नारायण पंगेनी/कविन अधिकारी
२३ वैशाख, काठमाडौ । ‘मेरो घर चर्किएको छ, बस्न हुन्छ कि हुँदैन ? इन्जिनियर सा’ब, एकचोटि भित्रै आएर हेरिदिनु न !
भूकम्पले ध्वस्त भएको सुन्धारा नजिकै यंगालमा पहेंलो टोपी लगाएर पुगेका इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थीहरुलाई स्थानीयवासी यस्तै प्रश्न सोधिरहेका थिए । कोही महिलाहरु आग्रह गरिरहेका थिए-‘एकपटक भित्रै आइदिनु न ।’
युवा ‘इञ्जिनियर’हरु घरघरमा पस्थे, गाह्रोमा मुडि्कीले हान्थे, चर्किएको ठाउँमा कोट्याउँथे र कसैले नडराई बस्नोस् भन्थे, कसैलाई चाहिँ ‘यो घरमा नबस्नोस् है खतरा छ’ भन्थे ।
घरवालाको चिन्ता बेग्लै थियो, ‘बाहिर बस्दा केटाकेटीहरु बिरामी भए, त्यसैले जे परे परोस् भन्दै घरमा सरेका हौं ।’
अनलाइनखबरको टोली यंगालमा पुग्दा करिब एक दर्जन युवा इञ्जिनियरहरु विभिन्न घरको अवस्था नियालिरहेका थिए । उनीहरुले घरको अवस्थालाई डीजी-१ देखि डीजी-५ सम्मको चिनारी दिँदै थिए ।
भूकम्पले घर चर्किएका उपत्यकावासीले अहिले यसैगरी इन्जिनियरलाई बोलाएर आफ्ना घरहरु निशुल्क जँचाइरहेका छन् ।
घर जाँच्ने टोलीको नेतृत्व गरेका इन्जिनियर नारायण डुम्रेका अनुसार सामान्य क्र्याक भएका घरलाई डीजी-१ र एउटा भाग मात्रै भत्किएको घरलाई डीजी-४ तथा पूरै ढलेको घरलाई डीजी-५ भन्ने गरिएको छ ।
विनाशकारी भूकम्पले लाखौं घर भत्किएका छन्, लाखौं परिवार विस्थापित भएका छन् । चर्किएका घरहरुको गणना भइसकेको छैन । चर्किएका घरमै ओत लागेकाहरु पनि महाभूकम्पपछि तारन्तार आएको पराकम्पले गर्दा त्रसित छन् ।
बारंबार आएको कम्पन र अर्को ठूलो भूकम्प आउन सक्ने त्रासदीले गर्दा काठमाडौवासीहरुले इन्जिनियरलाई गुहार्न थालेका हुन् ।
काठमाडौका विभिन्न क्याम्पसमा इन्जिनियरिङ विषय अध्ययन गरिरहेका र अध्ययन पूरा गरेकाहरु अहिले निशुल्करुपमा उपत्यकावासीको घरको अवस्था जाँच्न दौडिएका छन् ।
खतरा मोलेर थोत्रे घरमा बास
भूकम्पले चर्किएका उपत्यकाका बस्न लायक नभएको घरमा पनि मानिसहरु बसेको पाइयो । ‘केही घरहरु बस्नका लागि उपयुक्त नभए पनि मानिसहरु बसिरहेकै छन्,’ इन्जिनियर कार्कीले भने, ‘हामीले बस्न लायक भए/नभएको भनिदिने मात्रै हो, बस्ने-नबस्ने उहाँहरुकै कुरा हो ।’
बस्न अनुपयुक्त रहेका केही घरमा पुख्र्यौली घर माया लागेको भन्दै वृद्धवृद्धाहरुले छाड्न नमानेको कार्कीले सुनाए । इन्जिनियरहरुले बस्न अनुपयुक्त भएको बताए पनि केही घरबेटीहरु अटेरी गरेर त्यही घरमा बसेका छन् ।
उपत्यकाका ६० प्रतिशत घर चर्किएको दाबी
काठमाडौ उपत्यकाका झण्डै ६० प्रतिशत घर चर्किएको नेपाल इन्जिनियरिङ एशोसियसन अन्तर्गतको र्यापिड भिजुअल एसेसमेन्ट टोलीले जनाएको छ । इन्जिनियरहरुका अनुसार यीमध्ये कतिपय घरहरु बस्न नमिल्ने खालका छन् ।
‘माटोको जडान भएका घरहरु ७० प्रतिशत बस्न अयोग्य छन्’, इन्जिनियर कार्कीले भने, ‘आरसीसी घरहरु भने ९५ प्रतिशत ठिकै छन् ।’
९० सालले नभत्काएको घर सग्लै
भूकम्पले ठूलाठूला कम्प्लेक्सदेखि टावरहरु ध्वस्त भएका छन् । ठूल्ठूला महलहरु चिरा परेका छन् । तर, राजधानीमै केही माटोका पुराना घरहरु भने सग्लै देखिन्छन् ।
पुरानो भएर गाह्रोका ईंटाहरु नै खिइसकेको यंगालका केही यस्ता पुराना घरहरुलाई भने अहिलेको भूकम्पले पनि हल्लाउन सकेन ।
इन्जिनियरहरुको टोलीले भूकम्पले पूर्णरुपमा क्षति भएको साँखु, अति प्रभावित भएको गोंगबु, स्वयम्भू, सीता पाइला तथा कलंकी क्षेत्रको निरीक्षण गरेको थियो भने अन्य इन्जिनियरहरुको टोलीले विभिन्न ठाउँको निरीक्षण गरिरहेका छन् । स्वयंसेवाबाट निरीक्षण गरिएकाले शुल्क लाग्ने गरेको छैन ।
केही घरहरुलाई भने उनीहरुले ‘टेस्टिङ पिरियड’ भनेर केही समय नबस्न सुझाव दिएका छन् । टेष्टिङ पिरियडमा राखिएका घरको विशेषज्ञ इन्जिनियरहरुको टोलीले पुनः निरीक्षण गर्ने कार्कीले जानकारी दिए ।
सरकारी तथ्याङ्क अनुसार काठमाडौ उपत्यकाको तीनवटै जिल्लामा गरी सर्वसाधारणको ४० हजार ९ सय ४८ घर पूर्ण रुपमा भत्किएका छन् भने ४१ हजार बढी आंशिक क्षति भएका छन् ।
काठमाडौ जिल्लामा ९ हजार ९ सय ९० सरकारी भवन तथा २७ हजार ६ सय ४० सर्वसाधारणको घर पूर्ण रुपमा क्षति भएको छ ।
विद्यार्थीहरुले व्यक्तिका घरमा परीक्षण गरेजस्तै इञ्जिनियरिङ अध्ययन संस्थानको प्राविधिक टोलीले यतिबेला त्रिवि अन्तरगतका भवनका साथै संस्थानहरुका विभिन्न भवनको यसैगरी निरीक्षण गरिरहेको स्ट्रचरल इञ्जिनियरिङका अध्यक्ष गोकर्णबहादुर मोत्राले अनलाइनखबरलाई बताए ।
मोत्राका अनुसार इञ्जिनियरहरुको टोलीले कीर्तिपुरको त्रिवि प्रशासन, बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय र त्रिवि शिक्षण अस्पतालको अवलोकन गरिसकेको छ ।