भाषाशास्त्रीबीच बडो गज्जबको बहस सुनियो । पृथ्वीकम्पन हुनुलाई ‘भूकम्प आयो’ भन्नु ठीक कि ‘भूकम्प गयो’ भन्नु ठीक ? उहिल्यै केटाकेटीमा हामी यस्ता थुप्रै रोचक छलफल गर्थ्यौं । ‘भात पकाउनु’ भन्नु ठीक कि ‘चामल पकाउनु’ भन्नु ठीक ? चामल पकाउँदा भात बन्छ, भात पकाएर के बन्छ ? तोरी पेल्ने कि तेल पेल्ने ? तोरी पेले तेल बन्छ, तेल पेले के बन्छ ? तर, पनि मान्छेहरु चामल पकाउनु वा तोरी पेल्नु भन्दैनन् । भात पकाउनु र तेल पेल्नु नै भन्छन् ।
हाम्रो नेतृत्व वर्ग र वृत्तका लागि भने भूकम्प आयो पनि, भूकम्प गयो पनि । भूकम्प आउँदै गर्दा, आफ्नै जीवन, परिवार र आफन्तहरुको ज्यानकै खतराको अनुभूति हुँदा, अलि ठूला पराकम्पहरु जारी रहँदा, पराकम्पनको अवधिमा सडक वा चौरमा पालमा दुईचार रात सुत्नु पर्दा सबैले निक्कै ठूलो आत्मवोध गरेका थिए ।
सबैको हृदयमा एक किसिमको वैराग्य थियो । देश बनाउन नसकेको, राज्य कमजोर भएको, त्यसो हुनुमा आफ्नो पनि नैतिक उत्तरदायित्व र जिम्मेवारीको हिस्सा भएको स्वीकार गरेका थिए धेरैले । अबचाहिँ साँच्चै देश बनाउन सहयोग गर्ने बताएका थिए । सबै एक जुट भएर देश बनाउन लाग्नुपर्ने, त्यसका लागि राष्ट्रिय सरकार बनाउनेसम्मका कुरा भए ।
साँच्चै भूकम्पले सदवुद्धि दिएको हो, सबैको बुद्धि फिरेको हो, राष्ट्रिय सरकारकै अभ्यासको प्रारम्भ हो भने गगनकुमार थापा वा रविन्द्र अधिकारीलाई प्रधामन्त्री मान्न तयार भएर देखाउँ, अनि पत्याउँला
विस्तारै पराकम्पहरु कमजोर हुँदै गए । सबै आत्मवोधहरु सिथिल हुन थाले । हुन त अहिले नै निष्कर्षमा पुग्नु अलि हतारोजस्तो हुन सक्छ । तर, पराकम्पहरु नसकिँदै भूकम्प गएजतिकै हुँदैछ । हामी पुरानै संस्कृति र कार्यशैलीमा फर्किँदैछौं । लाग्छ, हामी सबै छेपारा हौं । क्षण क्षणमा रंग बदल्छौं । छेपारोको कथाको पात्र छेपारो आफैं बन्दैछौं ।
राज्यप्रति किन अविश्वास ?
भूकम्पले धेरै धनजनको क्षति गर्यो । साथसाथै धेरै अकल्पनीय रहस्यहरुलाई सतहमा पनि ल्यायो । नेपाल राज्यको राष्ट्रिय, अन्तरराष्ट्रि्रय विश्वसनीयता यति कमजोर भइसकेको छ भन्ने कहिल्यै उजागर भएको थिएन । प्रधानमन्त्री राहत कोषमा दुई/चार लाखको चेक हस्तान्तरण गर्न पनि मानिसहरु हिच्किचाए । सरकारले महजोडी, राजेश हमाल, क्रिकेटर पारस खड्काजस्ता सेलीब्रेटीलाई सफाइ दिँदै र हारगुहार गर्दै हिँड्नुपर्यो । जनताबाट निर्वाचित भनिएका, देश विदेश खाएर खल्ली भएका भनिएका राजनीतिक सेलिब्रेटीहरु महिनौं दिनसम्म आफ्नो प्रतिरक्षा गर्दैमा सीमित भए ।

राज्यलाई यतिधेरै अविश्वास किन गरियो ? जब कि राज्यभन्दा शक्तिशाली संगठन कुनै देशमा अरु हुँदैन ।
कतिपय मान्छे भन्छन्, फिल्डमा सेना देखियो, पुलिस देखियो, सरकार देखिएन भन्नुमा असंगति छ । सेना पुलिस त सधैं फिल्डमै हुन्छ । चाहे त्यो राणा, शाह र पञ्चायती शासनमा नै किन नहोस् । सरकारको अनुपस्थितिको अर्थ मुख्यतः यही अविश्वसनीयता हो । समन्वय र ‘पोलिसी डिल’ नभएको देखिनु हो ।जबसम्म राजनीतिक सरकारले आफूलाई प्रष्ट गर्दैन, स्थायी सरकारले मार्गदर्शन प्राप्त गर्न सक्दैन ।
चौरासीको पूजा लगाउने उमेरका सुशील कोइराला ज्यावल बोकेर भूकम्पको टाउकोमा हिर्काउन कुनै महावलीझैं देखिउन् भन्ने कसैको अपेक्षा थिएन । सुशील कोइराला जो सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टीका, सबैभन्दा शक्तिशाली ‘लोकतान्त्रिक घराना’ का सर्वाधिक कमजोर ‘लिगेसी’ हुन् । अविश्वासको छायाँ त्यही मात्र थिएन, हाम्रा यावत कर्महरुको सञ्चितीका रुपमा अविश्वास यति चरम विन्दूमा पुगेको थियो ।
राष्ट्रिय सरकारः
ज-जसले राष्ट्रिय सरकारको नारा लगाए, वस्तुतः उनीहरुले निक्कै ‘सुकिलो स्वर’ प्रयोग गरेका थिए । तर, सबै सुकिलो पोशाकभित्रका शरीरहरु नुहाएकै हुन्छन् भन्ने छैन । भूकम्पको निहुँ सत्ताको व्यापार गर्ने उपयुक्त अवसर हो भन्ने कुरा सुकिलोभित्र लुकेको फोहोरी यथार्थ थियो ।
कोइरालाका ठाउँमा ओलीको अवतरण कुनै राष्ट्रिय सरकार हुँदैन, त्यो पुरानो संसदीय विकृतिको युगको पुनरावृत्ति मात्र हुन्छ
नभन्दै आज त्यो उजागर भएको छ । प्रचण्डपथ र ओलीपन्थ बीचको जन्मजात शत्रुताको अन्त्य हुने छाँट देखिँदैछ । तर, सबैले बुझेका छन् कि यो कुनै राष्ट्रिय चिन्तन हैन, राजनीतिको सस्तो व्यापार मात्र हो ।
साँच्चै भूकम्पले सदवुद्धि दिएको हो, सबैको बुद्धि फिरेको हो, राष्ट्रिय सरकारकै अभ्यासको प्रारम्भ हो भने गगनकुमार थापा वा रविन्द्र अधिकारीलाई प्रधामन्त्री मान्न तयार भएर देखाउँ, अनि पत्याउँला ।
यूरोप अमेरिकको बितेका करिब ५० वर्षको इतिहास हेर्ने हो भने सजिलै देखिन्छ, असल र असरदार शासक केही अपवादलाई छोडेर ३५-५५ को उमेर समूहबाट मात्र जन्मिन सक्छन् ।
कोइरालाका ठाउँमा ओलीको अवतरण कुनै राष्ट्रिय सरकार हुँदैन, त्यो पुरानो संसदीय विकृतिको युगको पुनरावृत्ति मात्र हुन्छ । आफैं त उत्तानो परेका महादेवसँग भोगइच्छा समाप्त नभएको कुनै जोगी रुपवती पार्वती माग्न आएजस्तो मात्र हुन्छ ।
कमरेड ओली कांग्रेसका लागि सजिलै स्वीकार्य हुँदैनन् । संसदीय विकृतिको राजनीतिमा कुनै पनि देशको पहिलो पार्टीले दोस्रो र तेस्रो पार्टीको कामेच्छालाई सजिलै वैधानिकता दिन सक्दैन ।
उनका अरु धेरै समकालीन राजनीतिज्ञहरुले झै जीवनमा एकपटक प्रधानमन्त्रीको पालो पुर्याउने, सिंहदरबारमा फोटो टाँस्ने र राजनीतिक जीवन धन्य भएको आत्मतुष्टि गर्ने कमरेड ओलीको अदम्य धोकोलाई भने खुइलिँदै गएको रंगको भए पनि लालसलाम भन्न सकिन्छ ।
खोइ नयाँ संकल्प ?
यदि हामी देशप्रति इमान्दार छौं भने यतिखेर एउटा नयाँ राष्ट्रिय संकल्प गर्ने बेला हो । त्यो संकल्प शब्दमा व्यक्त भएर हुँदैन । त्यो संकल्प कार्यव्यवहार र कार्यशैलीमै अभिव्यक्त हुनुपर्छ । अहिलेसम्मका क्रियाकलापले त्यसको पुष्टि गरिरहेका छैनन् ।
प्रतिक्रिया 4