Comments Add Comment

ओलीले भने- धर्म निरपेक्ष रहँदैन, धार्मिक स्वतन्त्रता रहन सक्छ

८ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेशहरुको सीमांकनलाई पर्खेर संविधान नरोकिने प्रष्ट पारेका छन् । ओलीले संविधान मस्यौदासँगै १६ बुँदे सहमति पुरानो भइसकेको पनि बताएका छन् । उनले संविधानमा धर्मनिरपेक्ष नरहने स्पष्ट पारेका छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

रिपोर्टस क्लवको आयोजनामा बालकोटस्थित ओली निवासमै आयोजित अन्तरक्रियामा अध्यक्ष ओलीले भने-‘सीमांकन टुंगिएन भनेर दश वर्षसम्म पनि संविधान जारी नगर्ने ? सीमांकनको काम आयोगले गर्दै जान्छ, संविधान पनि जारी हुन्छ ।’

ओलीले जनताबाट आएका सुझावकै आधारमा सीमांकनको काम सकेसम्म चाँडो टुंगो लगाउने बताए । ओलीले भने-आयोग बनाउने सहमति भइसकेकाले अब त्यही आयोगले चाँडो आफ्नो काम टुंग्याउँछ ।

अध्यक्ष ओलीले संविधानको मस्यौदा आइसकेपछि दलहरुबीचको १६ बुँदे सहमति स्वतः अर्को चरणमा प्रवेश गरेकाले त्यसको विरोध गरिरहनुको औचित्य नभएको बताए ।

ओलीले संविधानको प्रारम्भिक मस्यादामा जनताबाट आएका उचित सुझावहरु समेटिने बताए । ‘मस्यौदामा जनताले सुझाव दिइसकेकाले त्यस अनुसार संविधान बन्छ’ ओलीले भने ‘जनताका उचित सुझाव समेटिन्छन्, अनुचित सुझाव मान्नुपर्छ भन्ने छैन’ ।

संविधानमा धर्म निरपेक्ष रहँदैन
ओलीले जनताको सुझाव अनुसार नै संविधानमा धर्म निरपेक्ष भन्ने शब्द नराखिने बताए । ओलीले भने- धर्म निरपेक्ष भन्ने अंग्रेजीबाट गलत अनुवाद भएको शब्द हो, मैले पहिले नै भनेको थिएँ यो शब्द ठीक भएन । जनताको सुझाव अनुसार धार्मिक स्वतन्त्रता भन्ने शव्द राख्न सकिन्छ ।

जनताका धेरै सुझावहरु एमालेको एजेण्डासँग मिल्ने गरी आए पनि एमालेसँग संविधान जारी गर्ने पूरै शक्ति नभएकाले कुनै न कुनै विन्दूमा सम्झौता गर्नैपर्ने उनले बताए ।

ओलीले भने- प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हाम्रो एजेण्डा हो, हामीले पाँच प्रदेश भनेको हौं, जनताबाट पनि यही सुझाव आएको छ । तर, हामीले मात्र चाहेर संविधान बन्दैन, किनकि हामीसँग एक तिहाइ मात्र मत भएकाले अरुसँग सम्झौता गर्दा केही कुरा छाड्नुपर्छ ।

ओलीले जनताका सुझावलाई संविधानमा लिपिबद्ध गर्न एमालेले सकेसम्म अन्य दलहरुसँग सहमतिको प्रयास गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment