Comments Add Comment

एनजीओको ११ ट्रक राहत विमानस्थलको गोदाममा थुनियो

१८ वैशाख, काठमाडौं । भूकम्प पीडितका लागि विदेशबाट विभिन्न आइएनजीओ/एनजीओले पठाएको राहत सामाग्री त्रिभुवन विमानस्थलको गोदाममा थन्किएको छ । यस्तो सामाग्री करिब ११ ट्रक छ ।

विमास्थलमा राहतबारे जानकारी लिँदै प्रधानमन्त्री सुशील कोइराला
विमास्थलमा राहतबारे जानकारी लिँदै प्रधानमन्त्री सुशील कोइराला

एनजीओले भन्सार नतिरेको भन्दै त्रिवि भन्सार प्रशासनले उक्त सामान गोदाममा थन्क्याएको हो । ‘सामान बुझ्ने मान्छेको समस्या छ, सामानको भन्सार पनि क्लियर भएको छैन,’ शुक्रबार दिउँसो प्रधानमन्त्री सुशील कोइराला आफैंले गोदाममा गएर सामान हेरेपछि पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपकचन्द्र अमात्यले यस्तो बताए ।

दैवी प्रकोपमा परेकाहरु लागि आउने राहतमा भन्सार शुल्क लिने प्रचलन छैन । तर, यसका लागि भन्सार छुट गरिएको निर्णय मन्त्रिपरिषदबाटै त्रिवि भन्सार कार्यालयलाई पठाइनुपर्छ ।

सरकारमार्फत् आउने राहत सामाग्री तत्कालै विमानस्थलबाट अन्यत्र लैजान सजिलो भए पनि एनजीओले ल्याएका सामानको प्रक्रिया झण्झटिलो भएको विमानस्थलका अधिकारीले प्रधानमन्त्रीलाई बि्रफिङ गरेका छन् । प्रधानमन्त्री कोइरालाले गोदाममा गएर सामान हेरिसकेपछि भनेका थिए, ‘राहत सामाग्री यसरी थन्क्याएर नराख्नोस्, तत्कालै गोदामबाट निकालेर जिल्लामा पठाउनोस् ।’

तर, एनजीओले ल्याएको राहत सामाग्री गोदामबाट निकाल्न परराष्ट्र मन्त्री र अर्थमन्त्रीले पहल गर्नुपर्ने मन्त्री अमात्यले प्रधानमन्त्री कोइरालालाई जवाफ दिएको स्रोतले अनलाइनखबरलाई बतायो ।

सरकारले भूकम्प पीडितको राहत संकलनमा गैरसरकारी संघसंस्थालाई निरुत्साहित गर्ने नीति लिएको छ । विहीबार बसेको मन्त्रिपरिषद बैठकले त्यस्ता संघसंस्थाले उठाएको राहत सामाग्री प्रधानमन्त्री कोषमा ‘इयरमार्क’ गर्ने निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment