित्र बनाइहाल्थे नि । शुक्रबार र शनिबार कलाकारको टाउको हेरेर दर्शक हलमा आउनुपर्छ । तर, यहाँ त टाउको बिक्ने खालको न त कोही नायक छ, न त कोही नायिका नै । यहाँ मुख्य कमजोरी भनेकै कलाकारको स्टारडम नहुनु हो । अब, म ती स्टारडम नै नभएका, कसैले नचिन्ने कलाकार माथि पैसा खन्याएर मुर्ख बन्न चाहन्न ।

जतिबेलासम्म चलचित्र खेलेर बाच्न सक्ने अवस्था थियो, मैले निरन्तर लगानी गरेकै थिएँ । म पनि त एक सामाजिक प्राणी हुँ, मेरो पनि त परिवार छ । फेरि, राजनीतिमा पनि समय दिनुपर्छ । अब, यो क्षेत्रबाट मेरो घरपरिवार नै चल्दैन, खान नै पुग्दैन भने म किन त्यसकै लागि मरिहत्ते गरुँ र ?

जहाँसम्म म आफै कमजोर भएर पछि सरेको हुँ भन्ने कुरा छ, यसमा मेरो केही भन्नु नै छैन । यहाँ मैले कम समय दिनुलाई कमजोर मान्ने कि मैले चलचित्र क्षेत्रलाई महत्व नदिनुलाई कमजोरी मान्ने, सोचाई आ-आफ्नै छ ।

अबको ५ बर्षपछि नेपालमा चलचित्र क्षेत्र नै रहदैन । अहिले कतै ४ जना मानिस भेला भएको ठाउँमा गएर म कलाकार हुँ, म नायक हुँ, म नायिका हुँ भनेर भन्ने अवस्था छैन । यस्तो भन्दा त आफैलाई लाज लाग्छ । फेरि, हामीलाई हेरेर मानिस किन हाँस्छ भनेर सोध्न सकिने अवस्था पनि छैन ।

यो क्षेत्रमा वुझेको मानिस आउन जरुरी छ । सिकारुहरुले निर्माता खोजेर उसलाई ‘मुर्गा’ बनाएर चलचित्र बनाइरहेका छन् । यो क्षेत्र विलिन भएपनि म यो सँगै विलिन हुन त सक्दिन नि । समय राम्रो भएको खण्डमा अवश्य पनि चलचित्र बनाउँछु । तर, अहिले यो क्षेत्रमा पैसा खर्च गरेर म आफै आफ्नो खुट्टामा बञ्चरो हान्न चाहन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?