पुष्प दुलाल
१ जेठ, काठमाडौं । भूकम्पले घरजग्गा व्यवसायमा १५ अर्ब रुपैयाँ बराबरको क्षति भएको नेपाल घरजग्गा व्यवसायी संघले जनाएको छ । संघले तीन दिन अघि राष्ट्र बैंकलाई बुझाएको प्रारम्भिक प्रतिवेदनमा १५ अर्ब रुपैयाँ क्षति भएको उल्लेख छ ।
वैशाख १२ गते भूकम्प आएपछि राष्ट्र बैंकले बैंक वित्तीय संस्था र व्यवसायीहरुलाई क्षतिको विवरण यथासक्दो चाँडो दिन निर्देशन दिएको थियो ।
घरजग्गा व्यवसायीले प्रारम्भिक प्रतिवेदन बुझाए पनि अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले क्षतिको विवरण नबुझाएको राष्ट्र बैंकका प्रवक्ता डा. मीनबहादुर श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।
‘घरजग्गा व्यवसायी संघले १५ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान प्रतिवेदन बुझाएको छ’ श्रेष्ठले भने- ‘यसमा हामीले कुनै अध्ययन गरेका छैनौं । त्यसैले, त्यसैले, यथार्थमा यो तथ्यांक तलमाथि हुन सक्छ ।’
घरजग्गा व्यवसायमा भएको १५ अर्ब रुपैयाँको क्षतिमध्ये ६० प्रतिशत बैंकबाट ऋण लिएका आयोजना र ४० प्रतिशत मात्रै व्यवसायीको आफ्नो लगानी क्षति भएको उल्लेख छ ।
बैंकको लगानी १ खर्ब ७० अर्ब
०७१ फागुन मसान्तसम्ममा घरजग्गा क्षेत्रमा बैंकहरुले १ खर्ब ७० अर्ब रुपैयाँ लगानी गरको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार जग्गा तथा व्यावसायिक भवन -अपार्टमेन्ट तथा सपिङ मल)मा बैंकहरुले ५४ अर्ब रुपैयाँ र आवासीय घरमा १ खर्ब १६ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् ।
पाँच खर्ब लगानी धरापमा
घरजग्गा क्षेत्रमा करिब पाँच खर्ब लगानी भएको व्यवसायीहरुले दाबी गर्दै आएका छन् । जसअनुसार भूकम्पका कारण तत्काल यो क्षेत्रले गति नलिँदा पाँच खर्ब लगानी जोखिममा पर्नसक्ने देखिएको छ ।
अब के होला ?
विश्व आर्थिक मन्दीको प्रभावसँगै ०६६ सालमा राष्ट्र बैंकले बैंकहरुलाई घरजग्गा क्षेत्रमा कर्जा प्रवाहमा कडाइ गरेपछि यो व्यवसायमा मन्दी आएको थियो । ०७० देखि केही सुधार भएको घरजग्गा व्यवसाय भूकम्पका कारण फेरि एकपटक थला पर्ने जानकारहरु बताउँछन् ।
सरकार र सर्वसाधारणको अबको लगानी पुनःनिर्माणमा खर्च हुने भएकाले यो व्यवसायमा मन्दी आउने आँकलन गरिएको छ ।
यो पनि पढ्नुहोस्
भूकम्पले थला पर्यो हाउजिङ र रियलस्टेट
प्रतिक्रिया 4