Comments Add Comment

टेकोको भरमा गोरखनाथ र मनकामना मन्दिर

१ जेठ, गोरखाबजार । हालैको भूकम्पले क्षतिग्रस्त बनाएको गोरखाको गोरखनाथ गुफा र मनकामना मन्दिरलाई टेको लगाएर अड्याइएको छ ।

भूकम्पले जीर्ण भएको मनकामना मन्दिरमा लगाइएको काठको टेको
भूकम्पले जीर्ण भएको मनकामना मन्दिरमा लगाइएको काठको टेको

गत वैशाख १२ गते गएको भूकम्पले गोरखा दरबारस्थित गोरखनाथ गुफालाई तीन इन्च ढल्काएको छ । त्यस्तै भूकम्पले मनकामना मन्दिरलाई १२ इन्च दक्षिण पश्चिम ढल्काएपछि काठको टेको लगाइएको हो ।

यसअघि १९९० र २०४५ सालको भूकम्पमा गोरखनाथ मन्दिर ढल्केको थिएन । मनकामना मन्दिर भूकम्पअघि छ इन्च ढल्केको थियो ।

‘टेको लगाएर गोरखनाथ गुफामा पूजाअर्चना गरेका छौँ,’ गुफाका मुख्य पुजारी प्रदीपनाथ योगीले भने, ‘काठको छ वटा टेकोको भरमा गुफा अडेको छ ।’

भूकम्पले गोरखनाथ गुफाको भुइँ, छानो र चारैतर्फको गाह्रो क्षतिग्रस्त भएको छ । बाँकी रहेको गाह्रो ढल्न नदिन टेको लगाइएको योगीले बताए । ‘गुफाको संरचना ध्वस्तै भयो,’ उनले भने, ‘पुनःनिर्माण कहिले कसले गर्ने ?’

जगैदेखि गुफाको पुनःनिर्माण गर्नुपर्ने अवस्था प्राविधिक टोलीले देखाएको योगीको भनाइ छ ।

मनकामनामा बाहिरैबाट नियमित पूजा

मनकामना मन्दिरलाई पनि काठको टेको लगाइएको छ । वैशाख २१ गतेदेखि जीर्णोद्धार सुरु गर्ने तयारी भएपछि भूकम्पपछि मन्दिरको माथिल्लो भागको इँटा झरेपछि तत्कालका लागि जीर्णोद्धार प्रक्रिया रोकिएको छ ।

‘मन्दिर एक फुट ढल्कियो,’ पुजारी इन्सान थापाले भने, ‘बाहिरैबाट नियमित पूजा गरेका छौँ ।’ पराकम्पहरु गइरहेको भन्दै उनले मन्दिरभित्र पसेर पूजा गर्न नसकिएको बताउए ।

मन्दिरलाई जोगाउन चारैतिरबाट बाँसको टेको पनि लगाइएको छ । बलिया थामहरुमा अडेस लगाएर टेको लगाइएको मन्दिर जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले बताए ।

‘मन्दिर भत्कन दिनुहुँदैन भनेर हामीले टेको लगाएका हौँ,’ उनले भने, ‘माथिल्लो भागको इँटा झिक्ने कोसिस गरे पनि सकिएन ।’ पराकम्पहरु नरोकिएसम्म मन्दिर जीर्णोद्धार गर्न नसकिने उनको भनाइ छ । मनकामना मन्दिर पनि जगैदेखि पुनःनिर्माण गर्नुपर्ने पुरातत्व विभागका कर्मचारीहरुले जनाएका छन् ।

गोरखनाथ र मनकामना मन्दिर दर्शनका लागि दिनहुँ दशौँ हजार धर्मावलम्बी गोरखा प्रवेश गर्थे । विनाशकारी भूकम्पपछि गोरखा दरबारस्थित गोरखनाथ गुफा र मनकामना मन्दिर क्षेत्रमा चहलपहल घटेको छ । त्यस क्षेत्रमा व्यापार पनि घटेको बताइएको छ ।

भक्तजनलाई पूजा अर्चनामा रोक

गोरखाको स्थानीय प्रशासनले गोरखनाथ गुफा र मनकामना मन्दिरभित्र गएर पूजाअर्चना नगर्न आग्रह गरेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी उद्धव तिमिल्सेनाले पराकम्पहरु गइरहेको जनाउँदै भत्किएर धराप भएका मन्दिरभित्र पसेर पूर्जाअर्चना नगर्न पूजारीहरु र धर्मावलम्बीहरुलाई आग्रह गरेका छन्। 

गोरखा दरबार हेरचाह अड्डाले नियमित पूजाअर्चनाबाहेक भक्तजनलाई पूजा अर्चनामा रोक लगाएको छ । सार्वजनिक सूचना टाँसेर भूकम्पले गर्दा पूजाअर्चना सुचारु गर्न नसकिएको हेरचाह अड्डाका प्रमुख गणेश भट्टराईले बताए ।

गोरखनाथ र मनकामना दर्शनका लागि नेपालका विभिन्न जिल्लाका साथै भारतलगायत देशका मानिस पनि आउने गर्थे । मनकामना मन्दिर क्षेत्रमा चहलपहल घटेसँगै केवलकार चढ्ने यात्रुको सङ्ख्या पनि घट्दो छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment