Comments Add Comment

भूकम्पले निजी क्षेत्रमा एक खर्ब बढी घाटा

Earthquake Nepal 2015 (21)

नविन अर्याल

२३ जेठ, काठमाडौं । विनाशकारी भूकम्पले सिन्धुपाल्चोकमा रहेको भोटेकोशी जलविद्युत आयोजना बगरमा परिणत भयो । ४५ मेगावाटको यस आयोजनामा करिव ५ अर्बको भौतिक क्षति भएको दाबी छ । सञ्चालनमा ल्याउन वर्ष दिन लाग्ने बताइएको यस आयोजनामा एक अर्ब बढी आम्दानीसमेत गुम्नेछ ।

यसैगरी औषधि उद्योग देउराली जनता फर्मास्यूटीकल्समा २२ देखि २५ करोडको क्षति भएको छ । त्यो भन्दा बढी क्षति अब हुने व्यवसायमा परेको उद्योगका प्रबन्ध निर्देशक हरिभक्त शर्मा बताउँछन् ।

यी त प्रतिनिधि उदाहरण मात्र हुन् । अधिकांश उद्योगहरु तराई क्षेत्रमा रहेको हुँदा भौतिक क्षति कम भएको बताइन्छ । तर, कुल उत्पादनको एक तिहाई माग हुने काठमाडौं उपत्यका क्षतविक्षत भएको हुँदा व्यापारमा ठूलो असर पर्ने व्यवसायीको अनुमान छ ।

यता जलविद्युत, हाउजिङ व्यवसाय र शिक्षण संस्थामा भने भूकम्पले ठूलो भौतिक क्षति पुर्‍याएको छ । जलविद्युतमा सरकारी निजी गरी करिव १७ अर्ब रुपैयाँको क्षति भएको छ भने निजी शिक्षण संस्थामा दुई अर्ब र हाउजिङ व्यवसायमा १५ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको दाबी छ ।

यसैगरी राजधानीसहित विभिन्न जिल्लामा रहेका खुद्रा पसल र साना तथा मझौला उद्योगमा भएको क्षतिको यकिन तथ्यांक आउनै बाँकी छ ।  ‘भूकम्पबाट भौतिक क्षति यति नै भयो भनेर भन्न सकिँदैन’ नेपाल उद्योग वाणिज्य महासंघका कार्यबाहक अध्यक्ष पशुपति मुरारकाले भने- ‘उद्योग व्यवसायमा जति भौतिक क्षति भएको छ, त्यो भन्दा कैयौं गुना बढी व्यापार गुमेको छ ।’

कतिपय उद्योग तथा आयोजनाहरु मर्मत गरेर सञ्चालन गर्न समय लाग्ने हुँदा बिजनेश गुमाउने अवस्था छ भने कतिपय उद्योगबाट उत्पादिन वस्तुको माग नै घटेको छ । ‘एकातिर ठूलो रकम खर्चेर भौतिक संरचना मर्मत गर्नुपर्ने छ, अर्कोतिर नियमित हुने आम्दानी पनि गुमिरहेको छ’ मुरारका भन्छन् ।

भूकम्पपछि घर छाउने जस्तापाता र चिउरा चाउचाउ बाहेक अन्य वस्तुको माग ५० प्रतिशतभन्दा बढीले घटेको व्यवसायीको गुनासो छ । राजधानीको विकास निर्माण ठप्प हुँदा सिमेन्ट र छडको समेत माग हृवात्तै घटेको व्यवसायीको भनाइ छ ।

‘भूकम्पले देउराली जनताको स्टोरेज ध्वस्त भयो, फिनिसिङ तथा कच्चा पदार्थ बिगि्रयो, उद्योगको प्रविधि नै ब्रेकडाउन भएको छ’ नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका शर्माले भने- ‘उद्योगको सिष्टम विदेशमा लगेर मर्मत गर्नुपर्ने हुँदा उद्योगलाई पूर्ण क्षमतामा चलाउन समय लाग्छ ।’

महासंघको उद्योग समितिका सभापति उमेशलाल श्रेष्ठ भूकम्पले आन्तरिक खुद्रा व्यापार र निर्यात व्यापार ध्वस्त भएको बताउँछन् । ‘कतिपय उद्योग भत्किएर सञ्चालन हुन सकेका छैनन् भने कतिपय उद्योगमा कामदार नै छैनन्’ उनले भने- ‘उत्पादित वस्तुले पनि बजार पाउने अवस्था छैन्, बजारमा माग ५० प्रतिशतले घटेको छ ।’

सरकारले निजी क्षेत्रको उत्पादन खरिद गरिदिएमा उद्योग चलाउन सकिने बताउँदै श्रेष्ठले अन्यथा जीडीपीमा उद्योग क्षेत्रको योगदान ६ प्रतिशतबाट पनि तल झर्ने ठोकुवा गरे ।

त्यसो त भूकम्पको डरले कामदार घर गएर नफर्किएपछि धेरैजसो उद्योग व्यवसायहरु मर्कामा परेका छन् । कामदार नहुँदा उद्योगहरुले उत्पादनसमेत घटाउनुपरेको छ ।

यस्तो छ क्षेत्रगत भौतिक क्षति

‘भूकम्पले साना-ठूला उद्योग भत्किएका छन्, विद्युतगृह पुरिँदा ८५ मेगावाट उत्पादन बन्द भएको छ, कतिपय आयोजनाको काम बन्द छ, मिडियामा विज्ञापन घटिसकेको छ’ मुरारकाले भने- ‘माग घटेपछि कुखुरा व्यवसायीले अण्डाको भाउ समेत घटाउन बाध्य भए ।’

त्यसो त व्यवसायीहरुको तातोपानी र रसुवागढीमा मालबाहक कन्टेनर पुरिँदा धेरै क्षति पुगेको छ । अहिले पनि खासा क्षेत्रमा धेरै कन्टेनर अडि्कएका छन् ।

उद्योग क्षेत्र

परिसंघका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माका अनुसार उद्योग क्षेत्रमा १० अर्ब बढीको भौतिक क्षति भएको छ । उनका अनुसार परिसंघमा आवद्ध ४०/४२ ठूला उद्योगमा क्षति पुगेको छ । ‘तर, ५०औं अर्बको बिजनेश गुमेको छ’ शर्माले भने ।
खासगरी उद्योगहरु तराई भेगमा भएको हुँदा कम भौतिक क्षति कम हुन गएको हो । भूकम्पबाट उद्योगहरुको भवन तथा मेसिनमा क्षति पुगेको छ । ठूला उद्योगमा भन्दा काठमाडौं तथा ग्रामीण क्षेत्रमा रहेका साना तथा मझौला उद्योगहरु भूकम्पको मारमा परेको बताइन्छ ।

पर्यटन

भूकम्पको सबैभन्दा ठूलो प्रभाव पर्यटन क्षेत्रमा परेको छ । भूकम्पले पर्यटनमा दीर्घकालीन असर परेको पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डे बताउँछन् । वैशाखदेखि असोजसम्म करिब १० अर्ब रुपैयाँभन्दा बढी आम्दानी गुमेको उनको भनाइ छ ।

भूकम्पले काठमाडौं नगरकोट, लाङटाङ, मनास्लु, दोलखा, खुम्बु क्षेत्रका होटल तथा ट्रेकिङ लजहरु बस्नै नमिल्ने गरी भत्किएका छन् ।

राजधानीमा रहेको क्यासिनो अन्नाको भवन पुरै भत्किएको छ । पाँचतारे एभरेष्ट होटलमा रातो स्टिकर टाँसेपछि खालि भएको छ । त्यस्तै, ठमेलको बिजनेश होटल, काठमाडौं गेष्ट हाउस र गोकर्ण फरेष्ट रिसोर्टको एउटा/एउटा ब्लक, धुलिखेलको होटलमा रातो स्टिकर टाँसिएको छ ।

भूकम्पछि मुलुक पर्यटकविहीन बनेको छ । जसले गर्दा पर्यटनसँग जोडिएका होटलदेखि ट्रेकिङ व्यवसायी, विमान कम्पनीलगायत सबै मारमा परेका छन् । यसको मार पर्यटनसँग जोडिएको रोजगारीमा समेत देखिने स्पष्ट छ ।

भूकम्पले निजी तथा सरकारी जलविद्युत आयोजनामा १७ अर्ब रुपैयाँ बढीको क्षति पुगेको आंकलन नेपाल विद्युत प्राधिकरणले गरेको छ । भूकम्पले सबैभन्दा ठूलो क्षति भोटेकोशी जलविद्युत आयोजनामा परेको छ । ४५ मेगावाट क्षमताको उक्त आयोजना पुरिँदा करिव ६ अर्ब रुपैयाँ बराबरको क्षति भएको सिप्रदीका प्रमुख कार्यकारी अधिकृत सम्भुप्रसाद दाहालको भनाइ छ ।

यसका साथै सरकारी आयोजनाहरुको विद्युत उत्पादन, प्रसारण र वितरण प्रणालीमा ११ अर्ब रुपैयाँ बराबरको क्षति पुगको बताइएको छ । यस क्षेत्रमा भएको क्षतिको पूर्ण विवरण भने अझै आइसकेको छैन् ।

शैक्षिक संस्था

भूकम्पको प्रभाव शिक्षण संस्थामा पनि परेको छ । भूकम्पमा परि १० हजार बढी निजी तथा सरकारी शिक्षण संस्था क्षतिग्रस्त भएका छन् । जसमध्ये ५ सयवटा निजी शैक्षिक संस्था रहेको उच्च माध्यमिक विद्यालय संघ नेपाल -हिसान)का अध्यक्ष उमेश श्रेष्ठ बताउँछन् ।

भूकम्पले १५ जिल्लामा रहेका निजी शिक्षण संस्थामा २ अर्ब रुपैयाँ बढीको क्षति पुगेको अध्यक्ष श्रेष्ठको भनाइ छ । ‘क्षतिको पूर्ण विवरण अझै आइसकेको छैन’ उनले भने- ‘हाम्रो प्रारम्भिक क्षतिको अनुमान २ अर्ब बढी छ ।’

अध्यक्ष श्रेष्ठका अनुसार तीन सय निजी शिक्षण संस्था मर्मत गरेर सञ्चालन गर्न मिल्ने अवस्थामा छन् भने २ सय शिक्षण संस्था पूर्णरुपमा ध्वस्त भएका छन् । ध्वस्त भएका शिक्षण संस्थामा जस्ता पाताको टहरो बनाएर पढाइ सुरु गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

भूकम्पमा परी राजधानीका चर्चित ज्ञानोदय स्कुल र मोर्गन इन्टरनेशनल कलेज पूर्णरुपमा ध्वस्त भएका छन् । त्यस्तै, गोंगबुमा पाँचतले भवनमा रहेको शिक्षण संस्था पनि भत्किएर ध्वस्त भएको छ । शहरी क्षेत्रमा रहेका क्षतिग्रस्त शिक्षण संस्थामध्ये अधिकांश भाडाको घरमा रहेका अध्यक्ष श्रेष्ठको भनाइ छ ।

घरजग्गा व्यवसाय

भूकम्पले राजधानीमा रहेका अधिकांश अपार्टमेन्टमा क्षति पुर्‍याएको छ । नेपाल घरजग्गा व्यवसायी संघका अनुसार यस क्षेत्रमा १५ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान छ ।

यो प्रारम्भिक अनुमान भएको हुँदा यथार्थ तथ्यांक तलमाथि हुनसक्ने संघले बताएको छ । घरजग्गा व्यवसायमा भएको १५ अर्बको क्षतिमध्ये ६० प्रतिशत बैंकबाट लिएको ऋण र ४० प्रतिशतमात्र व्यवसायीको लगानीमा क्षति पुगेको छ ।
०७१ फागुन मसान्तसम्म बैंकहरुले १ खर्ब ७० अर्ब रुपैयाँ घरजग्गा क्षेत्रमा लगानी गरिसकेको नेपाल राष्ट्र बैंकले जनाएको छ । जसमध्ये जग्गा तथा व्यवसायिक भवनमा ५४ अर्ब र आवासीय घरमा १ खर्ब १६ अर्ब रुपैयाँ ऋण लगानी छ ।

मुलुकभर घरजग्गा क्षेत्रमा करिव ५ खर्ब रुपैयाँ लगानी भएको व्यवसायीहरुको दाबी छ । भूकम्पका कारण उक्त लगानी जोखिममा पर्नसक्ने देखिएको छ ।

पूँजी बजार

भूकम्पपछि नेपाल स्टक एक्सचेञ्ज १९ दिनसम्म बन्द भयो । जसको कारण शेयर किनबेच हुन सकेन । यस अवधिमा ६ अर्ब रुपैयाँ बराबरको शेयर किनबेच हुने थियो ।

‘भूकम्प नखाएको भए १९ दिनको अवधिमा ६ अर्ब रुपैयाँ बराबरको शेयर किनबेच हुन्थ्यो’ नेपाल स्टक एक्स्चेञ्जका महाप्रबन्धक सीताराम थपलियाले भने- ‘कारोबार नहुँदा नेप्सेका सवा पाँच करोडको पुँजीगत लाभकर र एक/सवा एक करोडको टीडीएस उठेन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment