Comments Add Comment

विद्युत् प्रसारण आयोजना निर्माणमा ढिलासुस्ती

१० वैशाख, चितवन । भरतपुर–हेटौँडा २२० किलोभोल्ट विद्युत् प्रसारण आयोजना निर्माणमा ठेकेदारका कारण ढिलासुस्ती भइरहेको छ ।

ठेकेदारले समयमै काम नथाल्दा आयोजना निर्माणमा ढिलासुस्ती भएको हो । सुरुमा मुआब्जा विवाद र जग्गा अधिग्रहणका कारण दुई वर्ष अलमलिनु परेको थियो । डेढ अर्ब लागत भएको उक्त आयोजना आगामी पुससम्ममा सक्नुपर्ने अन्तिम समयसीमा छ ।

Electric-lineआयोजनाका लागि चितवन र मकवानपुरमा गरी २२६ वटा टावर निर्माण गर्नुपर्ने छ । तर अहिलेसम्म १२० वटाको जग बनाइसकेको र ६० वटा मात्रै टावर खडा गरिएको आयोजनाका इन्जिनियर रमेश घिमिरेले बताए ।

‘आयोजनास्थलमा रहेका ८० प्रतिशत रूख काटेर वनलाई जिम्मा लगाइसकेका छौंँ,’ उनले भने ।

चितवन र मकवानपुरको ७४ किलोमिटर क्षेत्रमा विद्युत् प्रसारण लाइन जडानका लागि आयोजनाले काम गरिरहेको छ । यसका लागि चितवनमा ११ कट्ठा नौ धुर र मकवानपुरमा १४ कट्ठा ११ धुर जग्गा अधिग्रहण गर्नुपर्ने घिमिरेले बताए ।

आयोजनाका लागि चितवनका ५० तथा मकवानपुरका १०२ घर भत्काउनुपर्ने भएकाले उनीहरुलाई मुआब्जा दिने क्रम जारी छ । मकवानपुरमा विवाद हुँदा काम केही ढिला भएको थियो । मुआब्जाका लागि २५ करोडको बजेट छ । उक्त रकम प्रशासनमार्फत दिने व्यवस्था छ । अहिलेसम्म आयोजनाले ९ करोड रूपैयाँ प्रशासनलाई उपलब्ध गराएको र करिब ७ करोड रूपैयाँ वितरण भइरहेको घिमिरेले जानकारी दिए ।

चितवनमा मात्रै करिब एक करोड मुआब्जा वितरण भएको प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विकेले जानकारी दिए ।

सन् १९९८ देखि निर्माण सर्वे सुरु भएको उक्त आयोजना २००९ मा आएर मात्रै सम्झौता भएको थियो । काम समयमै नसक्दा पटकपटक म्याद थप हुँदै आएको छ । उक्त आयोजनामा भारतीय कम्पनी ‘आइकम’ र चिनियाँ कम्पनी ‘जमजिङ’ले निर्माणको जिम्मा लिएको छ ।

विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले अहिले जिल्लामा १२० केभी प्रसारण लाइन सञ्चालन भइरहेकाले यो नयाँ आयोजना सम्पन्न भएपछि विद्युत् आदानप्रदान र एक देशबाट अर्काे देशमा लेनदेनमा समेत सहयोग पुग्ने बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment