Comments Add Comment

भूकम्प पीडितलाई राधा माधव समिति र डिभाइन युथ क्लबको राहत

Shayama-Shaym-Dham

९ जेठ, काठमाडौं । राधा माधव समिति नेपाल र डिभाइन युथ क्लव नेपालले भूकम्प पीडितहरुलाई संयुक्तरूपमा राहत सामाग्री वितरण गरेका छन् ।

गत वैशाख १३ गतेदेखि २० गतेसम्म भूकम्पबाट अंगभंग भएका बिरामीहरूलाई दैनिकरूपमा भक्तपुर जिल्ला अस्पताल, मध्यपुर ठिमी अस्पताल, सिद्धि अस्पताल र वानेश्वरस्थित सिभिल अस्पतालका घाइतेहरुलाई पौष्टिकयुक्त दाल, चामल र तरकारी खुवाइएको छ । यो कार्यक्रमले ५ हजार विरामीलाई राहत पुगेको राधा माधव समिति नेपाल अन्तर्गतको डिभाइन युथ क्लबले जनाएको छ ।

यसैगरी वैशाख २० देखि वैशाख २६ गतेसम्म ललितपुरको बुङमती, खोकना र भक्तपुरको बालकोट, ठिमीका करिब ३ हजार भूकम्प पीडितहरूलाई चिउरा, चाउचाउ, बिस्कुट लगायतका सुख्खा खाजा वितरण गरिएको छ ।

यस्तै सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, बागलुङका २१ सय भूकम्पपीडित परिवारलाई त्रिपाल, कम्बल, झुल, तन्ना, चामल, दाल, नुन र सरसफाईंका निम्ति आवश्यक सामग्रीहरूको प्याकेट बनाएर वितरण गरिएको छ ।

भक्तपुरको आदर्श आजाद स्कुल छालिङ, ललितपुरको बुङमती र काठमाडौंको पशुपतिक्षेत्रका भूकम्प पीडितहरुलाई स्वास्थसम्बन्धी जनचेतना एवं जागरणमूलक कार्यक्रमहरू गरिएको छ ।

राहत वितरण कार्यको यो अभियानको पहिलो चरण आगामी आइतबार चितवनको विकटस्थानमा रहेका दुई सय घरपरिवारलाई वितरण गरी समापन गर्ने कार्यक्रम तय भएको छ ।

अखण्ड कीर्तन

राधा माधव समिति नेपाल र डिभाइन युथ क्लव नेपालले राहत वितरणका साथै भूकम्पमा परि दिवंगत भएकाहरूको चीरशान्ति र जीवितजनको कल्याणार्थ वैशाख १३ गतेदेखि निरन्तररूपमा श्यामा श्याम धाम ठिमीमा अखण्ड कीर्तन गर्दै आएको छ । यस अखण्ड कीर्तनमा सयौं साधकहरू सहभागि हुदै आएका छन् ।

नेपाली युवाहरूलाई समाजसेवा र भगवदसेवा तर्फ प्रवृत्त गराउने पुनित उद्देश्य लिई दुईवर्ष अघि स्वामी श्री हरिदासजीद्वारा राधा माधव समिति नेपाल -श्यामा श्याम धाम ठिमी) अन्तर्गत डिभाइन युथ क्लव नेपाल स्थापित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment