Comments Add Comment

भूकम्प पीडितको तथ्याङ्क नभएको सरकार

गोपाल दाहाल

वैशाख १२ को भूकम्प र त्यसपछिका साना-ठूला पराकम्पनले आम नेपालीको दैनिक जनजीवन ध्वस्त बनाइदियो । यस्तो बेला आफुलाई जनताको वास्तविक अभिभावक दाबी गर्ने राजनीतिक दलहरुले सक्रियता देखाउन सकेनन् । ठूलो भूकम्पको एक महिना पुगेको यो बेला सञ्चार माध्यमहरुमा रंगीचंगी हेल्मेट पहिरिएर हातमा बेल्चा, कोदालो, ह्याम्मर बोकेका ठूला राजनीतिक दलका नेताहरुको फोटो सेसन देख्न थालिएको छ ।

Gopal-Dahalवैदेशिक रोजगारीका क्रममा काम गर्न सुरुङमुनि पस्न लागेका मजदुरजस्तो लाग्ने ‘गेटअप’ मा मुस्कुराइरहेका उनीहरु भूकम्प पीडितको उद्धारमा जान लागे जस्ता देखिन्छन् । भूकम्प लगत्तै यि नेताहरु यसरी नै जुटेर उद्धारमा खटिएका भए कतिको ज्यान बच्थ्यो, कति घाइतेले समयमै उपचार पाउँथे ?

भूकम्पको एक महिना वितेको समयमा यी नेताहरु पीडितलाई उचित राहत र बासस्थानका लागि जुट्नु पर्नेमा आफ्नै टाउको जोगाउँदै हेलमेट लगाएर बस्तीमा पुगेका छन् ।

अझैसम्म भूकम्पबाट पीडितको सही तथ्याङ्क सरकारसँग छैन । भूकम्पपछिको गतिविधिले सरकार सिंहदरबारभित्र मात्रै केन्दि्रत रहेछ भन्ने प्रष्ट बनायो ।

सरकार अलमलमा परेको बेला राजनीतिक दलहरुले सक्रियता देखाउनु पर्ने हो तर उनीहरु नै कता लुके कता । अरुबेला ‘देश बनाउने’ गफ दिने राजनीतिक दलहरु कति छन् देशमा सबैलाई थाहा छ ।

भूकम्प पीडितको जनआक्रोशले थिचिएर घाइते बनेका राजनीतिक दलहरु ठूलो टक्टक्याउँदै उठ्ने प्रयास गर्दै छन् । तर, जनताको मन जित्न उनीहरुका लागि आगामी दिनमा त्यति सहज छैन ।

सानो निउँमा चक्काजाम गर्नुपर्‍यो भने राजनीतिक दलहरुले दश मिनेटभित्र आफ्ना युवा संगठन सडकमा उतार्थे । कुनै ठाउँमा तोडफोड गर्नु पर्‍यो वा भनेजति चन्दा नदिए थर्काउनु पर्‍यो भने तुरुन्त लाठी मुङ्ग्रीसहित हाजिर हुने त्यस्ता युवा संगठन भूकम्प लगत्तै उद्धार कार्यमा देखिएनन् ।

अबको बाटो

चुनावका बेला भोट माग्दै गाउँका कुनाकुना पुग्ने राजनीतिक दल र तिनका भातृ संगठनले भूकम्पका बेला जनताको पीडामा मल्हम लगाउन नसकेको भन्दै चौतर्फी विरोध भए पनि यतिबेला दलका नेताहरु हेल्मेट लगाएर प्रभावित क्षेत्र छिरेका छन् । त्यसअघि केही राजनीतिक दलका भातृ संगठनपनि राहत वितरण गर्न र पीडितका घर बनाउन पुगेका छन् ।

ढिलैभए पनि नेताहरु आइपुग्दा पीडितहरुलाई राहत महसुस हुन्छ ।

अहिले पनि कतिपय प्रभावित वस्तीहरुका राहत पुग्न सकेको छैन । सुगम ठाउँमा राहतै राहत, दुर्गममा एकमहिनासम्म पुगेको छैन राहत । राहतमा पनि राजनीतिको गन्ध आइरहेको छ । यस्तोबेला सबैको पीडा उस्तै हुन्छ तर दलहरु आफ्ना समर्थकलाई पहिला राहत पुर्‍याउन लालायित भएका खबरहरु आइरहेका छन् ।

यस्तो बेला जुनसुकै दलको मान्छे होस, जुनसुकै क्षेत्रको मान्छे होस् राजनीतिक दलहरुले सबै पीडितलाई एउटै नजरले हेर्नुपर्छ । भूकम्प लगत्तै उद्धारका लागि पुग्न नसकेकोमा प्रायश्चित गर्दै अबका दिनमा उनीहरुलाई मन, वचन र कर्मले सहयोग गर्न सकेमात्र भूकम्पले घाइते बनाएको राजनीतिलाई पहिलाको ठाउँमा ल्याउन सकिन्छ ।

नेताहरुको व्यक्तिगत र दलगत छवि सुधार्न ढिलै भए पनि अझै अवसर छ । घाइते राजनीतिलाई स्वस्थ्य बनाउने कि यस्तै हालतमा छाड्ने अब नेताहरुकै हातमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment