Comments Add Comment

मुलुकको राजनीति विग्रिएकोमा चिन्तित छन् परदेशिएका नेपाली

मुलुकमा गणतन्त्र आएपछि पनि जनताले परिवर्तनको महशुस गर्न नपाएको चिन्ता ब्याप्त छ । देशभित्र रोजगारीको अभावमा ठूलो संख्यामा युवाहरु विदेशिएका छन् । स्वदेशमा रहेका नेपालीलाई देशको जति चिन्ता छ, विदेशमा पसिना बगाउन गएका नेपालीहरुको चिन्ता त्यो भन्दा कम छैन । देश छाडेर गएपछि त झन् आफ्नो देशको मायाँले सताउँछ । त्यसैले पछिल्लो समय मुलुकको राजनीति विग्रदै गएकोमा प्रवासी नेपालीहरु चिन्तित देखिन्छन् । विदेशमा पसिना बगाउन बाध्य हरेक नेपाली मुलुकको समृद्धि भएको हेर्न चाहन्छन्, अनि स्वदेशमै आएर पसिना बगाउन चाहन्छन् ।
असीमित सम्भावना भएको देशको विकास भए परदेशमा दुःख गर्नु नपर्ने धेरैको बुझाइ छ । परदेशमा भएर पनि नेपालीले आफ्नो देशलाई हर्ने दृष्टिकोणबारे बुझ्न चाहेका छन्, यूएई अनलाइनखबरकर्मी रामप्रसाद ढुंगेलले ।

प्रहरीमा जाखिर खाँदा सुख भएन
नरबहादुर बस्नेत, सर्लाही
nar bahadur basnetम १० वर्ष नेपाल सरकारको सेवा गरेको मान्छे हुँ । देश भन्नेबित्तिकै त्यसै मन भरिएर आउँछ । सामान्य सिपाहीदेखि हवल्दारसम्म भएर देशको सेवा गर्दा कहिले सुख भएन । मलाई दुःख भएर के भो र देशको लागि काम गरिरहेकोमा गर्व थियो । तर गर्व गरेरमात्र छोराछोरीको पेट भरिदैन रहेछ । त्यही भएर म बिदेश हिँडेको हो ।

अहिले फुर्सदमा देश सम्झँदा खुसी पनि हुन्छु, दुःखी पनि हुन्छु । हिजोका पूर्खाहरुको चिनो हो देश । वीरताको चिनो । कसैको अगाडि नझुकेको देश । कुनै विदेशीको पन्जामा नपरेको देश । विदेशीले पनि मानेको र सम्मान गरेको देश नेपाल । गोर्खालीको बहादुरी र इमानदारीको चर्चा विश्वमा छ । तर अहिले आएर पूर्खाहरुको वीरतालाई हामीहरुले मेटाउँदै गएका छौं ।

कहाँ छ त्यो सम्मान नेपालीहरुलाई ? खोई त्यो इमान्दारिता र इज्जत ? रक्सीको नसामा डुबेर बिदेशमा मात्र होइन, नेपालमै पनि बसिनसक्ने वातावरण भएको छ । आधुनिक जमानामा बोक्सीको आरोपमा अपमान सहिरहेका छन् नेपाली महिलाहरु । अझै पनि मानिसले मानिसकै बलि दिएको समाचार सुन्नुपर्छ । त्यो सम्झदा दुःख लाग्छ । नेपाली समाज तडकभडकमा फसिसक्यो । 

अर्कोतर्फ, राजनीतिक दलहरुको कारण देश बिगि्रयो । संविधान नबनेका कारण धेरै जनताले दुःख पाएका छन् । नेपाल भन्नेबित्तिकै मलाई त बिग्रदै गएको नेपाली समाज र राजनीति कहिले सही बाटोमा जान्छ भन्ने चिन्ता हुन्छ ।

नेताका पछि लागेकोमा पश्चात्ताप छ
प्रताप अर्याल, मेघौली ८ चितवन -हालः रासअल खैमा, यूएई)

pratap aryalनेपाल भन्नेबित्तिकै मलाई बन्द र लोडसेडिङको स्मरण हुन्छ । जलस्रोतमा विश्वकै दोस्रो धनी देश भए पनि पानीको सदुपयोग नभएको देख्दा धेरै दुःख लाग्छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश असल नेता र नीतिको अभावले अन्धकारमय छ ।

हाम्रो शिक्षा प्रणाली औपचारिकतामा सीमित छ । पढेका मानिसहरु पनि बेरोजगार छन् । वातावरण राम्रो भए पनि उपयुक्त रोजगार या जागिर नहुँदा लाखौं युवाहरु बिदेसिरहेका छन् । आफ्नो देशका प्राकृतिक साधनहरुको सदुपयोग हुन सकेको छैन । भ्रष्टाचारले सबै क्षेत्र ग्रसित छ । नेपाल सम्झने बित्तिकै नकारात्मक कुराहरुमात्र आउँछन् । तर,पनि देशको मायाले भावुक बन्ने गर्छु । राम्ररी काम गर्न सके नेपालमा सुन फल्दो रहेछ ।

खाडी देशहरुमा तेल र ग्यास भएकै कारण उनीहरु अगाडि बढिरहेका छन् । हाम्रो देशमा भएको प्राकृतिक सम्पदालाई उपयोगमा ल्याउने हो भने हामीले बिदेश जानुपर्ने नै थिएन । अहिलेका नेतृत्वबाट देशको विकास होला भन्ने सम्भावना छैन । नेताहरुलाई परिवर्तन गर्नुपर्छ । कानून कडा हुनुपर्छ । आफैंलाई विश्वास गर्नुपर्छ ।

बन्द र हडताल नेताहरुको राजनीति गर्ने साधन बन्दै गएको छ । बन्दले राजनीतिक दलहरुको स्वार्थ त पूरा होला तर जनतालाई दुःख दिने बन्द र हड्ताल गरेर राजनीतिक स्वार्थ पूरा गर्ने दलहरुको पछाडि लाग्ने जनताहरु नै महामूर्ख हुन् भन्ने कुरा मैले विदेश आएपछि बल्ल बुझें । नेताका निहित स्वार्थका पछि लागेको कुरामा अहिले आएर पश्चात्ताप लागेको छ ।

दलाली र भ्रष्टाचारीले देश डुबाए
प्रेम गुरागाईं, दमक -हाल ः अबुधाबी)
prem guraingainमलाई त नेपाल भन्ने बित्तिकै भ्रष्टाचारी, दलाल र ठगहरु ब्ास्ने देश हो जस्तो लाग्छ । यस्को अर्थ सर्वर्साधारण जनतालाई दोष दिन मिल्दैन तर प्रसाशन र राजनीतिको स्थानीय तहदेखि उच्च तहसम्म बसेका मानिसबाट पाइलापाइलामा भएको दलाली र भ्रष्टाचारीले देश डुबाएका छन् । प्रकृतिले साथ दिए पनि असल नेताहरुको अभावमा मुलुकले विकास गर्न सकेन । नेपाल कृषिप्रधान देश हो । कृषिबाट नेपालको विकास सम्भव छ ।

आधुनिक तरिकाले खेती गर्ने हो भने नेपालको माटोमा के फल्दैन ? मौसम कति उपयुक्त छ नेपालमा । पशुपालनमा युवालाई समेटी आधुनिक तरिकाले काम गर्ने हो भने व्यक्ति तथा देशकै विकास हुन्छ । उत्पादनमूलक क्षेत्रमा लगानी गरे देशको चौतर्फी विकास हुन्थ्यो ।
नेपालको विकासका लागि विदेशी लगानी अति आवश्यक छ ।

विदेशी लगानीका साथमा कार्यशैली, प्रविधि र अनुभवलाई अनुशरण नगर्ने हो भने नेपालको अवस्थामा खासै परिवर्तन आउँदैन । देशको विकास गर्ने भिजन कसैसँग देख्दिन । राम्रो पढाइ भएका युरोप र अमेरिकातिर छन् । कर्मठ युवाहरु ख्ााडीतिर छन् । देश दलालहरुको पन्जामा परेको छ । मलाई त नेपाल भन्नेबित्तिकै बाँदरका हातमा नरिवल भन्ने उखानको याद आउँछ । धेरै सम्भावना भएको मुलुक नेपाललाई बाँदरले नरिवल फालेझैं फालिएको अवस्था छ । तर सधैं त्यस्तो नहोला । नयाँ विचार भएका मानिसहरु सत्ता र शक्तिमा पुगे भने देश बन्ला भन्ने कामना गर्दछु ।

विदेश अाएपछि देशकाे याद अाउँछ
लोचन कंडेेल, झापा (हाल ः अजमान, यूएई)
lochan kandelनेपालको नाम लिँदा मनमा शान्ति मिल्छ । तातो घामले कहिलेकाँही पोलेपछि जब देश सम्झिन्छु, मनमा शीतल हुन्छ । आफ्नै गाउँ, समाज अनि घर र परिवारलाई सम्झिन्छु नेपालको कुरा गर्दा । त्यो गाउँका साथीहरु के गर्दै होलान् ? नेपालमा के कति विकास भयो होला । गाउँमा के के घटना भए होलान्? को को जन्मिए, को को मरे होलान् ?

यस्तैयस्तै चाहिने र नचाहिने कुराहरु मनमा खेल्छन् । देशमै किन गरिखान सकिएन ? यो प्रश्नले हरदम सताउँछ । पढेर मात्र नहुने रहेछ नेपालमा । माथिल्लो तहमा कोही आफन्त छ या पैसा खर्च गर्ने हो भने जे पनि छ नेपालमा । सोर्सफोर्सले काम गर्ने नेपालमा यस्तो अवस्था कहिलेसम्म रहला र कहिलेसम्म हामी जस्ता युवाले बिदेसिइरहनुपर्ला ? यही चिन्ताले सताउँछ ।

म नहुँदा देशलाई के हुन्छ र परिवारलाई के हुन्छ भन्ने प्रश्न उठ्छ कहिलेकाही । अनि देश भनेको भावना हो कि भूगोल ? कल्पना हो कि यथार्थ ? आफैं कन्फ्युज हुन्छु । कहिलेे देश ठूलो लाग्छ कहिले परिवार । मलाई हिजोआज नेपाल सम्झिँदा यस्तैयस्तै फिलिङ हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment