१२ चैत, काठमाडौं । १५० जनाको ज्यान जाने गरी फ्रान्समा दुर्घटनाग्रस्त जर्मनविङ्ग्सको विमानको ककपिट डाटा रेकर्डरबाट महत्वपूर्ण तथ्यहरु फेला परेको अनुसन्धानकर्ताहरुले दाबी गरेका छन् ।
दुर्घटनाको कारण पत्ता लगाउन प्रयास गरिरहेका फ्रेन्च अनुसन्धानकर्ताहरुले सो दाबी गरे पनि दुर्घटनाको वास्तविक कारण अझै पत्ता लागेको छैन ।
दुर्घटनास्थलको निरिक्षण गरेका फ्रान्सको नागरिक उड्डयन अनुसन्धान निकायका निर्देशक रेमी जुटीले दुर्घटनाग्रस्त विमानको ककपिट भ्वाइस रेकर्डरमा कुराकानी गरेको आवाज पाइएको बताएका छन् । तर, अहिले नै दुर्घटनाको कारणबारे निष्कर्ष निकाल्न हतार हुने उनको भनाइ छ । उनले विहीबार पनि अनुसन्धान जारी रहने बताए ।
बार्सिलोनाबाट डसेल्डोर्फतर्फ जाँदै गरेको ए ३२० विमान फ्रान्सको एल्प्स पर्वत श्रृङ्खलामा गत मंगलबार दुर्घटना भएको थियो । तर आकाशमा विमानमा आगलागी नभएको अनुसन्धानमा संलग्न अधिकारीहरुले बताएका छन् ।
सो विमान उचाइ लिएको ८ मिनेट भित्रै जमिनमा खसेको थियो । विमानमा १ सय ४४ यात्रु र चालक दलका ६ सदस्य थिए ।