Comments Add Comment

यस्तो छ म्याग्दीमा पहिरोको नालीबेली

Diwakar-paudelदिवाकर पौडेल, प्रमुख-जिल्ला भूसंरक्षण कार्यालय म्याग्दी

नेपालको मानचित्रमा म्याग्दी जिल्ला पश्चिमाञ्चल विकास क्षेत्रको धौलागिरी अञ्चलमा पर्ने विकट पहाडी जिल्ला हो । यस जिल्लाको भूगोलको भिरालोपनालाई आँकलन गर्दा ६१ प्रतिशत भूभाग ६० डिग्रीभन्दा बढी भिरालोपनायुक्त र केवल ३६ प्रतिशत भूभाग १-६० डिग्री भिरालोपना भएको र केवल ३ प्रतिशत समथर भूभाग रहेको छ ।

जिल्लाको भूबनोट

क्षेत्रफलका हिसाबले २ हजार २ सय ९७ दशमलव ६ वर्ग कि.मीं ओगटेको यस जिल्लाको जलाधारीय अवस्थाका दृष्टिले यो जिल्ला सीमान्तको वर्गीकरणमा पर्छ । यहाँको भूबनोट धेरै भिरालो छ र महाभारत पर्वत श्रृंखलामा पर्ने भएको हुनाले र अरु देशको तुलनामा नेपालको भूस्वरुप नयाँ हुनुका साथै अस्थिर प्रकारको छ ।

छोटो समयमा हुने अधीक मनसुनी बर्षा, भूकम्पीय कम्पन तथा भौगर्भिक हलचलले गर्दा यहाँको जमीन तथा भिराला पहाडहरु चर्किने, भास्सिने र पहिरो रुपमा खस्ने गर्दछ । त्यस्तै यो जिल्लाका नदी प्रणाली वा जलाधार क्षेत्रको रुपमा म्याग्दी खोला, कालीगण्डकी र रघुगंगा गरी ३ वटा मुख्य रहेका छन्, जसले जिल्लाको क्रमशः ५५ प्रतिशत, ३० प्रतिशत र १३ प्रतिशत जलाधार क्षेत्र ओगटेका छन् ।

नदीहरुको बहाव क्षेत्रमा कमजोर र कमलो बनोट युक्त जमीन भएको कारणले यी नदीहरु अत्यधीक गहिरिएर बगेका छन् । यिनै गहिरिएर बगेका नदीहरुको जलाधार र तटीय क्षेत्रमा अवस्थित गाउँबस्ती, बजार र खेतीयोग्य जमिन सुरक्षित छैनन् । यिनै बस्तुगत तथ्यका आधारमा प्राकृतिक एवं भौगर्भिक हिसाबले यो जिल्लामा भूक्षय, पहिरो तथा नदी कटानी र बाढीका समस्याहरु स्वभाविक रुपमा आइरहन्छन् ।

भूक्षयको राष्ट्रिय आँकडालाई आधार मानेर हिसाब गर्दा मात्रै पनि म्याग्दी जिल्लाबाट बर्षेनी ३७ लाख ४५ हजार ६ सय ९० घनमीटर माटो भूक्षय भई यहाँका नदीखोलाहरु हुँदै बगेर खेर गइरहेको छ । ३० डिग्रीभन्दा बढी भिरालो जमीनमा गह्रा नबनाई खेतीपाती गर्ने गरिएको हुँदा त्यस्ता ठाउँहरुमा भूक्षय, पहिरो जाने सम्भावना बढी देखिन्छ ।

यहाँको कुल क्षेत्रफलको ७० प्रतिशत जमीनमा साना र बाँकी ३० प्रतिशत जमीनमा ठूला भूक्षय र पहिरोका समस्या आउन सक्ने देखिन्छ ।

जिल्ला भूसंरक्षण कार्यालय म्याग्दीले आ.व. ०६८/०६९ मा भौगोलिक सूचना प्रणाली प्रयोग गरी तयार गरिएको म्याग्दी जिल्लाको पहिरो सम्बन्धी अध्ययन रिपोर्ट अनुसार जिल्लाका साविकका ४१ गा.वि.स. मध्ये ३८ गा.वि.स. पहिरोलेे प्रभावित छन् ।

उक्त प्रतिवेदन अनुसार जिल्लाको करीब १ हजार ३४ दशमलव १ हेक्टर क्षेत्रफल पहिरोले ओगटेको छ । पहिरोको संख्याको हिसाबले मुदी, रुम, लुलाङ्ग गा.वि.स. क्रमशः पहिलो, दोश्रो र तेश्रो बढी प्रभावित गा.वि.स.मा पर्दछन् ।
पहिरोको लम्बाई, क्षेत्रफल र आयतनका आधारमा पहिरोले प्रभावित दश गा.वि.स. हरुमा क्रमशः गुर्जा, मुदी, लुलाङ्ग,वेगखोला, निस्कोट,पात्लेखेत,भूरुङ्ग तातोपानी, नारच्याङ्ग, कुइनेमंगले र पुलाचौर रहेका छन् । उक्त अध्ययन पछि पनि थप पहिरोहरु बग्ने क्रम बढेको छ जसअनुसार भकिम्ली, ओखरबोट, पाखापानी, दोवा, बरन्जा गा.वि.स.हरु पहिरोको चपेटामा परेका छन् । यसरी प्राकृतिक कारणबाट हुने पहिरोको अवस्था भयाबह छ ।

अर्कोतर्फ मानवजन्य कृयाकलाप खासगरी अनुपयुक्त भू-उपयोग, वन जंगल, जलश्रोत लगायतका प्राकृतिक श्रोतहरुको विनाश तथा कमजोर व्यवस्थापन, भूसंरक्षण एवं वातावरणीय पक्षलाई बेवास्ता गरी सञ्चालन गरिने विकास निर्माण कार्यहरु र जनचेतनाको कमीका कारण भएका अन्य मानवीय क्रियाकलापहरुका कारणले प्राकृतिक रुपमा हुने भूक्षयलाई बढाई भूक्षय, पैह्रो र बाढीको समस्यालाई झनै बढाएकोे छ ।

भूक्षयका कारण बर्सेनी खेतवारीको मलिलो माटो बगाई कृषियोग्य जमीनको उत्पादकत्वमा ह्रास ल्याएको छ भने पैह्रो र बाढीका कारण खेतीयोग्य जमीन र विकासका पूर्वाधारको बिनाश तथा जनधनको क्षति गरी आक्रान्त तुल्याएको छ ।

परापूर्वकालदेखि यहाँका मानव गाउँबस्ती, बजारहरु पनि प्रायः ठूला चट्टानयुक्त पहाडमाथि वा कतै अग्लो पहराको मुनितिर, कतै कुनै संरक्षण र सुरक्षाको उपाय नअपनाइएको नदी तथा खोलाका किनारहरुमा जोखिम मोलेरै बसेको देखिन्छ । यसले गर्दा पनि म्याग्दी जिल्लाका महत्वपूर्ण गाउँबस्ती, बजारहरु र जिल्ला सदरमुकाम बेनी समेत जोखिममा परेका छन् ।

त्यसैगरी विकासको गतिसंगै शुरु भएको डोजर, एक्साभेटर प्रयोग गरी विना डिजाइन जथाभावी ग्रामीण सडक खन्ने अभियानले गर्दा पनि भूक्षय, पहिरो र बाढीका समस्याहरु अत्यधीक रुपमा बढेका छन् । यसबाट समेत जनधनको क्षति हुन थालेको दृष्टान्तहरु तपाईं हाम्रा सामु जगजाहेर छ ।

विगतको त्रासदी

विगतमा पहिरोले पुर्‍याएको मानवीय तथा भौतिक क्षतिलाई हेर्ने हो भने पनि हाम्रो आङ सिरिङ्ग हुन्छ । उदाहरणका लागि वि.सं. ०४५ सालमा निस्कोट गा.वि.स.को छरछरेको पहिरो खस्दा १०९जनाको दुखद निधन भएको र म्याग्दी नदी समेत थुनिएर माथिल्लो र तल्लो तटीय क्षेत्रमा लाखौं करोडौंको भौतिक संरचनाहरुको विनास भएको थियो ।

त्यस्तैगरी भगवती वडा नं. २ बैसरीमा वि.सं. ०५२ सालमा राम्चेको पहाडबाट पहिरो खसेर ५ घरहरुमा क्षति पुगेको थियो भने ०५५ सालमा भुरुङ्गतातोपानीमा गएको पहिरोले कालीगण्डकी नदी ७ घण्टासम्म थुनिएर माथिल्लो र तल्लो तटीय क्षेत्रका बासिन्दाहरु त्रसित बन्नु परेको थियो । त्यसै गरी भकिम्ली वडा नं. ९ तोराखेतमा पहिरो गई १९ घरधुरी विस्थापित भएका थिए भने सोही गा.वि.स. वडा नं. ७ मा आ.व. २०६९।७० मा दुधे खोला मुसुङ डोले ग्रामीण सडक खन्दा फालिएको माटोबाट श्रृजित पहिरोले भकिम्ली ७ मा एक जोडी बृद्धबृद्धाहरुको अकालमा ज्यान गएको थियो ।

अहिले पनि यस जिल्लाका पात्लेखेत वडा नं. ३ र ४ मा रहेको बान्द्रेखाल्टी पहिरो, ओखरबोट ९को जुकेपानीको पहिरो, पाखापानी वडा नं. ९ रायखोरको पहिरो, बरञ्जा ३,४,५ को खर्सुपानीको पहिरो, अर्मन नेटाको पहिरो, कुइनेमंगले ५, चौरखानीको पहिरो, पुलाचौर चिप्लेटीको पहिरो, शिख वडा नं. १ घट्टे खोलाको पहिरो, झीं वडा नं. १-७ को घ्याङग्री खोलाको पहिरो, २०६९ साल श्रावण महिनामा गएको दोवा, भुरुङ्ग तातोपानी, घार गा.वि.स.हरुमा गएको पहिरोहरु र हालैको भूकम्पका कारण पहाड चर्केर गएको राम्चे वडा नं. ९ को काफल डाँडाको बिशाल पहिरोले विस्थापित भएका २७ समेत सयौ घरधुरीहरु विस्थापित भएका र भविष्यमा अरु विस्थापित हुन सक्ने अवस्था छ ।

राम्चेको पहिरोग्रस्त स्थलमा बेलैमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र जिल्ला भूसंरक्षण कार्यालयको प्रमुखको हैसियतले यस पङ्तिकार, पत्राकार र स्थानिय समेतको टोलीले स्थलगत निरीक्षण गरी तुरुन्तै बस्तीलाई स्थानान्तरण गर्ने सुझबुझपूर्ण निर्णय र सोको तत्काल कार्यान्वयन भएकोले पहिरोबाट कुनै मानवीय क्षति हुन पाएन र १६ घण्टासम्म थुनिएको कालीगण्डकीको बहावले पनि कुनै प्रकारको मानवीय क्षति भएन ।

तसर्थ अब सधैं जोखिम मोलेर नदी, खोलाका किनाराहरु, पहाडका खोंच, पहराको मुनि र पहिरोग्रस्त क्षेत्रको तल र माथितिर बसोवास गरेका बस्तीहरुलाई नेपाल सरकारको तर्फबाट दीर्घकालीन योजना बनाएर सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, सामान्य संरक्षणका उपायहरु अप्नाएर बस्न सकिने स्थानहरुमा नियमित संरक्षणका कार्यहरु गर्ने गरी यथोचित बजेटको व्यवस्था गर्नुपर्ने, संरक्षण बिरोधी मानवीय क्रियाकलापहरु जस्तैः जथाभावी डोजर लगाएर भिराला पहाडहरु अस्थिर बनाउने कार्यहरु तत्काल रोक्नुपर्ने, अव्यवस्थित र जथाभावी शहरीकरणलाई व्यवस्थित गराउनुपर्ने, नदी र खोलाहरुको व्यवस्थित तटबन्धन गरी व्यवस्थित बस्ती विकास गर्ने र हरियाली एवं संरक्षणमैत्री दिगो विकासको अवधारणालाई अनिवार्य रुपमा लागू गर्न जरुरी भैसकेको छ ।

विनाशकारी भूकम्पले भिराला पहाड र भीरहरु धाँजा फाटेको, चर्केको र विगतमा सक्रिय भएका ठूला पहिरोहरुमा समेत थप धाँजा फाट्ने र चर्कने भएको हुँदा बर्षादको अवधिमा ती जोखिमयुक्त स्थानहरुमा पहिरोजन्य जोखिम र विपत नआउला भन्न सकिँदैन ।

त्यसैले आगामी दिनमा सुरक्षित जीवन ज्युन सबैले उच्च सतर्कता अप्नाउन जरुरी छ । भविष्यमा आउन सक्ने विपदबाट बच्न जोखिमयुक्त स्थानमा बस्न बाध्य म्याग्देलीहरु, यहाँका सरकारी निकायहरु, राजनैतिक दलहरु, पत्राकार, शिक्षक, बुद्धिजीवी, उद्योगी, व्यापारी लगायत सबै वर्ग र समग्रमा नेपाल सरकार नै बढी सजग, सचेत र जनधनको क्षति नहुने उपायको खोजीमा लाग्न अपरिहार्य भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
दिवाकर पाैडेल

दिवाकर पौडेल, प्रमुख-जिल्ला भूसंरक्षण कार्यालय म्याग्दी नेपालको मानचित्रमा म्याग्दी जिल्ला पश्चिमाञ्चल विकास क्षेत्रको धौलागिरी अञ्चलमा पर्ने विकट पहाडी जिल्ला हो । यस जिल्लाको भूगोलको भिरालोपनालाई आँकलन गर्दा ६१ प्रतिशत भूभाग ६० डिग्रीभन्दा बढी भिरालोपनायुक्त र केवल ३६ प्रतिशत भूभाग १-६० डिग्री भिरालोपना भएको र केवल ३ प्रतिशत समथर भूभाग रहेको छ । जिल्लाको भूबनोट क्षेत्रफलका हिसाबले […]

ट्रेन्डिङ

Advertisment