Comments Add Comment

नेता हुनुबाहेक रामनाथका योगदान केही थिएनन् त ?

मात्रिका पौडेल

RAM NATH DAKHAL (3)

कवि तथा एमाले कार्यकता अनिल पाैडेलले लेखेको र जनवादी गायक तथा पूर्वएमाले हालका एमाओवादी सभासद जेबी टुहुरेले गाएको एउटा शोक गीतको पंक्ति निकै मार्मिक छ ।

नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको निधनमा लेखिएको गीतको एउटा पंक्तिमा भनिएको छ-मृत्यु पनि मान्छे पिच्छे फरक हुँदो रैछ, देशभक्त छोरो मर्दा देशै रुँदो रै’छ

रामनाथ ढकाल देशभक्त छोरो हुन् कि होइनन् भन्ने बहस नगरौं, तर कम्तिमा उनी देशघाती थिएनन् । उनले गरेका कतिपय कामले उनलाई एमालेको सीमित घेराभन्दा माथि राखेको छ । उनले अनेरास्ववियुको अध्यक्ष हुँदासम्म विद्यार्थीको लागि काम गरे । एमालेको पोलिटब्यूरो सदस्य हुँदासम्म पार्टीका लागि काम गरे । तर, ०५१ मा र ०६४ दुईपटक संसद सदस्य निर्वाचित भएका बेला उनले गरेका काम पार्टीको कार्यकर्ताभन्दा माथिका थिए । तीनै कामले उनी चर्चित युवा नेता बने । सञ्चारमाध्यम र सोसल मिडियामा उनले मृत्यु पर्यन्त पाएको स्थान उनका तिनै योगदानको मूल्यांकन हो ।

एकजनाले रामनाथ ढकालको निधनको केहीबेरमै सोसल मिडियामा व्यक्त भएका उनीप्रतिका शब्द श्रद्धाप्रति टिप्पणी गर्दै ट्वीट गरे-रामनाथ ढकाल नेता हुनुबाहेक उनको अरु स्मरण गर्न योग्य योगदान के छन् ? त्यसपछि मैले सोचेँ, साँच्चै रामनाथलाई सम्झिनै पर्ने योगदान के छन् त ? एउटा होनहार युवा नेताको अवसानले पार्टीलाई परेको नोक्सानीका कारण त्यो पार्टी पंक्तिले उनका योगदान सम्झिने नै भयो ।

परिवार, पार्टी र उनका साथी संगीहरुलाईत अपूरणीय क्षति भयो नै । साँच्चै देशले सम्झिनुपर्ने रामनाथका योगदानचाहिँ के थिए त ? यसका लागि कम्तिमा १७/१८ वर्षअघि फर्किनुपर्छ ।

मृत्यु पनि मान्छे पिच्छे फरक हुँदो रैछ, देशभक्त छोरो मर्दा देशै रुँदो रै’छ

०५१ सालको मध्यावधि निर्वाचनमा एमालेले अनेरास्ववियुका तत्कालीन अध्यक्ष रामनाथ ढकाललाई गुल्मी १ मा उम्मेदवार बनाएर पठायो । विद्यार्थी नेता ढकाल अघिल्लोपटक कांग्रेसले जितेको क्षेत्रमा भारी मतका साथ बिजयी भएपछि सांसद बनेर सिंहदरबार छिरे । एमालेका ८८ जना सांसदको भीडमा ढकाल पनि एउटा थिए । तर, उनले ८८ मात्र होइन, तत्कालीन प्रतिनिधिसभाका २ सय ५ सांसदलाई आफूतिर आकषिर्त गर्ने एउटै काम गरे ।

त्योबेला फलामे अनुशासन रहेको एमाले पार्टीका सभासदले आफ्नै दलका नेता तथा उपप्रधानमन्त्री एबम् गृहमन्त्री वामदेव गौतमलाई भारी संसदमा अप्ठ्यारोमा पार्नु राजनीतिक रुपमा ठूलो जोखिम थियो । तर, ढकालले जोखिम मोले ।

तत्कालीन गृहमन्त्री वामदेव गौतमले विवादस्पद छवि र भ्रष्टाचारको अभियोगमा जागिर खोसिएका पूर्व डीएसपी नरहरी संग्रौला भन्ने व्यक्तिलाई  गुपचुप रुपमा राष्ट्रिय अनुसन्धान विभागको डीआइजीमा लैजान खोज्दा रामनाथले संसदमै यसको खुलासा गरे ।

यसका लागि उनलाई टीकाराम भट्टराई लगायतका उनका सहकर्मी वकिलले प्रमाण जुटाइदिए । ढकालका कारण आफ्नै नेता वामदेव अप्ठेरोमा परे, विपक्षी कांग्रेस लगायतले ठूलो मसला नै पाए । उनकै संयोजकत्वमा बनेको छानविन समितिले संग्रौलाको निर्णय फिर्ता गर्न निर्देशन दियो र मन्त्रिपरिषदले २ महिनापछि निर्णय फिर्ता गर्नुपर्‍यो ।

यो एउटा व्यक्तिसँग गाँसिएको सानो मामिला थियो, तर गुप्तचर जस्तो संवेदनशील बिभागको प्रणाली खल्बल्याउन नदिन ढकालले गरेको योगदानलाई आज पनि त्यहाँका कर्मचारीले सम्झिरहेका छन् ।

एउटा सांसदले देशको प्रणाली बिगार्न नदिनबाट मन्त्रीलाई रोक्ने दायित्व निर्वाह गरे, जसका कारण बेतिथि रोकियो । ढकालले त्यसबेला गृहमन्त्री गौतमलाई तत्कालीन आइजीपी अच्युतकृष्ण खरेललाई हटाएर धुब्रवहादुर प्रधानलाई आइजीपी बनाउने निर्णय नलिन ठूलै दबाव दिएका थिए ।

यसबाट तत्काल बदला लिएजस्तो भए पनि दीर्घकालमा नेपाल प्रहरीमा राजनीतिकरण हुने ढकालले सार्वजनिक रुपमै भनेका थिए । नभन्दै नेपाल प्रहरीमा राजनीतिकरणको शुरुवात त्यही बिन्दूबाट भयो, अहिले पनि नेपाल प्रहरीका तत्कालीन अधिकृतहरु रामनाथलाई उनको यही भनाइका कारण सम्झिरहेका छन् । त्योबेला पनि उनी पार्टीभन्दा माथि उठेका थिए ।

सुडान प्रकरण : अर्को सम्झनायोग्य

२०५१ सालमै राज्य व्यवस्था समितिको सदस्य भएका कारण ढकालले राज्य सन्चालनका सन्दर्भमा राज्यका निकायको सबलीकरणमा सधैं पार्टीभन्दा माथि उठेर सल्लाह, सुझाव र निर्देशन दिए

रामनाथलाई सम्झिने र सम्झिरहनुपर्ने सबैभन्दा ठूलो योगदान भनेको नेपाल प्रहरीको इतिहासमै सबैभन्दा ठूलो भ्रष्टाचार मानिने सुडान घोटाला प्रकरणलाई जनतामा जस्ताको तस्तै ल्याइदिनुनै हो । पहिलो संविधानभा निर्वाचनमा रुपन्देही ५ बाट निर्वाचित भएपछि रामनाथलाई एमालेले संसदको सबैभन्दा महत्वपूर्ण मानिने राज्य व्यवस्था समितिको सभापति बनायो । नेपाल प्रहरी, नेपाली सेना जस्ता राज्यका फौजी संरचनाहरुको व्यवसायिकताका बारेमा राम्रो दख्खल राख्ने ढकालले सुडान घोटाला प्रकरणमा जुन कौशल देखाए त्यो भ्रष्टाचार छानविनका लागि भविष्यमा पनि रोलमोडल बन्नेछ ।

नेपाल प्रहरीले सुडान मिसनमा पठाएका एपीसी लगायतका लजिष्टिक सामान खरिदमा भएको ३० करोड भन्दा बढिको घोटाला प्रकरणमा ढकालले सभापतिको हैसियतमा छानविन गरेर प्रमाण जुटाउन महत्वपूर्ण भूमिका खेलेका थिए । जसका कारण अख्तियारले यस भ्रष्टाचार प्रकरणका दोषीहरुमाथि मुद्दा चलाउन सम्भव भयो र अहिले विशेष अदालतमा त्यो मुद्दा बिचाराधीन छ ।

नेपाल प्रहरीका बहालावालसहित तीन महानिरीक्षक एकैपटक भ्रष्टाचारमा जेल जानु परेको यो प्रकरणमा ढकालले सुडानसम्मै संसदीय छानविन टोली पठाएका थिए ।

२०५१ सालमै राज्य व्यवस्था समितिको सदस्य भएका कारण ढकालले राज्य सन्चालनका सन्दर्भमा राज्यका निकायको सबलीकरणमा सधैं पार्टीभन्दा माथि उठेर सल्लाह, सुझाव र निर्देशन समेत दिए । ३२ वर्षको उमेरमै उनले ०५१ सालमै दुईपटक संसदीय छानविन समितिको नेतृत्व गरेर राज्यका बेथिति रोके । उनकै नेतृत्वको समितिले नरहरी संग्रौलाको गैरकानुनी नियुक्ति खारेज गर्न सरकारलाई बाध्य पारेको थियो भने उनकै नेतृत्वको प्रशासनिक अनियमितता छानविन समितिले एमालेकै सरकारलाई अप्ठेरो पार्ने गरि निर्देशन दिएको थियो ।

ढकालको नेतृत्वदायी भूमिका र समन्वयकारी चरित्रकै कारण संसद सचिवालयका कर्मचारी र उनीसँग काम गरेका जुनसुकै पार्टीका नेताहरुले उनलाई उच्च सम्मान प्रकट गर्छन् ।

राज्य व्यवस्था समितिमा धेरै जना सभापति बने । तर, ढकालको निधन नहुँदै पनि मुकुन्द शर्मालगायतका उच्च अधिकारीहरु सधैं भन्ने गर्थे-रामनाथ माननीयजस्ता सभापति कहिल्यै पाइएन ।

रामनाथले आफू राज्य व्यवस्था समितिको सभापति भएकै बेला नेपाली सेनाको लोकतान्त्रीकरण तथा पुनसंरचना सम्बन्धी महत्वपूर्ण कामको शुरुवात गराए ।

ढकाल सभापति हुञ्जेल संसदीय मामिला पत्रकारहरुका लागि उनको कार्यकक्ष आफ्नो घरजस्तै पि्रय थियो । पत्रकारलाई आवश्य पर्ने सूचना कोट-अनकोट मिलाएर दिने र भ्रष्टाचार तथा बेथितिका सूचनाहरु प्रमाण जुटाएरै उपलब्ध गराउने उनको विश्वसनीय छवि पत्रकारका लागि अब केबल सम्झनामा मात्र सीमित रहनेछ ।

एउटा परिपक्व मान्छे, जसको व्यवहारले नै उनलाई मिडियामैत्री बनायो ।

एमालेजनका लागि त रामनाथको अवसान निकै ठूलो क्षति हो । एमाले वृत्तमा पार्टीको भावी नेतृत्वको चर्चा हुँदा लिइने सीमित नामहरुमा रामनाथ पनि थिए । उनको लोभलाग्दो राजनीतिक विकास एमालेका नौजवानहरुलाई मात्र होइन, एमाले इत्तरका राजनीतिमा लागेका युवाहरुलाई समेत प्रेरणादायी थियो ।

लुम्बिनी इञ्चार्ज हुँदा रामनाथले टोपवहादुर रायमाझीदेखि पम्फा भुसालसम्मका माओवादी नेताहरुको समेत विश्वास जितेर काम गरे, जसका कारण रामनाथको उचाइ लुम्बिनीका अरु एमालेको भन्दा अग्लो भयो ।

आफैं गाडी हाँकेर ग्राण्डी अस्पताल छिरेका रामनाथ अन्ततः मृत्युसँग हारेर अर्कैले हाँकेको शव बाहनमा निस्कए

आठौं महाधिवेशन बुटवलमा आयोजना हुँदा आफू गुटभन्दा माथि देखिन रामनाथले चुनाव लडेनन् । आयोजक अञ्चलको प्रमुखका हैसियतमा उनले त्यो घोषणा गरेका थिए । गुटमा लिप्त नहुने उनको स्वभाव र बाहिरी दुनियासँग बढी जनसम्पर्ककै कारण एमालेका जुनसुकै गुटका नेताले पनि ऐन मौकामा रामनाथको साथ लिने गरेका थिए ।

रामनाथको निधन एमाले पंक्तिका लागि धेरै कारणले बज्रपात हो । पम्फा भुसालले भने जस्तै उनको निधन एमालेका लागिमात्र नभएर लुम्बिनीका लागि अपूरणीय क्षति हो ।

राज्यका विभिन्न निकायमा ढकालको दह्रिलो पहुँचकै कारण गुल्मी र रुपन्देहीको भौतिक विकासमा उनले गरेको योगदान त्यहाँका सर्वसाधारणले सम्झिरहने कारण बनेका छन् ।

आफैं गाडी हाँकेर ग्राण्डी अस्पताल छिरेका रामनाथ अन्ततः मृत्युसँग हारेर अर्कैले हाँकेको शव बाहनमा निस्कए । र, कहिल्यै नफर्किने अनन्त यात्रामा मिसिए ।

जिउँदो हुञ्जेल जति राम्रो काम गरे पनि गाली गर्ने र मान्छे मरेपछि उसका नभएका योगदान पनि सम्झिने प्रचलन छ नेपाली समाजमा । अझ नेताका सवालमा त नेपाली समाज यति नकारात्मक छ कि, नेता हुनुनै अपराध हो जस्तो पार्छ समाजले कहिलेकाहिँ । तर रामनाथका हकमा उनले गरेका योगदान जीवित हुञ्जेल पनि सम्झन लायक थिए, मृत्युपछि पनि सम्झिन लायक छन् ।

एउटा व्यक्ति कोही पनि सर्वगुण सम्पन्न, विवादभन्दा माथि र पूर्ण हुँदैन । रामनाथ पनि औसत मान्छे नै हुन् । उनका पनि केही कमजोरी थिए । तर, उनी समग्रमा असल थिए । उनको मृत्यु असामयिक नै हो । अलबविदा कमरेड रामनाथ, हामी तिम्रा योगदानका लागि तिमीलाई सधैं सम्झिरहनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment