Comments Add Comment

१० वर्षसम्म पनि बनेन भेरी पुल, ६ जिल्लाका बासिन्दा प्रभावित

veri nadi ko pakki pull

बी.बी.गिरी
२ असार, जाजरकोट । निर्माण कार्य थालनी भएको दश बर्ष बितिसक्दा पनि भेरी पुल निर्माण हुन सकेको छैन । छिन्चु-जाजरकोट सडकखण्डको सल्यान जिल्लाको सल्लीबजार सुर्खेतको राकम जोड्ने भेरी नदीको पुल निर्माणमा ढिलाइ हुँदा जाजरकोट सहित ६ जिल्लाका बासिन्दा समस्यामा परेका छन् ।

पुल निर्माण भएमा जाजरकोटसहित रुकुम, सल्यान, डोल्पा, जुम्ला, सुर्खेत लगाएत जिल्लाको यातायात सेवा सहज हुने छ । पुल नहुदा भेरी नदीमा ३५ वर्ष पुरानो फेरीबाट यातायातका साधन वारपार गराउने गरिएको छ । अहिले फेरी बन्द भएकाले यातायात असहज बनेको छ ।

दुई वर्षमा निर्माण गर्ने गरी २०६२ असारमा १ सय ८० मिटर लामो पुल निर्माणको जिम्मा स्वच्छन्द काष्ठमण्डप निर्माण सेवाले लिएको थियो । सरकारले यसै आर्थिक बर्षमा पुल निर्माण गरीसक्ने भने पनि निर्माण कम्पनीको लापरबाहीले ढिलाइ भएको स्थानीयको भनाइ छ ।

जाजरकोटबासी राजधानीसम्म पुगेर छिटो पुल बनाइदिन सरकारसँग बारम्बार माग गरे पनि सुनुवाइ भएको छैन । पुल निर्माण प्रक्रियाको स्थलगत अनुगमन गरेर भौतिक पुर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले असार महिना भित्रै बनाइसक्न निर्माण कम्पनीलाई निर्देशन दिएका थिए ।

‘प्रधानमन्त्रीदेखि बिभागीय मन्त्रीसम्मलाई भेटेर भनिसक्यौं, तर कामको गति उस्तै छ,’ एमाले जाजरकोटका सचिब सीपी घर्तीले भने ।

पुरानो डिजाइन अनुसार पुल निर्माणको काम अगाडि बढ्न नसकेपछि यो बर्ष सडक विभागले अन्तिम विकल्पका रुपमा माइक्रोपाइलिङ प्रविधिबाट निर्माण गर्न निर्माण कम्पनिलाई निर्देशन दिएको थियो । यो प्रविधिबाट काम गरे पनि पुल निर्माण पूरा हुन सकेको छैन ।

‘सकिन्छ भन्न थालेको धेरै भो तर कति पर्खने ?’ उद्योग वाणिज्य संघ जाजरकोटका अध्यक्ष कमानबहादुर खड्काले प्रश्न गरे । पुल निर्माणमा थप लागतसहित ११ करोड रुपैंया लाग्ने सडक डिभिजन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment