Comments Add Comment

कस्तो घरमा बस्न हुन्छ, कस्तोमा हुँदैन ? (भिडियोसहित)

प्रा. डा. गोकर्णबहादुर मोत्रा  (अध्यक्ष स्ट्रक्चरल शिक्षण समिति, इञ्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक)

Gokarna Bahadur Motra
देशमा महाभूकम्प आयो, अहिले तपाई इञ्जिनियरहरु चाहिँ के गर्दै हुनुहुन्छ ?

भूकम्प आइसकेपछि हामीले नै केही गर्नुपर्छ भनेर नै इन्जिनियरिङ अध्ययन संस्थानले टिम गठन गरेर हामी हाम्रै किसिमले काम गर्दैछौं । राज्यको नीति निर्माणको तहमा नभए पनि सरसल्लाह र सुझावको तहमा सुरुका दिनमा इन्जिनियरिङ संस्थाका तर्फबाट केही सुझावहरु लिने काम गरेका छौं ।

इन्जिनियरिङ अध्ययन संस्थानले १२ गतेको महाभूकम्पले गरेको क्षतिका बारेमा तत्काल हामीले के गर्न सक्छौं र भविष्यमा के गर्नुपर्ने हो भन्नेबारेमा अध्ययन गर्न टिम निर्माण गरेको छ । त्यसमा म संयोजक छु ।

यो अध्ययन टिमले के गर्छ ?
तत्कालको आवश्यकता भनेको भूकम्पले क्षति पुर्‍याएका घरहरुका बारेमा अनुगमन हो । भूकम्पले कैयौं घरहरु ढलेका छन्, केही घरहरु सद्देे देखिए पनि भित्र चर्किएर, चिरा परेर बस्न हुने हो वा नहुने हो भन्ने खालको सन्त्रास छ ।

अहिले तुरुन्त हाम्रो टिमहरु बनाएर घरमा बस्न हुने वा नहुने हेर्दैछौं । बस्न हुने छ भने तपाईँ त्यहाँ गएर बस्नोस्, तपाईँको घरको यो भाग कमजोर छ, टेका लगाएर अथवा कुन किसिमले सुरक्षित हुन सक्छ, तपाईँले यो भाग प्रयोग नगरेर अरु भाग प्रयोग गर्नुस् भनेर हामीले सरसल्लाह दिइराखेका छौं ।

भूकम्पले घरै नभत्किए पनि चर्किएका छन् । धेरैजनालाई आफ्नो घरमा बस्न डर लागिरहेको छ । त्यस्ता घरमा बस्न हुन्छ कि हुँदैन भन्नेहरुलाई तपाईँहरुका तर्फबाट कस्तो सेवा उपलब्ध हुन सक्छ ?

यसका लागिचाँहि मैले पनि अधिकांश समय बिताउने गरेको छु । हामीले इन्जिनियरिङ अध्ययन संस्थानका मास्टर्सका सबै विद्यार्थीहरु तथा ब्याचलर्स लेबलका विद्यार्थीहरुलाई कस्तो घरमा बस्न हुन्छ र कस्तोमा हुँदैन भन्नेखालको ६/७ दिनदेखि ओरियन्टेसन दिइरहेका छौं ।

एउटा ग्रुप छ, हाम्रो पुल्चोक क्याम्पसमा र एशोसियनमा पनि । हाम्रा एक्सपर्टहरुले पनि चार/पाँच घण्टा तालिम दिइरहनुभएको छ । मास्टर्सका सिनियर विद्यार्थीहरुले गाइड गरेर साइटहरुमा गइराख्नु भएको छ ।

हाम्रो क्याम्पसबाट सिनियर सरहरुको पाँचवटा टिम छ । हाम्रो टियूका संरचना र बाहिरका संस्थानका सरकारी संरचनाको अध्ययन गरिरहेका छौं । कसैले अनुरोध गर्‍यो भने त्यही आधारमा गइरहेका छौं ।

विद्यार्थीहरुको त अहिले कम्तिमा एक सयभन्दा बढी टिम भइसक्यो । काठमाडौ उपत्यकाभरि र बाहिर पनि गोरखा, धादिङ लगायतका एउटा दुईवटा जिल्लामा गइराख्नुभएको छ ।

आफ्नो घरको अवस्थाबारे घरबेटीले फोनबाटै पनि बुझ्न सक्छन् ?

तपाईले फोन गर्नुभयो भने इन्जिनियरिङ एशोसियसनका तीनवटा फोनहरु छन् । कुनै साइटमा गएका पायक पर्ने टिमहरुलाई सम्पर्क गर्न लगाइदिन्छौं, अनि उहाँहरु पायक पर्ने स्थानमा जानुहुन्छ । तुरुन्तै सेवा दिन सक्ने अवस्था छ भने तुरुन्तै वा तुरुन्तै दिन नसकिए समय मिलाएर पठाइदिने गर्छौं । अथवा उहाँहरुले पुल्चोक आएर पनि बुझ्न सक्नु हुन्छ । हरिहर भवनमा अवस्थित इन्जिनियर अध्ययन संस्थान र नेपाल इन्जिनियरिङ एशोसियनमा आएर सम्पर्क गर्न सक्नुहुन्छ ।

आफू बसेको सम्बिन्धित वडा कार्यालयमा समन्वय गरेर हामीले त्यहाँ आएको अनुरोधका आधारमा पनि पठाउने गरेका छौं । जो जसलाई जसरी सजिलो हुन्छ, त्यसरी नै सेवा दिने ब्यवस्था मिलाएका छौं ।

अनलाइनखबरबाटै भनिदिनोस् न, कस्तो घरमा बस्न हुन्छ र कस्तो घरमा बस्न हुँदैन ?

पिल्लरवाला घर वा गाह्रोवाला घर जुनसुकै भए पनि घर वरिपरिको संरचना कस्तो छ, कतै जमीन नै बाहिरबाट धाँजा फाटेको छ कि ? घरमात्रै ढल्किएको छ कि ? यी कुराहरु सवैभन्दा पहिले हेर्नुपर्ने हुन्छ ।

जस्तो, कौशलटारको एरियामा जमीन पुरै भासिएको छ । तर, घरहरु केही भएको छैन । अहिले भर्खरै ती घरहरुमा केही नभएजस्तो देखिए पनि झरी लाग्यो, पानी आयो भने धाँजाबाट पानी तलपट्टी गयो भने फाउण्डेशनलाई नै त्यसले कमजोर गर्न सक्छ । अर्को क्षति बेहोर्ने हुन सक्छ । त्यसैले अहिले नै घरमा केही नभएको भए पनि बस्नका लागि हामीले सुझाव दिँदैनौं ।

घर सीधा लाइनबाट टेढो भइसकेको, त्यस्ता पनि केही घरहरु छन्, त्यसमा पनि हामीले बस्न सुझाव दिँदैनौं ।

पिल्लर नभएको, गाह्रोवाला घरलाई कसरी हेर्ने ?

गाह्रोवाला घरमा भार थाम्ने संरचना भनेको गाह्रो नै हो । त्यसमा गाह्रोहरुमा सानोतिनो चिरा परेको छ, एकातिरबाट । कतिपय ठाउँमा भित्रपट्टबिाट चिरा नपरेको भए बाहिरबाट र बाहिरबाट नपरेको भए भित्रपट्टबिाट चिरा परेको हुन सक्छ ।

माथिको बिम र स्लाबहरुमा छुट्टएिको छैन भने पनि दुईवटा भित्ताको कर्नर एकदम इन्ट्याक हुन आवश्यक छ । भूकम्प आउँदा वा जुनसुकै हलचलका बेलामा पनि जोर्नीले दुबैतिर राम्रोसँग समायो भने बक्सको जस्तो एक्सन गर्छ । कर्नरबाट छुट्टयिो भने भोलिपर्सि साधारण धक्काले पनि लडिहाल्छ ।

गाह्रोहरु एकदमै फाटेर दुबैपट्टि प्वाल नै देखिने र हल्लाउँदा पनि हल्लिने भएको छैन भने र साधारण चिरामात्रै परेको छ भने बाहिरतिर छिचोलिएको छैन भने त्यस्तो घरमा चाँही बस्न सकिन्छ ।

यदि कर्नर गएको छैन, अण्डरवाल फाटेको छ, बिम र तलको गाह्रो छुट्टसिकेको छ र दुबैतिर देखिने गरी चिरा परेको छ भने त्यस्तो घरमा बस्नहुँदैन । कुनै गाह्रोमा मात्रै त्यस्तो भइराखेको छ, कुनै एउटा गाह्रोको कर्नर मात्रै अलग भइराखेको छ भने कर्नरहरुमा मात्रै माथिल्लो स्लाबहरुलाई सपोर्ट दिएर हामीले प्रयोग गर्न सक्छौं । र, अरु ठाउँ सावधानीपूर्वक प्रयोग गर्न सक्छौं ।

पिल्लर सिस्टमको घरमा नि ?

पिल्लर सिष्टमको घरमा माथिबाट आएको लोड बिममा आउँछ र बिमबाट पिल्लर हुँदै जगसम्म पुग्ने हो । यसमा मूख्य भूमिका भनेको पिल्लर र त्यसपछि बिमको हुन्छ ।

त्यसमा टाई बिम र कलमको जोर्नीहरु हो, त्यसमा क्र्याक छैन र चिरा परेको छैन अथवा चिरा परेको छ भने पनि हामीे धेरैजसोमा के गरेका छौं भने बहिरको प्लाष्टरलाई कोट्याएर हेर्‍यौं भने भित्रपट्टि केही भएको छैन, प्लाष्टर मात्रै चर्किएको हो भने भित्रको बिम र कलमको जोर्नीमा चिरा परेको छैन भने डराउनुपर्दैन ।

माथिपट्टीको स्ल्याबभन्दा मुनिको बिम र कलमको जङ्सनमा पनि पिलरमा र बिममा नै आएको हो कि प्लाष्टरमात्रै आएको हो, प्लाष्टर मात्रै चर्किएको र भित्र क्र्याक भएको छैन भने कुनै एउटा/दुईवटा पिल्लरमा सामान्यखालको बिम र कलमको जङ्सन बिगि्रएको छ भने तिनीहरुको भागमा सपोर्ट दिएर अरु भाग प्रयोग गर्न सक्छौं ।

घरमा जस्तो १२ वटा पिलर छन्, ६/७ वटा पिलरको बिम र कलमको जङ्सनमा बिग्रिसकेको छ र गारोहरु पनि धेरै फाटिसकेको छ भने त्यस्तो ठाउँमा बस्न उपयुक्त हुँदैन ।

गाउँमा माटो ढुंगाले बनेका घरहरुमा बस्न हुने-नहुने इञ्जिनियरले हेरिरहनु पर्दैन होला होइन ?

गाउँका घरहरुमा धेरैजसो ९० प्रतिशत भन्दा धेरै ढुंगा माटो र ढुंगा इँटाको बनेको छ । यसमा पनि कोल्याप्स नै भइसकेको छ भने त बस्न सक्ने कुरा नै भएन ।

अर्को कुरा, गाउँका घरहरु बनाउँदा ढुंगाको घर छ भने सामान्यतः हाम्रो प्राक्टिस के छ भने बाहिर र भित्र ढुंगा राख्यो र बीचमा ढुंगाहरुलाई क्रस गरेर राखेको कमै हुन्छ । भित्र-बाहिर गाह्रो लगायो, ढुंगा राख्यो, बीचमा साना-साना ढुंगाका टुक्रा राखेर भर्ने चलन हुन्छ, त्यस्तोमा फाटेर निस्किसकेको हुन्छ । त्योचाँही राम्रोसँग ख्याल गर्नुपर्ने हुन्छ । क्र्याक भइसकेको गारो छ भने त बस्न भएन ।

तर, पुराना घरमा हेर्‍यो भने गाह्रोका बीचमा काठहरु राखेको हुन्छ । हरेक दुई तीन फिटमा काठहरु राखेर टाइ गरिराखेको हुन्छ । त्यस्तो ठाउँमा गारो पल्टिँदैमा काठको टाई बाँध्ने सिष्टम इन्ट्याक्ट छ भने डराउनुपर्ने अवस्था रहँदैन ।

तर, अहिले पछिल्लो समयमा हाम्रा घरहरुमा त्यस्तो खालको सिष्टम छैन । घरहरु चिरिएका छन् भने त त्यस्तो घरहरुमा बस्न भएन ।

गाउँमा नयाँ बनेका घरहरु भन्दा पहिलेका डकर्मी, सिकर्मीहरुले बनाएको संरचना बलियो रहेछ होइन ?

पहिला त ९० साल वा त्योभन्दा पहिलाको भूकम्पबाट हाम्रा पूर्खाहरुले पक्कै पनि केही पाठ सिकेको हुनुपर्छ । हाम्रा गाउँहरुमा पनि माथिपट्टि पनि काठको सत्तरी वा दलीनहरु राखेको हुन्छ, त्योभन्दा तल काठले पूरै ब्याण्ड गरेको हुन्छ । त्यस्तो खालको सिष्टम छ भने भत्किँदैन ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment