Comments Add Comment

गजलका बारेमा दुई शब्द

विपुल सिजापति

गजल भन्नेबित्तिकै मलाई ती सबै महान् गजलकारहरुको सम्झना आउँछ, जसले आफ्नो पूरा जीवन नै गजल बुझ्नलाई गजलमा बिताइदिए । सायद ती महात्माहरुका आत्मा मेरो धृष्टता देखेर हाँस्दै होलान् भन्ने मलाई लागेकाले म सुरुमै आफ्नो कान समात्न चाहन्छु मेरो यो बेबकुफी र धृष्टताका लागि । गजलका बारेमा कसले के भने भन्दा पनि आफूले गजल के हो भनेर बुझेँ, मेरा लागि यो नै महत्वपूर्ण कुरा लाग्दछ ।

कस्तो अनौठो रोग यो पाल्छ “शशी” पनि
न कतै बिमारी देखियो या बिरामी ऊ

वास्तवमै गजल एक रोग हो, नसा हो, आदत हो, बहुलठ्ठीपन हो, प्रेम हो । गजलको अम्मली न त बिरामी देखिन्छ, न त उसमा कुनै बिमारी नै हुन्छ । जब गजलको अथाह गहिराइमा डुबुल्की लगाइन्छ, तब झनझन भित्र, अझ भित्र जाने बहुलठ्ठीपन गजलले जगाइदिँदोरहेछ । गजलको यही रोग, नसा, आदत, बहुलट्ठीपन या प्रेमको पानीमा जति आत्मीयता, स्वाद र तृप्तता छ, आत्मा साक्षी राखेर मैले भन्नुपर्दा त्यो सायद अन्य विधामा मैले कमै पाएको छु ।

पञ्च म (मीन, मास, मद, मैथुन र मुद्रा) को अलावा पनि मानिसलाई जीवनमा अन्य कुराको आवाश्यकता पर्छ । हृदय छ, हृदयमा संवेदना छ, सुखदुखका अनुभूति हुन्छन्, हर्ष पीडाले छुन्छन् । पीर, सन्ताप, दुख, दरिद्रता, आघात, बिछोड आदि आदि अनेकन् अनुभूतिहरुलाई आत्मसात गरेर पनि मानिस बाँच्दै आएको छ र उसलाई यसबाट उन्मुक्ति दिने साधन भनेको सुखद कल्पना नै हो । एकातिर तरबार अर्कोतिर प्रियसी, यता विरह उता रुप सौन्दर्यपान, कतै हृदयविदारक विछोड कतै सुखद मिलन, कहीँ अप्ठेरो जिजीविषा त कहीँ वन्धनमुक्त उल्लास, दायाँ मन्दिर मस्जिद बायाँ सुरा सुरालय ।

गजलमा अनेकौँ प्रयोग भए, अनेक वाद भित्रिए, अनेकन चर्चा परिचर्चाहरु भए तापनि गजलको मूल स्वरूप फेरिएको छैन, यसको आन्तरिक सौन्दर्य मासिएको छैन, यसको शक्ति क्षीण भएको छैन । किनभने गजल आन्तरिक संरचनामा वद्ध भएर भावनारहित विचारशून्य शब्दका जालझेल होइन, यो बुझ्नु अत्यन्त्य आवश्यक छ ।

दुई पाउका जादुमय हरफमा नीहित अर्थले वर्तमानलाई मात्र होइन, आगतलाई पनि सम्बोधन गरिरहेको हुन्छ, पाठकले आफ्नो बौद्धिक योग्यता र भावनाको तीब्रताले यसमा नयाँ अर्थ, नयाँ गुण खोज्दछन्, भेट्टाउँछन् र तृप्त हुन्छन् ।

ती दुई पाउ, जसमा गजलगोले आफ्नो सारा जीवन अध्ययनलाई निचोरेको हुन्छ, हृदयबाट नै झंकृत बिचारलाई शब्दमा उतार्छ र एक ठोस, चिन्तनपूर्ण, दूरगामी असरदार लाक्षणिक अर्थमय शेर बनाइदिन्छन् ।

गजल बिचार, सौन्र्दय, अवस्था, अनुभूति आदिलाई विशेष कोणबाट प्रस्तुत गर्ने विधा हो भन्ने मलाई लाग्दछ । गजलमा शाब्दिक अर्थ खोजिन्न, लाक्षणिक अर्थ खोजिन्छ, बक्रोक्तिलाई पछ्याइन्छ ।

त्यसैले गजल आँखालाई प्याला देख्छ, प्रेमलाई नसा ठान्छ, बादललाई पानी भन्छ, बिरहलाई आगो सम्झिन्छ र पूर्णशशीलाई पनि आन्तरिक सौन्दर्यभन्दा फिक्का भनिदिन्छ । गजलको प्राप्तिको सुखमा विश्वास गर्दैन अपितु बिरहको बलकमा मज्जा लिन्छ, चास्निमा डुबेर मर्दैन तर नयाँनयाँ फूलको सौन्दर्यमा मोहित, रसस्वादनको ईच्छुक भवँर जस्तै स्वच्छन्द हुन्छ, आवारा घुम्छ ।

गजल गीतिमय र विषयगत काव्यको पराकाष्ठा हो । गजलमा गजलमा पोखिने व्यक्तिगत मनोभावना र अनेकन व्याकुलतावीच सीमा निर्धारण गर्न कठिन हुन्छ । किनभने अन्य लिखित सिद्धान्त, बिचार र नियमहरुको जतिसुकै अध्ययन गरे पनि हरेक गजलगोको श्रृजनाको मूल आश्रयस्थल भनेको जीवनको स्वअध्ययन र कल्पनाशक्ति नै हो ।

गजलको जन्मको आधार, यसको विकासको स्थान, भाषा, परिवेश आदिको आधारमा गजललाई गम्भीर विधा मानियो पनि र यो बिशिष्ठ र सम्भ्रान्त परिवेशमा पनि हुकिर्यो र त्यही अनुरूप विकसित पनि भयो । त्यसैले गजललाई सम्भ्रान्तहरुको विधा पनि भनिन्छ । यसमा प्रयोग हुने उच्चआदरार्थी भाषा, शब्द, अदब र अभिधात्मक भन्दा लक्षणात्मक अर्थका कारणले गर्दा साधारण व्यक्तिहरूको रोजाइमा यो परेन, अपितु बौद्धिक र शेरसायरिका सौखिनहरुको माझमा मात्र यसले चर्चा र आश्रय पायो ।

वास्तवमै गजलका शेरहरुको रसस्वादन गर्न शाब्दिक अर्थको ज्ञान मात्र पर्याप्त छैन । शेरमा वृतात्मक अर्थ हुने हुँदा कतिपय शेरहरुलाई दोहराएर तेहराएर पढनुपर्छ । तब बल्ल शब्दहरूले बिस्तारै चित्रको रूप धारण गर्न थाल्दछन् ।

शेरमा विद्यमान गयात्मकताले शब्दहरूलाई जुधाएर झंकार निकाल्न थाल्दछन् र जब शाब्दिक अर्थभन्दा परको काब्यात्मक अर्थ बुझिन्छ तब हर्षको कुनै सीमा रहँदैन र मुखबाट आफसेआफ वाह ! निस्कन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment