Comments Add Comment

टेण्डर माग्दै सभासद गालीगलौजमा उत्रिए

२३ असार, सिन्धुपाल्चोक । एक हुल युवासहित स्थानीय विकास अधिकारी महेश बरालको कार्यकक्षमा प्रवेश गरेका काँग्रेस जिल्ला सभापति एवम सभासद मोहनबहादुर बस्नेतले कर्मचारीलाई तथानाम गाली गर्न थाले ।

mohan-bahadur-basnetसभासदले स्थानीय विकास अधिकारी बराल,जिल्ला प्राविधीक कार्यालयका प्रमुख इन्जिनियर, योजना अनुगमन तथा प्रशासकीय अधिकृत र प्राविधिक कार्यालयका केही कर्मचारीहरुलाई हातपातको प्रयास पनि गरे ।

बस्नेतको ठूलो स्वर र अश्लिल शब्दवाण सुरु भएपछि जिविसमा आएका सेवाग्राहीहरु समेत स्थानीय विकास अधिकारीको कार्यकक्ष अगाडी भुम्मिएका थिए । आर्थिक वर्ष सकिनै लाग्दा यसै साता सिन्धुपाल्चोक १ का सभासदले देखाएको हर्कत थियो यो ।

सभासदले स्थानीय विकास अधिकारीकै अगाडी प्राविधिक कार्यालयका प्रमुखलाई पटक पटक अपशब्द प्रयोग गर्दे गालीगलौज गरेर आक्रमणको शैलिमा उत्रेपछि सबै निरीह भएका थिए ।

बस्नेतको अश्लिल शब्दपछि स्थानीय विकास अधिकारी बरालले सुस्तरी भने-‘माननीय ज्यु मुखमा जे आयो त्यही बोल्नु भन्दा पनि शब्द अलि राम्रो चयन गरेर बोल्ने हो की !’ बरालको कुरा सुनेपछि बस्नेत केही साम्य त भए तर उनको आक्रोश अझै घटेन ।

उनी भन्दै थिए- चुनावमा मलाई हराउन लागेका कर्मचारी तिमीहरु होइनौ ? यति भन्दै उनी प्राविधिक कार्यालयका ओभरसियर हेम श्रेष्ठसँग जाइलागे ।

उनी भन्दै थिए त्यो भुपेन्द्र थापाको भाञ्जा के कार्की रे? सँगै रहेकाले चेतबहादुर कार्की भनेपछि बस्नेत झन आक्रोशित हुदै भने-‘त्यो कार्की निकै बढी भएको छ रे,जिविसका साझेा कर्मचारीहरुलाई मार्छु भन्छ रे त्यो कहाँ छ ?

उनको आक्रोसको विषय अरु केही थिएन त्रिपल आरले भुकम्प अघि जिल्लाका तिन वटा सडक निर्माणको लागि टेण्डर आहृवान गरेको थियो । बाह्रविसेको खाग्दाल हुदै बस्नेतको घर नजिकैबाट दोलङसासम्म जाने सडक लगायत अन्य दुइ सडकको टेण्डर भएको थियो ।

भुकम्प लगतै टेण्डर खोल्नु पर्ने भएपनि भुकम्पले कार्यालय सबै ध्वस्त भएपछि असुरक्षित हुने भन्दै केही समयपछि पृुनः टेण्डर गर्न केन्द्रले समेत भनेपछि प्राविधिक कार्यालयले टेण्डर स्थगित गरेको थियो ।

केन्द्रको समेत सहमतीमा टेण्डर स्थगित भएपनि प्राविधिक कार्यालयका विवादस्पद इन्जिनियर अरुणकुमार झा सभासद बस्नेतलाई भेटेर सबै ठाउँको टेण्डर भएपनि तपाँइको गाउँमा जाने सडक नियतबश स्थगित गरेको हो भने ।

यही विषयलाई लिएर बस्नेतले स्थानीय विकास अधिकारी लगायत सबैलाई गाली गरेका थिए । उनले यतिसम्म पनि भन्न भ्याए-‘ सर्वदलीय बैठक गर्नुपर्ला अनि त्यतीबेला कसरी गर्नुहुन्छ बैठक म हेर्छु ।

सांसदको पैसा फ्रिज

बस्नेत दलबल सहित जानुको कारण अर्काे पनि थियो सासंद विकास कोषको १ करोड १५ लाख रुपियाँ भुकम्पको कारण बस्नेतले विनीयोजन गरेका सबै योजना समयमा नै सम्पन्न नभएपछि थर्काएरै भएपनि योजना फ्रिज हुनबाट जोगाउनु ।

बुधबार सम्म बस्नेतका धेरै योजना सम्पन्न भएका छैनन् । जिल्ला विकास समितिले असार २५ गतेसम्म योजनाको भुक्तानी दिने बताएको छ तर प्रत्यक्ष निर्वाचीत तिनै सभासदहरुको योजना भने सम्पन्न भएका छैनन् ।

स्थानीय विकास मन्त्रालय र अरु सरकारी निकायहरुबाट विकासका लागि विनियोजीत रकम मात्रै होइन जिल्लाका प्रत्यक्ष निर्वाचीत संविधान सभाका सदस्हरुले निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत प्राप्त ३ करोड रुपियाँ विभिन्न योजनाहरुमा पनि समस्या भएका छन् ।

सभासदहरुको कार्यक्रम भने ‘दबाब’ दिएर भएपनि थोरै काम भएपनि पुरै रकम लगेका छन् । क्षेत्र नम्बर ३ का सभासद शेरबहादुर तामाङले नविकरणीय ऊर्जा कार्यक्रम अन्तर्गत विनियोजित घर घरमा सभासद कार्यक्रमको १९ लाख समेत धरापमा परेको छ ।

गुन्सा लगायतका गाविसमा चुल्हो खरिदका लागि सभासद कोषबाट १ हजार र अन्य संघ संस्थाहरुको सहयोगमा चुल्हो खरिदका लागि ठुलो रकम विनियोजीत गरिएको थियो । भुकम्पपछि सबै बस्ती नै सखाप भएपछि सभासद तामाङको यो कार्यक्रम समेत धरापमा परेको छ ।

अहिले चुल्हो खरिद गरेर राख्ने र पछि बस्ती बसेपछि पुनःयो कार्यक्रम सञ्चालन गर्ने योजना रहेको सभासद तामाङका प्रतिनिधि कृष्ण गोपाल तामाङले जानकारी दिए । तर जिविस यो प्रस्तावमा सकारत्मक छैन ।

क्षेत्र नम्बर २ का सभासद अग्नि सापकोटाले विभिन्न आठ योजनाका लागि १ करोड विनियोजन गरेका थिए । उनका आठ योजना मध्ये आइतबारसम्म दुइ योजना सम्पन्न भएर भुक्तानी समेत लगिसेकेको योजना अधिकृत खडकाले जानकारी दिए ।

क्षेत्र नम्बर १ का सभासद मोहनबहादुर बस्नेतले ७ देखि २२ लाखसम्मका १० योजनाका लागि रकम विनियोजीत गरेपनि आइतबारसम्म एउटा योजना मात्रै सम्पन्न भएको छ । तीनै सभासदको १५ लाखको योजनामा भने खासै समस्या देखिएको छैन ।

त्यस्तै समानुपातिक सभासद अमृतकुमार बोहरा,रमेश लामा र ल्हार्केल लामाको प्राय योजनाहरु सम्पन्न भएर भुक्तानी प्रक्रिया समेत सम्पन्न भएको खडकाले जानकारी दिए । कतिपय योजनाहरु भने उपभोक्ता समितिलाई थाहै नहुनाले पनि समस्या भएको छ ।

योजनामा रकम विनियोजीत गर्दा सबैलाई खुसी पार्न राजनीतिक दलहरुले थोरै रकम विनियोजीत गरेकाले पनि उपभोक्ताहरु सम्झौता गर्न नै आएनन् । फुल्पिङट्टी गाविसको हिन्दी लुकसीङ सडकको लागि जम्मा ३२ हजार विनियोजीत गरिएको थियो ।

योजना सम्झौता लगायत अन्य काम लिएर उपभोक्ता समितिका तीन जना पदाधिकारीहरु कम्तीमा तिन पटक सदरमुकाम आउनु पर्ने हुन्छ । कन्टीजेन्सी र अन्य खर्च गरी सडक निर्माणको लागि जम्मा पाँच हजार पनि नबस्ने भएपछि उपभोक्ताहरु सडक सम्झौता गर्न नै आएका छैनन् । पाँच हजारको लागि ज्यानको बाजी लगाएर को आउनु फुल्पिङट्टी गाविसका निर्वतमान अध्यक्ष धुव्र पौडेलले भने ।

स्थानीय विकास अधिकारी महेश बराल भने सम्झौता नभएका सबै योजनाहरुको बजेट फ्रिज हुने बताउछन् । भुकम्पका कारण सबै योजनाहरु समयमा नै सम्झौता नभएको बरालले बताए ।

सभासदहरुले आगामी आर्थिक वर्षमा निर्वाचन क्षेत्र पुर्वाधार विकासको बजेट १ करोडबाट बढाएर ५ करोड पुर्‍याउन हस्ताक्षर अभियान चलाइरहेका बेला सिन्धुपाल्चोकमा अघिल्लो बजेटनै कार्यन्वयन नभएको देखिन्छ ।

अघिल्लो वर्षको १ करोडको एक भाग पनि काम नगरि जबर्जस्ति रकम भुक्तानी गराउन खोज्ने सभासद बस्नेतलेनै ५ करोड माग्ने सभासदको लाइनमा माथिनै हस्ताक्षर गरेका छन् ।

यो पनि पढ्नुहोस्
चुनाव क्षेत्रमा पाँच करोड माग्दै सत्तारुढ सभासदको हस्ताक्षर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment