Comments Add Comment

माओवादी नेताले भूकम्प प्रभावित क्षेत्रमा श्रम शिविर चलाउने

३ जेठ, काठमाडौं । माओवादी पार्टीहरुले भूकम्पको विपत्तीको मिलेर सामना गर्ने भएका छन् । एमाओवादी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा आइतबार विहान बसेको ५ माओवादी पार्टीको संयुक्त बैठकले राहत तथा पुनर्वास अभियान चलाउने र  मुख्य नेताहरु श्रम शिविरमा सहभागी हुने निर्णय गरेको हो ।

फाइल तस्वीर
फाइल तस्वीर

‘वर्षायामलाई ध्यान दिएर पीडितहरुका लागि संयुक्तरुपमा बास निर्माण गर्ने कुरा भएको छ,’ बैठकपछि क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले अनलाइनखबरसँग भने, ‘त्यसका लागि नेता, कार्यकर्ता र स्थानीय जनता परिचालित हुन्छन् ।’

उनले अति प्रभावित क्षेत्रहरुमा पार्टीका शीर्ष नेताहरु नै सहभागी हुने बताए । को नेता कहाँ जाने भन्ने निर्णय सोमबारको बैठकबाट टुंगो लाग्ने थापाले जानकारी दिए । थापाले भने, ‘मुख्य नेताहरु निश्चित अवधिको लागि श्रम शिविरमा सहभागी हुने कुरा छ ।’

माओवादीका जनवर्गीय संगठनहरुले हाल पनि भूकम्प प्रभावित क्षेत्रमा आश्रयस्थल निर्माण, स्वास्थ्य शिविर सन्चालन र राहत वितरण गर्दै आएका छन् ।

बैठकमा एमाओवादी अध्यक्ष प्रचण्ड, नेता बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी थिए । वैद्य माओवादीबाट अध्यक्ष मोहन वैद्य र उपाध्यक्ष सीपी गजुरेल सहभागी थिए । यस्तै मातृका यादव, मणि थापा, राम श्रीष लगायतका नेताहरु पनि सहभागी थिए ।

बैठकमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीलाई पनि बोलाइए पनि सो पार्टीका कोही पनि नेताहरु सहभागी भएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment