Comments Add Comment

गृहमन्त्रीको जवाफः दलित सभासदले सार्वजनिक सवारीमा ढुंगामुढा गरे

Bamdev-Gautam

२० साउन, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले दलित सभासद तथा अधिकारकर्मीहरुले सार्वजनिक सवारी साधनमा ढुंगामुढा गरेकाले प्रहरीले बल प्रयोग गर्नु परेको दाबी गरेका छन् ।

दलित संयुक्त संघर्ष समितिले मंगलबार विजुलीबजारमा गरेको धर्नामा प्रहरीले बल प्रयोग गरेपछि सभासदहरुले सरकारको जवाफ मागेका थिए । लगतै सभामुख सुवास नेम्वाङले घटनाबारे जवाफ लिन गृहमन्त्रीलाई रुलिङ गरेका थिए ।

सभामुखको रुलिङ अनुसार बुधबारको बैठकमा जवाफ दिँदै गृहमन्त्री गौतमले दलित सभासद र अगुवाहरुले सार्वजनिक सवारी साधनमा ढुंगामुढा गरेको तथा प्रहरीमाथि जाइलागेको आरोप लगाए । ‘दलित संघर्ष समिति र दलित अधिकारकर्मीले सार्वजनिक सडकमा सर्वसाधरणको आवागमनमा अबरोध गर्दा त्यसो नगर्न प्रहरीले पटक पटक आग्रह गरेको थियो’ उनले भने-‘तर, उल्टै सार्वजनिक सवारी साधनमा ढुंगामुढा गरेर प्रहरीमाथि नै जाइलाग्दा दुःखद घटना हुन पुग्यो ।’

मन्त्री गौतमले घटनामा घाइते भएका दलित सभासद र अधिकारकर्मीको उपचार गर्ने बताएका छन् । उनले बिजुलीबजारमा भएको घटनाबारे छानविन गर्ने र घटनाको भिडियो सदनमा पेश गर्ने बताए ।

लगत्तै कांग्रेस सभासद मानबहादुर विश्वकर्माले गृहमन्त्रीको जवाफ गलत भएको बताएका छन् । एमाओवादी सभासद रुपा महर्जनले संसदमा गृहमन्त्रीको जवाफबाट सन्तुष्ट हुन नसकेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment