+
+
Shares

असन र इन्द्रचोकमा ‘हाउस पुलिङ’ को प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ २९ गते १६:४०

राजकुमार श्रेष्ठ

२९ जेठ, काठमाडौं । काठमाडौं उपत्यकाका पुराना शहरहरु पाटन, असन, इन्द्रचोक, नरदेवीको ऐतिहासिक महत्व छ । त्यस क्षेत्रका मठमन्दिर पाटीपौवा लगायतका सांस्कृतिक सम्पदा पर्यटकका लागि आकर्षणका केन्द्र हुन् ।

भूकम्पपछि अब यहाँका घरहरु सरकारले ‘हाउस पुलिङ’ गरेर भत्काउनेबारे छलफल सुरु भएको छ । कारण हो जीर्ण बनेका घरहरु, जुन मर्मत पनि हुन सकेका छैनन् ।

SANKHATA ghar haru

कतिपय ठाउँमा भूकम्पपछि टोकाहरु लगाइएका छन् र, पर्यटक मात्र होइन, स्थानीयबासी समेत त्यो क्षेत्रमा ढुक्क भएर हिँडडुल गर्न सक्दैनन् ।

भएका ढलान घरहरु पनि साना तर, निकै अग्ला छन् । सानो ठाउँमा दाइभाइले भागवण्डा गरेर आ-आफ्नै शैलीले घर बनाएका छन् । जसका कारण पनि शहर कुरुपजस्तै बनेको छ ।

झन वैशाख १२ र २९ को भूकम्पले नराम्ररी हल्लाएपछि त्यस्ता घरहरु धरापजस्तो लाग्न थालेको छ । मानिसहरु बाटोमा हिँड्दा पनि घरतिर हेर्छन् र आफ्नो पाइला छिटो-छिटो चल्छन् ।

असन, इन्द्रचोकलगायतका पुराना शहरहरुलाई केन्द्रित गरेर इञ्जिनियर, अर्बन प्लानरहरुले हाउस पुलिङको अवधारणा अघि सारेका छन् ।

र, छिट्टै प्रधानमन्त्री सुशील कोइरालालाई बुझाउने तयारी गरेका छन् । अवधारणा बनाउन सक्रिय पूर्वसचिव एवं इन्जिनियर किशोर थापाले भने-‘सामुहिक आवासमा जान यो मौका हो ।’

के हो हाउस पुलिङ अवधारणा ?

Kishor-Thapa1यसअघि काठमाडौंमा ल्याण्ड पुलिङको अवधारणा सफल रुपमा कार्यान्वयन भइसकेको छ । बाँङ्गोटिङ्गो जग्गालाई व्यवस्थित गरेर बाटो घाटोको सुविधा दिएर बसालिएको नयाँबजार, गोंगबु क्षेत्रको बस्ती नेपालीहरुले विकास गरेको अर्वन प्लानिङको मौलिक मोडल हो ।

अब हाउस पुलिङको अवधारणा आएको छ । जसमा तोकिएको क्षेत्रमा भएको सांस्कृतिक सम्पदाहरु पाटी, पौवा, सत्तल, मन्दिरको संरक्षण गरिनेछ ।

तर, त्यस क्षेत्रमा भएका जिर्ण र जोखिमयुक्तहरु घरहरुलाई भत्काएर नयाँ बनाइनेछ । नयाँ घरहरुको बसाइ सामूहिक आवासजस्तै हुनेछ । इन्जिनियर थापाले भने-‘पहिले आठ फिटको चार तले घरमा बस्थे भने अब एक तला वा दुई तलाको अपार्टमेन्टमा राख्ने ।’

उनका अनुसार यसले घरधनीले पुरानो घरभन्दा बढी स्पेस पाउँछ । किनभने आठ फिटको घरमा भर्‍याङ राखेपछि एउटा खाट पनि अट्दैन । तर, अपार्टमेन्टजस्तो भयो भने साझा भर्‍याङ हुन्छ, साझा लबी हुन्छ र फ्याट मात्र अलग-अलग हुन्छ । थापा भन्छन्-‘पुरानो शहरभित्र बसे पनि सुविधायुक्त घरहरुमा बस्छन् ।’

घर कसले बनाउँछ ?

छलफलको अन्तिम चरणमा रहेको हाउस पुलिङको योजना अनुसार अब बनाइने घरहरु भित्र सुविधा सम्पन्न र बाहिर मौलिक कलाको हुनेछ ।

पुरानो घर भत्काएर नयाँ बनाउने खर्च स्वयंम घरधनीले नै व्यहोर्नुपर्छ । तर, सरकारले बैंकहरुबाट सहुलियत आवास कर्जा दिनेछ । त्यो घर भाडामा दिएर वा पसल नै चलाएर भए पनि उसले ऋण तिर्न सक्छ ।

आवश्यक प्राविधिक कुरा सरकारले मिलाइदिन्छ । बाहिरका सेवा सुविधा जस्तो त्यो चोकमा इटा छाप्नु पर्‍यो भने सरकारले गर्छ । मठ मन्दिर मर्मत सम्भारसहितको काम पनि सरकार आफैंले गर्नेछ ।

विष्णुमतिबाट पूर्व टुँडीखेलबाट पश्चिम, ठमेलभन्दा दक्षिण र टेकुबाट उत्तरको पुरानो क्षेत्रमा यो अवधारणा लागू गर्न सिफारिस गरिनेछ । जहाँ भवनहरु जिर्ण छन् तर, पर्यटकीय हिसावले आकर्षक छन् ।

स्थानीयलाई अन्यत्र सार्नु हुन्न

यसरी हाउस पुलिङको योजना लागू गर्दा स्थानीयलाई भने सार्न नहुनेमा जोड दिएका छन् । त्यहाँका मानिसहरु बसे भने सांस्कृतिक सम्पदाहरु पनि संरक्षित हुन्छन् । ‘इन्द्रजात्रा गर्नु पर्‍यो भने बाहिरबाट आएका मानिसले त सक्दैन । जात्रा बुझ्ने मानिसरुलाई राख्नुपर्छ’ पूर्वसचिव किशोर थापाले भने-‘तर, नयाँ पुस्ताले सुविधा खोन्छन् । त्यसैले भित्र सुविधा आधुनिक र बाहिर आकर्षण परम्परागत बनाउनुपर्छ ।’

अपार्टमेन्टमा मान्छेहरु छिराउनुपर्छ

भूकम्पपछि धेरैलाई अग्ला घरहरु असुरक्षित हुन् कि भन्ने परेको बेला मानिसहरुलाई सामूहिक आवासमा लैजान त्यति सहज भने छैन ।

पूर्वसचिव थापा सामूहिक आवासमा नगई सुख नभएको बताउँछन् । ‘रहर त सबैको हुन्छ एक रोपनी जग्गामा बीचमा एक तले घर बनाबर बसौं । तर, त्यो सम्भव छैन’ उनले भने- धेरैतले घरमा जानुपर्छ । हाम्रा अपार्टमेन्टहरुमा मान्छेहरु छिराउनुपर्छ ।’

थापाका अनुसार नेपाली प्राविधिकहरुले नै बनाएका अग्ला घरहरु घरहरु ढलेनन् । ‘दालभात गुन्द्रकु खाएका मान्छेहरुले नै बनाएको हो’ उनले भने-‘अब त्यो भन्दा अग्ला घर बनाउन सक्छौं भन्ने आत्मविश्वास बढेको छ ।’ मानिसहरुमा विश्वास जगाउन विस्तृतमा अध्ययन गरेर पुनःनिर्माण गर्ने र र सुरक्षित छ भनेर सन्देश दिन थर्डपार्टीबाट अध्ययन गराउन सकिने उनको सुझाव छ ।

पूर्वअर्थमन्त्री भन्छन्, यो राम्रो विकल्प हो

Surendra Pandey_400यसैवीच एमाले नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले पनि हाउस पुलिङको अवधारणा राम्रो भएको बताए । उनले भने-सांस्कृतिक पुरातात्वयिक महत्व भएका ठाउँहरुमा त्यहीरुपमा कायम राख्नुपर्छ । त्यहाँका बासिन्दालाई त्यही राख्नुपर्छ । यसका लागि हाउस पुलिङ राम्रो हो ।’

यो अवधारणामा जाँदा त्यहाँका मानिसहरुलाई आकषिर्त गर्न अहिले उपभोग गरिएको भन्दा केही बढी दिन सकिने उनले बताए ।

घर भत्काउने र बनाउने खर्च सम्वधित व्यक्तिले व्यहोर्ने पर्ने भन्दै उनले निजी कम्पनी वा सरकारले पनि बनाउने विकल्प रहेको बताए ।

‘कुनै निजी कम्पनी वा सरकारले किनेर उनीहरुलाई पहिलेको स्पेस बराबर दिएर बाँकी आफूले उपभोग पनि गर्न सकिन्छ’ पूर्वअर्थमन्त्री पाण्डेले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?