Comments Add Comment

भूकम्प प्रभावित १९ जिल्लाका ५४७ ठाउँमा पहिरो

१० जेठ, काठमाडौं । भूकम्प गएको एक महिना नबित्दै कालीगण्डकीमा भीषण पहिरो गयो । यस्तो पहिरोको जोखिम अरु कुन-कुन जिल्लामा होला ? विशेषज्ञहरुले ६ जिल्लालाई पहिरोको अति जोखिमपूर्ण सूचीमा राखेर स्थलगत अध्ययन थालेका छन् ।

मानवीय क्षतिका हिसाबले भूकम्प अति प्रभावित जिल्लाको संख्या १४ रहेको बताइए पनि पहिरोका कारण १९ जिल्ला जोखिमपूर्ण देखिएका छन् ।

पहिरोको जोखिममा परेका १९ जिल्लामध्ये ६ जिल्लालाई अति जोमिपूर्ण मानेर ५४ जना विशेषज्ञहरु स्थलगत अध्ययनमा खटिएका छन् । यस्ता अध्ययन टोली १८ वटा छन् ।

कुन जिल्लामा कति पहिरो ?

Land slide affected district map

ग्राफमा देखाइएका १९ जिल्लामध्ये गाढा रातो रंग भएका जिल्लाहरु बढी जोखिममा छन् भने कम गाढा रंगमा कम जोखिम छ ।

एकीकृत पर्वतीय विकासका लागि अन्तरराष्ट्रिय केन्द्र (इसिमोड) ले दिएको तथ्यांकअनुसार पहिरोको अति जोखिममा रहेका ६ जिल्लामा गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक र दोलखा छन् । थप १३ जिल्लामा भूकम्पका कारण पहिरो गएको छ ।

भूकम्पका कारण रसुवामा सबैभन्दा बढी पहिरो गएको छ । रसुवामा मात्रै १६० वटा पहिरो गएका छन् । त्यस्तै गोरखा जिल्लामा मात्रै भूकम्पका कारण १३५ सुख्खा पहिरो गइसकेका छन् ।

 धादिङमा ७७ ठाउँमा पहिरो गएको छ । मनाङमा ४२ ठाउँमा पहिरो लडेको छ । त्यस्तै नुवाकोटमा २३ र सिन्धुपाल्चोकमा ६२ ठाउँमा पहिरो गएको छ ।

मकवानपुर, ललितपुर, ओखलढुंगा र रामेछापमा दुई/दुई वटा पहिरो गएका छन् भने काभ्रे र सोलुखुम्बुमा एक/एक स्थानमा पहिरो लडेको इसिमोडको प्रारम्भिक विश्लेषण छ ।

भूकम्पका कारण म्याग्दीमा ३ वटा र मुस्ताङमा ५ पहिरो गएका छन् भने कास्कीमा ३, लमजुङमा ६, नवलपरासीमा ३ र चितवनमा २ वटा पहिरो गएका छन् ।

तर, अध्ययनपछि यो तथ्यांक परिमार्जन हुन सक्ने बताइएको छ । नेपाल खानी तथा भूगर्भ विभागको नेतृत्वमा अध्ययन टोली खटिएको छ भने इसिमोडले व्यवस्थापकीय काम गरेको छ ।

अध्ययनमा अमेरिकाको नासा, युएसजीएसका विशेषज्ञ, भारतको इस्रो, पाकिस्तानको सुपार्को, चीनको काओस, जापानको जाहा लगायतको सहयोग छ  । नासासहितका संस्थाले स्याटालाइट तस्वीरहरू उपलब्ध गराएका छन् ।

टोलीले के-के गर्छ ?

पहिरोको अध्ययन गर्न ६ जिल्लामा खटिएका टोलीहरुले कुन-कुन वस्तीहरु सार्नुपर्ने अवस्थामा छन् र कहाँ सार्नुपर्छ भन्ने प्रतिवेदन तयार पारेर सरकारलाई सुझाव दिने इसिमोडका विशेषज्ञ सम्जवाल बज्राचार्यले अनलाइनखबरलाई बताए ।

भूगर्भविद समेतको सहभागिता रहेको अध्ययन टोलीले एक सातामा फिल्ड अध्ययन गरिसकेपछि दोस्रो साताभित्र प्रतिवेदन तयार पार्ने कार्यसूची रहेको बज्राचार्यले बताए । विशेषज्ञको टोलीले पहिरोको जोखिममा रहेका स्थानहरुको नक्शा तयार पार्ने बज्राचार्यले बताए ।

भूकम्पले पहाडको जमीन हल्लाएको हुनाले भूकम्पमा पहिरो नगएको ठाउँमा पनि वर्षायाम लागेपछि जोखिम बढ्न सक्ने विज्ञले बताएका छन् ।

तर, मानव वस्तीलाई प्रभाव पार्न सक्ने र वस्ती विहीन दुबै ठाउँमा जाने पहिरोमध्ये मानव वस्तीलाई प्रभाव पार्ने ठाउँको पहिरोबारे सरकार गम्भीर हुनुपर्ने विज्ञको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment