+
+

एकीकरणपछि अशोक र उपेन्द्रको पार्टी बन्यो पाँचौ ठूलो दल

३२ जेठ, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीबीच एकीकरण भएको छ । मधेस केन्द्रित दल फोरम नेपाल र जनजाति केन्द्रित दल संघीय समाजवादीबीच एकीकरणपछि पार्टीको नाम ‘संघीय समाजवादी फोरम’ राखिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ ३२ गते १४:५४

Ashok-Rai,-Upendra-Yadav-an

  • पार्टी एकता घोषणा कार्यक्रममा अशोक राई, उपेन्द्र यादव र युवराज कार्की (दायाँबाट क्रमश:)

३२ जेठ, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीबीच एकीकरण भएको छ ।

मधेस केन्द्रित दल फोरम  नेपाल र जनजाति केन्द्रित दल संघीय समाजवादीबीच एकीकरणपछि पार्टीको नाम ‘संघीय समाजवादी फोरम’ राखिएको छ । पार्टीको अध्यक्ष उपेन्द्र यादव र संसदीय दलको नेता अशोक राई भएका छन् ।

एकीकरणपछि संविधानसभामा यो पार्टी पाँचौ ठूलो दल भएको छ । यसअघि १४ सिटका साथ बिजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक पाँचौ ठूलो दल थियो ।

अब उपेन्द्र यादवको १० र अशोक राईको ५ सिट थपेर १५ सिटका साथ संघीय फोरम नेपाल राप्रपा नेपालपछि पाँचौ ठूलो दल भएको छ । यी दुई पार्टीसँगै खस समावेशी पार्टी नामक दल पनि एकीकरण भएको छ ।

युवराज कार्की नेतृत्वको खस समावेशी पार्टीको कुनै पनि जिल्लामा संगठन र कार्यकर्ता छैनन् । यो दलले २०७० सालको संविधानसभा निर्वाचनमा देशभरमा गरी कुल १५ हजार २ सय २५ मत प्राप्त गरेको निर्वाचन आयोगको रेकर्डमा उल्लेख छ ।

उपाध्यक्ष ५, महासचिव, उपमहासचिव र सचिव २-२ जना

मधेसी जनअधिकार फोरम नेपाल, संघीय समाजवादी पार्टी र खस समावेशी पार्टीबीच एकता भएर संघीय समाजवादी फोरम नेपाल नामक नयाँ पार्टीको जन्म भएको छ ।

उपेन्द्र यादव अध्यक्ष रहेको नयाँ पार्टीमा ५ उपाध्यक्ष छन् । महासचिव, उपमहासचिव र सचिव २-२ जना छन् ।

१६ सदस्यीय पदाधिकारीमा अशोक राई वरिष्ठ नेता छन् । उनलाई पार्टी संसदीय दलको नेताको समेत जिम्मा दिइएको छ ।

लालबाबु राउत, रेणु कुमारी यादव, रकम चेम्जोङ, हेमराज राई र युवराज कार्की उपाध्यक्ष छन् । राउत र यादव फोरम नेपालका हुन् । चेम्जोङ र राई संघीय समाजवादीका हुन् ।

यसअघि खस समावेशी पार्टीका अध्यक्ष रहेका कार्कीले पनि संघीय समाजवादी फोरम नेपाल नामक नयाँ पार्टीको उपाध्यक्षको जिम्मेवारी पाएका छन् ।

राजेन्द्र श्रेष्ठले सहअध्यक्षको जिम्मेवारी पाएका छन् । श्रेष्ठ यसअघि संघीय समाजवादी पार्टीको महासचिव थिए । उनी नयाँ पार्टीमा यादव र राईपछि तेस्रो वरियतामा छन् ।

संघीय समाजवादी फोरम नेपालको महासचिवमा रामशहाय प्रसाद यादव (फोरम नेपाल) र रणध्वज कन्दङवा (संघीय समाजवादी) छन् ।

उपमहासचिवमा अभिषेकप्रताप साह र दानबहादुर विक तथा सचिवमा रत्नेश्वरलाल कायस्थ र परशुराम बस्नेत छन् । साह र कायस्थ फोरम नेपालका हुन् भने विक संघीय समाजवादीका र बस्नेत खस समावेशी पार्टीका हुन् ।

कोषाध्यक्षको जिम्मेवारी विजयकुमार यादव (फोरम नेपाल)ले पाएका छन् ।

मंगलसिद्धि मानन्धर केन्द्रीय सल्लाहकार समितिका सभापति बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?