सन्देश श्रेष्ठ
१५ असार, पोखरा । यातायात कार्यालय पोखराका दुई कर्मचारी मंगलबार घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् ।
सवारी साधन नविकरण गर्न लाग्ने रकम भन्दा बढी रकम लिन खोज्ने यातायात कार्यालय पोखराका लेखा अधिकृतद्वय गोविन्दप्रसाद वराल र लेखापाल नारायणहरी अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले पक्राउ गरेको हो ।
निजी कारको विलबुक नविकरणका लागि यातायात कार्यालय पुगेका सेवाग्राही टेकबहादुर बरुवालसँग उनीहरुले १० हजार घुस लिएका थिए ।
नविकरणका लागि २४ हजार रुपैयाँ लाग्ने भएपनि लेखा अधिकृत द्वय वराल र अधिकारीले ३४ हजार मागेपछि पीडित बरुवाल अख्तियार कार्यालय पोखरा पुगेका थिए ।
लगत्तै यातायात कार्यालय पुगेको अख्तियारको टोलीले आरोपी दुबैलाई पक्राउ गरेको अख्तियार कार्यालय पोखराका सूचना अधिकृत नरेन्द्र भट्टले बताए ।
तस्वीरः सुर्दशन रन्जित/अनलाइनखबर