Comments Add Comment

ओलीको इशारामा जब प्रचण्ड कुम हल्लाउदै उठे…

२३ असार,काठमाडौं । प्रमुख विपक्षी दलका नेताको कुर्सीमा बसिरहेका एमाओवादी अध्यक्ष प्रचण्डलाई एमाले संसदीय दलका नेता तथा अध्यक्ष केपी शर्मा ओलीले इशारा गरेर सभामुख आसनको अगाडिको लहरमा बोलाए ।

त्यतिन्जेल पूर्व प्रधानमन्त्री तथा एमालेका बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र माले महासचिव सीपी मैनाली ओलीसँगै एउटै लहरमा उभिइसकेका थिए । प्रचण्ड आनाकानी गर्दै थिए, ओलीले फेरि इशारा गरेर बोलाएपछि कुम हल्लाउदै रोष्टम अगाडि पुगे ।

फाइल फोटो
फाइल फोटो

ओलीले आफ्नै पार्टीका उपाध्यक्ष तथा उपप्रधानमन्त्री बामदेव गौतमलाई पनि बोलाए । प्रधानमन्त्रीसँगैको कुर्सीमा बसेका गौतम फटाफट ओलीतिर गए । त्यसपछि शुरु भयो मुलुकका शीर्ष बामपन्थी नेताहरुको फोटो सेसन ।

शीर्ष कम्युनिस्ट नेताहरुको फोटो खिच्न सभासदहरुको लर्कोनै लाग्यो । कोही स्मार्ट फोनबाट खिच्दै थिए, कोही आइप्याडबाट । एमाले अध्यक्ष केपी ओलीले आफ्नो मोबाइलबाट खिचिदिन भन्दै एक सभासदलाई दिए । माधव नेपालले पनि सभासद प्रेम आलेलाई मोबाइल दिए ।

केही सभासद भन्दै थिए-अब नारायणमान बिजुक्छे र चित्रवहादुर केसीलाई पनि बोलाउनुपर्‍यो । तर, प्रचण्ड दुई चार स्न्याप फोटो हानेपछि आफ्नै कुर्सीतिर लागे । एमाले अध्यक्ष ओली पनि अरु सभासदहरुको आग्रह स्वीकार गर्दै फोटो खिचाउन अर्कोतिर लागे ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति संसद बैठक कक्षमा प्रवेश गर्ने जनाउ सन्देश मर्यादा पालकले नदिएसम्म बैठक कक्ष फोटो सेसन स्थलमा परिणत भएको थियो । मर्यादा पालकले ‘माननीय सदस्यहरु, सम्माननीय राष्ट्रपति ज्यू ! भनेर जनाउ आवाज दिएपछि मात्र सभासदहरु फोटो सेसन छाडेर हतार हतार आ आफ्नो कुर्सीतिर दौडिएको दृष्य हेर्न लायक थियो ।

Sujata-and-bamdev

प्रायःपुरुष सभासद दौरा सुरुवाल र खैरो कोटमा थिए । महिला सभासद पनि सारी चोलो र खैरो कोटमा थिए । संविधानसभा भवन बाहिरदेखिनै सभासदहरुको सामुहिक र एकल फोटो सेसन चलिरहेको थियो । बैठक कक्षमा त करीव आधा घण्टा फोटो सेसनको माहौलनै बन्यो ।

सभासदहरुले फोटो सेसन गरिरहेका बेला संसद सचिवालयले भित्रको दृष्य मिडिया सेन्टरमा पुग्नबाट काटेको थियो । राष्ट्रपति र सभामुख बैठक कक्ष भित्र नपसुन्जेल फोटो पत्रकारहरुलाई पनि बैठक कक्षमा प्रवेश दिइएको थिएन । यहि मौकामा सभासदहरु शीर्ष नेतासँग फोटो खिच्न तँछाडमछाड गरि रहेका थिए ।

सभासदहरुबीच सेलिबि्रटी बनिरहेका थिए एमाले अध्यक्ष केपी ओली । ओलीसँग फोटो खिचाउन सभासदहरुको लामनै लाग्यो । एमाले भन्दा अन्य पार्टीका सभासदरु ओलीसँग फोटो खिचाउन पालो पर्खेर बसेको दृष्य रोचक थियो ।

उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंह र वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलवहादुर थापा फोटोग्राफर बने । प्रकाशमानले अर्का उपप्रधानमन्त्री बामदेव गौतमसँग कांग्रेस सभासदहरुको फोटो खिचिदिए भने थापाले प्रायः नेतासँग सभासदहरु उभिएको फोटो खिचे ।

मन्त्रीहरुमा उद्योगमन्त्री महेश बस्नेतसँग फोटो खिचाउन सभासदहरु झुम्मिए । बस्नेतसँग राप्रपा, नेकपा माले लगायत साना दल र एमालेका सभासदहरुको फोटो खिच्ने काम भने वाणिज्यमन्त्री सुनिल थापाले गरे । बस्नेत आफैं पनि अरुको फोटो खिचिरहेका थिए ।

कांग्रेस बरिष्ठ नेता शेरवहादुर देउवा भने बसेको कुर्सीबाट एक पटक पनि उठेनन् । यतिसम्मकी राष्ट्रपति संसद बैठकमा प्रवेश गर्दा पनि अरु सबै सभासद उठे तर उनी उठेनन् । अन्तिममा राष्ट्रिय गीत बजेपछि भने उनी उठे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment