+
+

बर्षका उत्कृष्ट ५ नेपाली नायिका, प्रियंका नम्बर वान

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २९ गते १६:००

नेपाली चलचित्रका लागि बर्ष २०७१ सुखद बन्न नसके पनि निराशाजनक पनि बनेन । बर्षको अन्त्यमा प्रदर्शनमा आएका दुई चलचित्र ‘नाई नभन्नु ल ३’ र ‘हवल्दार सुन्तली’को व्यापारले चलचित्रकर्मीमा आशा जगाइदियो ।

जसले बर्षमा एउटा पनि सफल चलचित्र दिन नसकेका कलाकारहरुलाई पनि केही राहत पुर्‍याइदियो । अर्कोतिर, चलचित्र क्षेत्रमा फेरि एकपटक दर्शक हलसम्म आउँछन् है भन्ने बातावरण तयार भएको छ ।
यो बर्ष प्रदर्शनमा आएका करिब ८५ चलचित्र मध्ये १० वटा चलचित्र सफल भए ।

तर, नायिकाहरुको हकमा हेर्ने हो भने, उनीहरु विभिन्न कारणले चर्चामा रहे । चलचित्रको व्यापार कमजोर हुने नायिकाको अभिनयले तारिफ पायो त, व्यापार राम्रो हुने नायिकाको अभिनय खासै चम्किएन । हामीले विभिन्न आधारमा यो बर्षमा ५ उत्कृष्ट नायिकाको सूची तयार पारेका छौ ।

चलचित्रको व्यापार, कलाकारको व्यस्तता, बर्षभरी विभिन्न संचारमाध्यममा आएका कभरेज, अनलाइनखबरका पाठकले दिएको प्रतिक्रिया आदिलाई आधार मानेर यो सूची तयार गरिएको हो ।
1-OK top -5-Priyanka karki
१. प्रियंका कार्की : यो बर्ष नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक व्यस्त बनिन्, नायिका प्रियंका कार्की । यो बर्ष उनले राम्रा ब्यानरका चलचित्रमा काम गरिन्, जुन अर्को बर्ष प्रदर्शनमा आउँदैछन् । यो बर्ष प्रियंकाले अभिनय गरेको एउटा मात्र चलचित्र चल्यो, ‘नाई नभन्नु ल ३’ ।

यी बाहेक उनले अभिनय गरेका ‘मेरो बेष्ट फ्रेन्ड’, ‘आवरण’, ‘पुन्टे परेड'(विशेष भूमिका), श्री ५ अम्बरे(आइटम गीत), मिसन पैसा २ (आइटम गीत), ‘सुन्तली’, ‘माला’, ‘षडङ्ग’ चलचित्र असफल बने । तर, ‘सुन्तली’ र ‘माला’मा प्रियंकाको अभिनयको खुबै तारिफ भयो । यस्तै, प्रियंका कार्की यो बर्ष राम्रो आइटम गर्लको रुपमा पनि परिचित भइन् ।

संचारमाध्यममा प्रियंका बर्षभरि नै छाइरहिन् । अन्तरराष्ट्रिय कार्यक्रमदेखि नेपालमा आयोजना गरिने कार्यक्रममा उनको माग बढ्यो । विज्ञापन बजारमा पनि प्रियंकाको माग अन्य नायिकाको तुलानामा धेरै देखियो । यस्तै, फेसबुकमा उनलाई पछ्याउनेको संख्या पनि यसै बर्ष लाख नाघ्यो । देश तथा विदेशमा आयोजना भएका विभिन्न अवार्डमा पनि प्रियंकाको हात खाली भएन । यही आधारमा हामीले पि्रयंकालाई यो बर्षकी नम्बर एक नायिका ठहर गरेका छौं ।
2-OK top -5-Rekha thapa
२. रेखा थापा : रेखा थापा नेपाली चलचित्र क्षेत्रकी एक सुपरस्टार हुन् । यो बर्ष आफ्नो र बाहिरी ब्यानर गरेर ३ वटा चलचित्रमा काम गरिन् । जसमध्ये, उनकै ब्यानरको मात्र चलचित्र ‘हिम्मतवाली’ले व्यापार राम्रो गर्‍यो ।

‘तथास्तु र दमदार’को व्यापार औषत देखियो । रेखालाई हेर्न दर्शक हलसम्म ओइरिए तर, रेखाको कामको प्रशंसा भने खासै सुनिएन । अभिनय भन्दा पनि अन्य कारण उनी बर्षभर चर्चामा रहिन् । स्क्याण्डल र अभिब्यक्तिका कारण रेखा बर्षभरि नै संचारमाध्यममा छाइन् ।

यो बर्षबाट नै रेखा थापा आफै निर्देशक बनिन् । फेसबुक लाइक पेजका आधारमा रेखा थापा नेपालकै सर्वाधिक चर्चित सेलिब्रेटी मानिन्छिन् । उनको पेजमा करिव १३ लाख फ्यानले लाइक गरेका छन् । रेखाले बलात्कारको शिकार बनेका दुई पूजालाई भेटेर चलचित्रमा अभिनय गराउने घोषणा गरिन् भने सामाजिक कार्यमा पनि उनी अगाडि देखिइन् ।
3-OK top -5-Keki adhikari
३. केकी अधिकारी : केकी अधिकारी नेपाली चलचित्र र म्यूजिक भिडियोमा जमेकी नायिका हुन् । उनले अभिनय गरेका ५ चलचित्र यो बर्ष प्रदर्शनमा आए ।

तर, ५ वटै चलचित्रको व्यापार चित्तवुझ्दो छैन् । केकी अधिकारीको चलचित्रले व्यापार नगरे पनि उनको कामलाई भने रुचाइयो । केकीले अभिनय गरेका ‘मेरो बेष्ट फ्रेन्ड, माई प्रमिस, ठूलो मान्छे, श्री ५ अम्बरे र पूनर्जन्म यो बर्ष प्रदर्शनमा आएका चलचित्र हुन् । जसमध्ये ‘पूनर्जन्म’ले मुश्किलले  लगानी उठाउनु बाहेक अरुले हावा खाए ।

केकी अधिकारी यो बर्ष सोसल मिडियामा चर्चित रहिन् । उनलाई यूवापुस्ताले आइडलको रुपमा पनि लिन्छन् । केकी अधिकारीले सामाजिक संजालमा लेख्ने स्टाटस र उनका फ्यानले दिने प्रतिक्रिया गजबकै छन् । चलचित्रको व्यापार असफल भए पनि केकीले नयाँ नयाँ काम पाइरहेकी छिन् ।

प्रायः स्क्याण्डलबाट बाहिर रहने यी नायिका यो बर्ष सामाजिक संजालमा जिम्मेवार अभिब्यक्ति दिएर आफुलाई सामाजिकरुपमा सबल बनाइन् । केकी यो बर्ष ‘सातौ नेफ्टा फिल्म अवार्ड’मा उत्कृष्ट नायिकाको रुपमा पुरस्कृत भइन् ।
4-OK top -5-Namrita Shrestha
४. नम्रता श्रेष्ठ : नम्रता श्रेष्ठका लागि बर्ष २०७१ सामान्य रह्यो । उनले अभिनय गरेको चलचित्र ‘नोभेम्बर रेन’ बर्षको सुरुवातमै सफल बन्यो । जसका कारण पनि नम्रतालाई दर्शकले लभस्टोरी चलचित्रमा रुचाए । तर, उनले बिचमा केही बाटो बिगारिन् । यसैले उनले अभिनय गरेका ‘ताण्डव’, ‘सोल सिस्टर’ र ‘संवोधन’ असफल बने ।

चलचित्रको व्यापारका हिसाबले नम्रताका लागि सामान्य रहे पनि उनी यो बर्ष निर्मात्री बनिन् र नयाँ परिचय दिइन् । आउँदो बर्ष नम्रताको हातमा केही त्यस्ता चलचित्र छन्, जसले उनलाई फेरि एकपटक खुशी दिनसक्छ । यो बर्ष नम्रता र ‘ताण्डव’का कलाकार आशिष राना ‘लाहुरे’को प्रेमले चर्चा पायो ।

अर्कोतिर प्रेमी प्रेम घलेसँग छुटेका र जोडिएका समाचारले पनि उनलाई चर्चामा ल्याइदियो । नम्रता श्रेष्ठ ब्रान्ड बजारमा पनि आफूलाई स्थापित गराएकी नायिका हुन् । ब्राण्ड इन्डोर्समेन्टमा पनि नम्रता अब्बल छिन् ।  5-OK top -5-Neeta Dhungana
५. नीता ढुंगाना : यो बर्ष नीता ढुंगानाको एउटा मात्र चलचित्र प्रदर्शनमा आयो । ‘भुल भूलैया’को व्यापारले नायिका ढुंगानालाई खुशी दियो ।

यी बाहेक नीता यो बर्ष आधा दर्जन चलचित्रमा अभिनय गर्न व्यस्त बनिन् । प्रेमी आमेष भण्डारीसँगको अफेयरलाई आफैले सार्वजनिक गरिदिएपछि उनी मिडियामा छाइन् । थुप्रै ठाउँमा उनले प्रेमीसँग फोटोससन र अन्तरवार्ता गरिन् ।

नीताले अभिनय गरेका केही आशातित चलचित्र अर्को बर्ष प्रदर्शनमा आउँदैछन् । अभिनय र नृत्यका हिसाबले पनि नीता ढुंगानाको कामको तारिफ भएको पाइन्छ । बर्षभरि विभिन्न कारणले चर्चामा रहेकी नीतालाई संचारमाध्यममा पनि राम्रै प्रभाव भएकी नायिकाको रुपमा चिनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?