पुष्प दुलाल
२५ जेठ, काठमाडौं । भूकम्पले मुलुकको अर्थतन्त्रमा ठूलो क्षति पुगेको सरकारी अधिकारीहरुले निश्कर्ष निकालेका छन् । पानी नपर्दा अर्थतन्त्रमा पुगेको घाटालाई भूकम्पले अझै बिकराल बनाएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।
भूकम्पले अर्थतन्त्रमा गम्भीर क्षति पुर्याएको निश्कर्ष निकाल्दै सोमबार तथ्यांक विभागले मुलुकको कुल ग्रार्हस्थ उत्पादन ३.०४ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको हो ।
‘भूकम्प नआएको भए जीडीपीको वृद्धिदर ४.५८ प्रतिशतले हुने थियो,’ विभागका उपमहानिर्देशक सुमन अर्यालले सोमबार नयाँ तथ्यांक सार्वजानिक गर्दै भने, ‘सरकारले बजेटमा ६ प्रतिशत आर्थिक वृद्धि प्राप्त गर्ने लक्ष्य राखेको थियो ।’
समयमा मनसुन नहुँदा कृषि उत्पादनमा कमी आउने विश्लेषणका साथ विभागले ४.५८ प्रतिशत आर्थिक वृद्धि हुने अनुमानसहितको तथ्यांक गत बैशाख १३ गते सार्वजनिक गर्ने तयारी गरेको थियो ।
तर, बैशाख १२ गतेको भूकम्पले नयाँ परिस्थिति सिर्जना गरेकाले ढीलो मात्रै तथ्यांक सार्वजानिक गरिएको अर्यालले जानकारी दिए ।
वस्तुको उत्पादनमा दैनिक साढे ६२ करोडको क्षति
भूकम्पले अर्थतन्त्रलाई संकुचनमा पारेको नयाँ तथ्यांकले देखाएको छ । भूकम्पका कारण चालू आर्थिक वर्षका ८३ दिनमा मात्रै वस्तु तथा सेवाको उत्पादनमा ५२ अर्ब रुपैयाँको क्षति पुगेको विभागले जनाएको छ ।
‘भूकम्पपछि चालू आर्थिक वर्षका जम्मा ८३ दिन बाँकी छन, यस अवधिमा उत्पादनमा ५२ अर्ब रुपैयाँको संकुचन हुने अनुमान गरेका छौं,’ अर्यालले भने, ‘यसलाई दैनिक रुपमा हेर्दा ६२ करोड ६५ लाख रुपैयाँ हुन आउँछ ।’
अर्यालका अनुसार भूकम्प नआएको भए वस्तु तथा सेवाको उत्पादनमा ३१ खर्ब ४६ करोड रुपैयाँ बराबरको हुन्थ्यो । तर, भूकम्पपछि ५२ अर्ब रुपैयाँले घटेर ९० खर्ब ९४ अर्ब रुपैयाँ मात्रै हुने भएको छ । भूकम्पले जीडीपीमा ३६ अर्ब रुपैयाँ बराबरको संकुचन ल्याउने अर्यालले बताए ।
विकाशोन्मूख मुलुक बन्न कठिन
सरकारले सन् २०२२ सम्म अति कम विकसित राष्ट्रबाट विकाशशील राष्ट्रमा स्तरोन्नति हुने लक्ष्य राखेको थियो । तर, भूकम्पका कारण सरकारको यो लक्ष्य पूरा हुन कठिन हुने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोखरेलले बताए ।
‘अझै पनि आर्थिक सूचकांकमा हामी सन् २०२२ सम्म विकाशशील राष्ट्र बन्न सक्छौं’ पोखरेलले भने- ‘तर, सामाजिक क्षेत्र र प्रतिव्यक्ति आयका हिसाबले विकाशोन्मूख राष्ट्रमा स्तरोन्नति हुन कठिन भएको छ ।
भूकम्प नै नआएको भए पनि विकाशोन्मूख राष्ट्रका लागि आवश्यक पर्ने प्रतिव्यक्ति आय पुर्याउन कठिन भएको उनले बताए ।
‘यद्यपि मुलुकको राजनीति सप्रिए प्राविधिकरुपमा मुलुक अझै पनि विकाशोन्मूख राष्ट्रमा स्तरोन्नति हुन सक्छ’ पोखरेलले भने । सरकारले भूकम्पले पुर्याएको क्षति र त्यसको पुननिर्माणका बारेमा नयाँ नीति बनाएर अघि बढ्ने तयारी गरिरहेको उनले जानकारी दिए ।
योजना आयोगका सदस्य डा. स्वर्णिम वाग्लेले भूकम्पकै कारण मुलुकको आर्थिक वृद्धिदर डेढ प्रतिशतले घटेकाले अर्थतन्त्रका अघि गम्भीर चुनौती आइपरेको बताए ।
‘भूकम्प नआइदिएको भए ४.५८ प्रतिशतको आर्थिक वृद्धि हुने थियो, तर भूकम्पका कारण ३.०४ प्रतिशतमात्रै आर्थिक वृद्धि हुने भएको छ’ वाग्लेले भने -‘यो अर्थतन्त्रका लागि गम्भीर चुनौती हो ।’
रियल स्टेट, पर्यटन र कृषिमा असर
वाग्लेले रियलस्टेट, पर्यटन र कृषिमा सबैभन्दा बढी क्षति भएको बताए । ‘रियलस्टेट क्षेत्रमा बैंकहरुले मात्रै १ खर्ब १६ अर्ब रुपैयाँ लगानी गरेका छन्, त्यसैले यो क्षेत्रमा भएको क्षतिले वित्तीय क्षेत्रमा पनि ठूलो असर पार्नेछ’ उनले भने ।
भूकम्पले घर पालुवा जनावरमा ठूलो क्षति गरेकाले कृषि क्षेत्रको सूचकांकमा पनि ठूलो असर पुग्ने वाग्लेले बताए । ‘१७ हजार गाईबस्तु र ४० हजार बाख्रापाठा मरेको कृषि मन्त्रालयले जनाएको छ’ उनले भने ।
त्यस्तै, पर्यटन क्षेत्रमा भूकम्पले सबैभन्दा बढी क्षति पुर्याएको वाग्लेले बताए । ‘भूकम्प आएपछि करिब ५० हजार विदेशी पर्यटकहरु आफ्नो देश फर्किएको प्रारम्भिक तथ्यांक छ’ उनले भने । पर्यटक नआउँदा होटल व्यवसाय समस्यामा पर्ने उनले बताए ।
३३ अर्ब कम राजस्व
भूकम्पका कारण सरकारी लक्ष्यभन्दा करिब ३३ अर्ब रुपैयाँ कम राजस्व असूली हुने वाग्लेले बताए । ‘यो वर्ष ४ खर्ब २३ अर्ब रुपैयाँ राजस्व असूलीको लक्ष्य थियो, तर अर्थ मन्त्रालयले ३ खर्ब ९० अर्ब रुपैयाँ भन्दा बढी राजस्व असूल हुन नसक्ने बताएको छ,’ उनले भने ।
केन्द्रीय तथ्यांक विभागले १५ वटा क्षेत्र छुट्याएर सार्वजानिक गरेको नयाँ तथ्यांकमा १३ वटा क्षेत्रको वृद्धिदरमा भूकम्पले असर गर्ने उल्लेख छ । स्वास्थ्यको सूचक केही बढ्ने र सार्वजनिक प्रशासनको सूचक स्थिर रहने अनुमान छ ।
यो पनि पढ्नुस्