Comments Add Comment

उदयपुरका द्वन्द्वपीडितलाई ८७ लाख राहत

९ असार, उदयपुर । जिल्ला प्रशासन कार्यालय उदयपुरले जिल्लामा विगत दश वर्षेकालमा द्वन्द्वमा परेका तथा बेपत्ता परिवारलाई स्थानीय जिल्ला शान्ति समितिमार्फत ८७ लाख रूपैयाँ राहत वितरण गरेको छ ।

जेठको २६ गतेबाट असारको पहिलो हप्ताभित्र जिल्लाका ८७ जना द्वन्द्वपीडितका परिवारलाई राहत वितरण कार्य सम्पन्न गरिएको हो ।

राहत वितरण गरिएका जिल्लाका द्वन्द्वपीडितमा ८१ जना मृतकका परिवार र छ जना बेपत्ता भएका परिवारलाई राहत स्वरुप प्रतिपरिवार एक लाखका दरले ८७ लाख रूपैयाँ राहत वितरण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले जानकारी दिए ।

विगतमा तत्कालीन विद्रोही वा राज्यबाट द्वन्द्वमा परेकालाई नेपाल सरकारबाट पाँच लाख रूपैयाँ राहत दिने निर्णयअनुसार यसअघिनै प्रतिपरिवार तीन लाख रूपैयाँ वितरण कार्य सम्पन्न भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अहिले प्रतिपरिवार एक लाख रूपैयाँको दरले दोस्रो चरणको राहत वितरण गरिएपछि उदयपुरका प्रतिद्वन्द्वपीडित परिवारले चार लाख रूपैयाँका दरले राहत प्राप्त गरिसकेको स्थानीय शान्ति समितिका सचिव तुलसीप्रसाद कोइरालाले जानकारी दिए ।

अहिले जिल्लामा विगत द्वन्द्वकालमा परेर मृतक भएकाको सङ्ख्या ८१ जना रहेका छन् भने छ जना अझैसम्म पनि बेपत्ता रहेको बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment