Comments Add Comment

वाणिज्य बैंकमा कर्मचारी थपिँदैछन्, भनसुन चल्दैन

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले अपार्टमेन्ट लगायत रियल स्टेट व्यवसायमा लगानी नगरेका कारण भूकम्पबाट ठूलो आर्थिक मन्दी ब्यहोर्नुपरेन । यो सरकारी बैंक ०७१ चैत मसान्तको वित्तीय विवरणका आधारमा पहिलो नम्बरमा परेको छ ।

निकट भविष्यमै राष्ट्रिय वाणिज्य बैंकले सर्वसाधारणका लागि चुक्ता पुँजीको २५ प्रतिशत सेयर जारी गर्ने भएको छ । अागामी साता बैंकले सय ९५ कर्मचारी थप गर्न अावेदन माग्नेछ । तर, लोकसेवा अायोगका प्रतिनिधि सम्मिलित कमिटिले परीक्षा लिइने भएकाले भनसुनका आधारमा जागिर नपाइने भन्दै राम्रो पढेर प्रतिस्पर्धामा आउन प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माले इच्छुकहरुसँग आग्रह गरेका छन् ।

यस अवधिमा ४ अर्ब रुपैयाँ खुद नाफा कमाएको बैंकले भूकम्प पीडितको राहतका लागि २ करोड ५२ लाख रुपैयाँ राहतस्वरुप खर्च गरेको छ । जुन सञ्चालनमा रहेका बैंकहरु मध्ये सबैभन्दा धेरै हो । भूकम्प पीडितहरुलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने बैंकको तयारी छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शर्मासँग राष्ट्रिय वाणिज्य बैंकको विद्यमान अवस्था र भावी नीतिबारे अनलाइनखबरका लागि पुष्प दुलालले गरेको कुराकानीः
krishna prasad sharma-ceo
भूकम्पले वाणिज्य बैंकलाई कस्तो भौतिक र वित्तीय क्षति भयो ?

भूकम्पको क्षतिलाई हामीले दुई किसिमले हेरेका छौं । पहिलो प्रत्यक्षरुपमा बैंकका भवनहरुमा पुर्‍याएको क्षति, दोस्रो हामीले ऋण दिएका ग्राहकलाई भएको क्षति र उनीहरुबाट नियमित असूली हुन नसकेर बैंकलाई उत्पन्न हुने समस्या ।

सरसर्ती हेर्दा हाम्रा केही भवन तथा शाखाहरुमा मात्रै भूकम्पले एक करोड रुपैयाँ बढीको क्षति पुर्‍याएको छ भने यो बैंकबाट ऋण लिएका केही ग्राहकहरुको केही किस्ता अनियमित हुने देखिएको छ । तर, भूकम्पले बढी असर गरेका क्षेत्रहरु रियलस्टेट, सेयर र होटलमा हाम्रो बैंकको लगानी कम भएकाले भूकम्पले हामीलाई खासै ठूलो क्षति गरेन ।

विपन्न वर्गमा प्रवाह गरिएको कर्जामा पनि असर नपरेकै हो ?

भूकम्पले बढी प्रभाव पुर्‍याएका जिल्लाहरुमा हाम्रो बैंकको खासै धेरै बिपन्न वर्ग अन्तर्गतको कर्जा छैन । हामीले ऋण प्रवाह गरेका विपन्न वर्गका ग्राहकहरुको व्यापार व्यवसाय चौपट्ट भयो र ऋण तिर्न नसक्ने अवस्थामा पुगे भन्ने रिपोटिङ अहिलेसम्म आएको छैन । यद्यपि केही किस्ताहरु पर सार्नुपर्ने परिस्थिति देखिएको छ । हामी त्यस्ता ऋणीहरुको पहिचान गरिरहेका छौं ।

भूकम्पले धेरैको व्यवसाय चौपट्ट बनाएको छ, त्यसमध्ये कतिपय त तपाईकै बैंकका ग्राहक पनि होलान् । सरकारी बैंक भएकाले वाणिज्य बैंकप्रति सर्वसाधारणको ठूलो अपेक्षा पनि छ । व्यवसाय चौपट्ट भएकाहरुलाई सरल ब्याजदरमा ऋण दिएर माथि उकास्ने कुनै योजना छ कि छैन ?

भूकम्पले धेरैको व्यवसाय ध्वस्त बनाएको छ भने कतिपयको आम्दानी घटाएको छ । यो दुबै अवस्थामा हामीले केही सहयोग गर्नैपर्छ । तर, हामी अहिले राष्ट्र बैंक र सरकारबाट पुननिर्माणका सन्दर्भमा केही नीति आउँछ कि भन्ने अपेक्षा गरेर बसिरहेका छौं । उहाँहरुले प्रष्ट नीतिगत व्यवस्था गरेपछि मात्रै हामी आन्तरिक नीति बनाएर त्यस्ता पीडितलाई राहत हुने योजनाहरु ल्याउँछौं ।

राष्ट्र बैंकले भूकम्पले घरबारविहीन भएकाहरुलाई २ प्रतिशत ब्याजदरमै ऋण उपलब्ध गराउने व्यवस्था गरेअनुसार ऋण उपलब्ध गराउँछौं । राष्ट्र बैंकले पुनकर्जा उपलब्ध गराउने सहुलियत दरको ऋण लिन योग्यता नपुगेकाहरुलाई हामी छुट्टै कर्जा योजना बनाएर सरल व्याजदरमा ऋण उपलब्ध गराउने योजना पनि बनाइरहेका छौं ।

कुनै व्यक्तिको दुई वा तीनवटा घर भत्किएका छन् । राष्ट्र बैंकले भनेको २ प्रतिशत व्याजदरको ऋण एउटा घरका लागि मात्रै उपलब्ध हुन्छ । यस्तो अवस्थामा यो बैंकले ती पीडितहरुलाई सस्तो ब्याजदरमा बाँकी घर बनाउन ऋण उपलब्ध दिनेछौं । अहिले सामान्यतया घर कर्जाको ब्याजदर ८ प्रतिशत छ, यो ब्याज दरलाई हामी केही कम गर्न सक्छौं ।

भूकम्पपीडितलाई सरल ब्याजदरमा ऋण दिँदा आगामी वर्ष बैंकको नाफामा कस्तो असर पर्ला ?
अढाई लाख ऋणीसमेत गरी बैंकका कूल ग्राहक २० लाख छन् । उनीहरुलाई आर्थिकरुपमा स्वस्थ बनाउन सकिएन भने न त हाम्रो बैंक रहन्छ, न त अर्थतन्त्र नै । त्यसैले वित्तीय कारोबार गर्ने ग्राहकहरुको संरक्षण र प्रवर्द्धन गर्नु नै हामी बैंकरहरुको कर्तव्य हो ।

अर्को कुरा, यो महाविपत्तिका बेला नाफा मात्रै हेरेर हुँदैन । राहत दिनु हाम्रो धर्म पनि हो । बैंकलाई धेरै नै असर पर्नेगरी राहत दिन त हामी सक्दैनाैं । अहिलेसम्म यो बैंकको परिवारका तर्फबाट भूकम्प पीडितहरुलाई २ करोड ५२ लाख रुपैयाँ राहत दिइसकेका छौं ।

बैंकले १ करोड रुपैयाँ नगद, ३० लाख रुपैयाँको खाद्य सामाग्री र कर्मचारीहरुले १ करोड २२ लाख रुपैयाँ गरी २ करोड ५२ लाख रुपैयाँ भूकम्प पीडितका लागि राहत दिइसकेको छ । आगामी दिनमा पनि नाफा घटाएरै भए पनि भूकम्प पीडितलाई सहयोग भने गरिरहने छौं ।

अर्थमन्त्री र गभर्नरले अब सरकारी बैंकमा सरकारले लगानी नथप्ने घोषणा गरिसकेका छन् । सरकारले लगानी नगर्दा वाणिज्य बैंक आफ्नो खुट्टामा आफैं उभिन सक्ला ?

किन नसक्नु ? अहिले पनि हामी आत्मनिर्भर भइसकेका छौं । अबको दुई वर्षपछि यो बैंकले वर्षको पाँच अर्ब रुपैयाँ लाभांस वितरण गर्छ, जतिबेला सेयरधनीले ५० प्रतिशतसम्म लाभांस पाउनेछन् ।

वाणिज्य बैंकका सेयरधनीले बोनस सेयरभन्दा नगद लाभांस नै बढी पाउने देखियो नि होइन ?
हो, हाल अधिकांश बैंकहरुको चुक्ता पुँजी २ अर्ब मात्रै छ । यो बैंकको चुक्ता पुँजी अहिले नै ८ अर्ब ५८ करोड रुपैयाँ छ । निजी क्षेत्रका बैंकहरुलाई चुक्ता पुँजी बढाउनुपर्ने दबाव हुने भएकाले उनीहरुले बढी बोनस सेयर दिन्छन् । तर, यो बैंकलाई तत्काल चुक्ता पुँजी बढाउनुपर्ने आवश्यकता देखिँदैन । जसकारण हामी बोनस सेयरभन्दा नगद लाभांस नै बढी दिन्छौं ।

बैंकले सर्वसाधारणका लागि कहिले सेयर निष्काशन गर्छ ?

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन अनुसार बैंकमा चुक्ता पुँजीको ३० प्रतिशत सेयर सर्वसाधारणको हुनुपर्ने व्यवस्था छ । र, बाफियाअनुसार जान पाउने निर्णय पनि मन्त्रिपरिषदले निर्णय गरिसकेको छ ।

कुन मोडलमा सेयर निष्काशन गर्ने भन्ने निर्णय गर्ने अधिकार चाहिँ अर्थमन्त्री संयोजक रहेको निजीकरण समितिले गर्नेछ । निजीकरण समितिबाट मोडालिटी प्राप्त भइसकेपछि हामी तत्काल सेयर निष्काशनको मिति तोक्छौं ।

हामीले असारभित्रै सेयर निष्काशनको तयारी थालेका थियौं । तर, भूकम्पले प्रभावित गरेको छ । जे होस्, दशैंअघि सर्वसाधारणले वाणिज्य बैंकको साधारण सेयर खरिद गर्न सक्नेछन् ।

2कस्तो-कस्तो मोडालिटीमा छलफल भइरहेको छ ?

कूल निष्काशित सेयरमध्ये ५ प्रतिशत बैंकका कर्मचारीलाई दिने र २५ प्रतिशत सर्वसाधारण लगानीकर्तालाई दिने भन्ने कुरो भएको छ । सेयरको मूल्य कति राख्ने भन्नेबारे छलफल भइरहेको छ । तर, भूकम्पका कारण निजीकरण समितिको बैठक नै नबसेको हुनाले यसको टुंगो लागिसकेको छैन ।

त्यस्तै, हाल कायम रहेको चुक्ता पुँजीलाई १०० प्रतिशत मानेर त्यसको ३० प्रतिशत साधारण सेयर जारी गर्ने कि हालको चुक्ता पुँजीलाई ७० प्रतिशत मानेर त्यसको ३० प्रतिशत गर्ने भन्ने बारेमा टुंगो लागिसकेको छैन । जे होस् कम्तिमा २ अर्ब ७० करोड देखि बढीमा साढे ३ अर्ब रुपैयाँको साधारण सेयर आउँछ ।

निजी क्षेत्रका बैंकसरह वाणिज्य बैंकको सेवाको आधुनिकीकरण नभएको ग्राहकहरुको गुनासो छ । कहिलेसम्म सेवाको आधुनिकीकरण होला ?

वाणिज्य बैंकको सेवा सुस्त छ भने पनि पत्याइदिने हाम्रो चलन छ । तर, सेवाको गुणस्तर कस्तो भन्ने कुराको मापन केले गर्ने भन्नेतर्फ भने हामी सोच्दैनौं । आजको मितिमा कुरा गर्दा वाणिज्य बैंक व्यवसायमा पहिलो स्थानमा छ । त्यस्तै, ग्राहक संख्यामा नाफामा पनि एक नम्बरमा छ । हामीप्रतिको विश्वास र आकर्षणले नै २० लाख ग्राहक अडिएका छन् । तर, हामीले ग्राहकलाई पूर्ण सन्तुष्ट बनाउन सकेका छौं भन्ने कुरामा चाहीँ म दाबी गर्दिँन ।

वाणिज्य बैंकले कुन-कुन सेवामा सुधार गर्नुपर्ने आवश्यकता महसुस गर्नुभएको छ ?

हामीले तीनवटा विषयमा सेवामा सुधार गर्नुपर्ने महसुस गरेका छौं । पहिलो कुरा, ग्राहक सेवामा सुधार गर्नुपर्ने देखिएको छ । ग्राहकहले पनि हामीलाई त्यस्तो सुझाव दिनुभएको छ ।
दोस्रो, कर्मचारीको क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि नयाँ र दक्ष जनशक्तिका भर्ती र भइरहेको जनशक्तिलाई तालिमको व्यवस्था गर्नुपर्ने खाँचो छ । मानवीय स्रोत नै बैंकको अहिलेको मुख्य चुनौति हो ।

बैंकमा कस्ता र कति नयाँ कर्मचारी थप्दै हुनुहुन्छ ?

कर्मचारीहरु त धेरै थपिँदैनन् । तर, कर्मचारीको स्टाटसमा भने व्यापक परिवर्तन हुनेछ । आगामी दुईदेखि अढाई वर्षमा ११ सय ७५ जना कर्मचारीले नियमितरुपमा अवकाश पाउनेछन् । सोको पूर्ति बजारबाट नयाँ र सक्षम मान्छेको भर्ती गरेर गर्नेछौं ।

अब बैंकमा प्रवेश गर्ने मान्छे सबै व्यवस्थापन संकायका हुनेछन् । तिनीहरु पूरै बिजनेस फ्रेन्डली, प्रतिस्पर्धी, प्रविधिमैत्री र उत्साही युवा हुनेछन् । ०७४/०७५ को अन्त्यमा वाणिज्य बैंकको जनशक्ति सबैभन्दा युवा, प्रविधि मैत्री र दक्ष हुनेछ । किनभने यस अवधिमा हाम्रो बैंकको तुलनामा अरु बैंकहरुले कमैमात्र कर्मचारी भर्ती गर्छन् ।

यो वर्ष कति नयाँ कर्मचारी भर्ती गर्ने तयारी छ ?

बैंकले आगामी साता नै एक सय कर्मचारीका लागि आवेदन माग गर्दैछ । राष्ट्रिय वाणिज्य बैंकको जागिर भनेको अत्यन्तै निष्पक्ष हुन्छ । यसको परीक्षा लोक सेवा आयोगले लिन्छ । मौखिकमा पनि लोक सेवा आयोगका प्रतिनिधिको उपस्थिति हुन्छ । त्यसैले सोर्स/फोर्स लगाएर वाणिज्य बैंकमा जागिर खान सकिँदैन । त्यसैले यो बैंकमा जागिर खान आकर्षित हुनुभएका युवा शक्तिलाई पढाइमा मिहेनत गर्न आग्रह गर्दछु ।

आगामी वर्षको यसै अवधिमा बैंकको वित्तीय अवस्था कस्तो होला ?

अबको हाम्रो प्राथमिकता भनेको बिसनेस र सेवाको विस्तार हो । योसँगै शाखा, एटीएम, शाखारहित, अनलाइन र मोबाइल बैंकिङ सेवा विस्तारमा जोड रहनेछ ।

आगामी एक वर्षभित्र निक्षेप र कर्जा दुबै २० प्रतिशतले बढाउने लक्ष्य छ । शाखा संख्या १ सय ८० पुग्छ । शाखाविहीन बैंकिङ ८० पुग्छ । १ सय ३० वटा एटीएम सेन्टर पुग्छन् । १३ वर्षदेखि हाम्रो बैंकको पुँजी पर्याप्ता अनुपात ऋणत्मक थियो । यो वर्ष धनात्मक भएको छ । र, पुँजी पर्याप्तता अनुपात (सीएआर) नपुग्दा राष्ट्र बैंकले गरेको कारवाही पनि यसै वर्ष फुकुवा भएको छ । १० वर्षअघि जगेडा कोष २३ अर्ब रुपैयाँले ऋणात्मक थियो अहिले २ अर्ब १५ करोड रुपैयाँले मात्रै ऋणात्मक छ ।

त्यस्तै सीएआर ३३ प्रतिशतले ऋणात्मक थियो । अहिले १०.१९ प्रतिशत र रकमको हिसाबले ६ अर्ब रुपैयाँले धनात्मक छ । त्यस्तै, १० वर्षअघि कूल कर्जाको खराब कर्जाको मात्रा ६२ प्रतिशत थियो अहिले ४ प्रतिशत छ ।

तपाईले बैंकको कार्यकारी प्रमुख पद सम्हालेको ३ वर्ष भयो । यस अवधिमा बैंकले के-कस्ता प्रगति गर्‍यो ?

मैले बैंक सम्हाल्दा सीएआर २१ प्रतिशत ऋणात्मक थियो, अहिले १०.१९ प्रतिशत धनात्मक छ । व्यवसायमा यति ठूलो वृद्धि भए पनि कर्मचारी संख्या बढेको छैन । बैंकमा कर्मचारीहरुको संख्या २६ सय छ । शाखारहित बैंकिङ थिएन । अहिले २९ वटा छन् ।

मैैले जिम्मेवारी सम्हाल्दा शाखाहरु १ सय २८ वटा थिए, अहिले १ सय ६० शाखा छन् । ३० वटा एटीएम सेन्टर थिए अहिले ८० वटा छन् । मोवाइल बैंकिङ थिएन । अहिले मोवाइल बैंकर १ लाख २० हजार छन् । कुल कारोबारको ३५ प्रतिशत इबैंकिङ कारोबार छ । निकट भविष्यमै इ–बैंकिङलाई ६० प्रतिशत पुर्‍याउने हाम्रो लक्ष्य छ । शाखारहित र मोवाइल बैंकिङ विस्तारमा अभियान नै सञ्चालन गर्ने तयारी गरिरहेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment