Comments Add Comment

एउटा ‘फूच्चे दार्शनिक’को गुमनाम अन्त्य !

Rajeshwor Debkota

मात्रिका पौडेल

सूर्यबहादुर थापा र राजेश्वर देवकोटा लामो समय एउटै व्यवस्था अर्थात पञ्चायतको रखवाला भए । थापा प्रधानमन्त्री हुँदा देवकोटा राष्ट्रिय पञ्चायतको अध्यक्ष थिए । बहुदलीय व्यवस्थामा पनि यी दुई एउटै पार्टीमा रहे । तर, राजनीतिमा थापा र देवकोटा कहिल्यै मिलेनन् ।

फुच्चे दार्शनिकको जन्म

विसं. ०५३ सालतिर सरकार बनाउने र ढाल्ने खेलमा राप्रपा निणर्ायक शक्ति थियो । सूर्यबहादुर थापा कांग्रेसको सहयोगमा प्रधानमन्त्री बनेपछि देवकोटाले त्यो गठबन्धनलाई अनैतिक भनेका थिए । आफ्नै पार्टी बिभाजन गर्नसमेत तयार भएपछि थापालाई देवकोटाले कठोर प्रहार गरेका थिए ।

देवकोटालाई थापाको जवाफ थियो-फुच्चे दार्शनिकका कुरा सुन्ने फुर्सद यो सूर्यबहादुरलाई छैन ।

राजनीतिमा माथिल्लो उचाइ भेटे पनि राजेश्वर देवकोटाको शारीरिक उचाइ औषत मान्छेको भन्दा पनि होचो थियो । सायद त्यसैले उनलाई थापाले फुच्चे दार्शनिक भनेका होलान् ।

विपरीत बिचारको सहयात्रा

संयोग नै मान्नुपर्छ, राजनीतिको लामो यात्रासँगै गरेका थापा र देवकोटा करीव पाँच महिनाको अन्तरमा अनन्त यात्रामा पनि सँगै निस्किएका छन् ।

कुनैबेला नेपाली राजनीतिको शिखरमा रहेका पाका राजनीतिज्ञ राजेश्वर देवकोटाको साउन २५ गते सोमवार ८६ वर्षको उमेरमा करीव-करीव गुमनाम मृत्यु भएको छ ।

सर्बोच्चमा गोरु ब्यायो

विसं. ०५२ साल भदौ १२ गते सर्बोच्च अदालतले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले गरेको प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनको प्रस्तावलाई खारेज गरेको थियो । त्यो फैसलालाई कांग्रेसले दिपावली सहित स्वागत गर्‍यो भने एमाले सडक आन्दोलनमा उत्रियो ।

त्यसबेलाको तेस्रो ठूलो दल राप्रपाका सहअध्यक्ष रहेका देवकोटाले सर्बोच्च अदालतको फैसलामा प्रतिक्रिया दिँदै भनेका थिए-सर्बोच्चमा गोरु ब्यायो ।

सर्बोच्चमा गोरु ब्यायो भन्ने उनको यो प्रतिक्रियाले त्यसबेला निकै ठूलो बजार पाएको थियो । यति प्रतिक्रियाका कारण उनले अदालतको मानहानीको मुद्दा पनि खेप्नुपरेको थियो ।

तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायले विवेक गुमाएर फैसला गरेको भन्दै उनले यसको सजायँ मुलुकले भोग्ने चेतावनी दिएका थिए ।

त्यसो त महाकाली सन्धीका बेलामा पनि राष्ट्रिय सभामा रहेका राष्ट्रवादी देवकोटाले पार्टी नीति विपरीत सन्धीको विपक्षमा मतदान गरेका थिए । एमालेका वामदेव गौतमहरुले सन्धीको विरोध गरे पनि विपक्षमा भोट हाल्न सकेनन् । तर, राप्रपा नेता देवकोटाले सन्धीको विपक्षमा मतदान गरे ।

पत्रकारलाई सास्ती

छोटो र सटिक एवं व्यंग्यात्मक शैलीमा बोल्ने उनको स्वभावक अरु नेताहरुको भन्दा पृथक थियो । उनीसँग अन्तर्वार्ता गर्न जाने पत्रकारले पहिले नै सम्भावित प्रश्न र प्रतिप्रश्न पनि तयार गरेर जानुपथ्र्यो । जतिसुकै लामो प्रश्नको पनि एकै लाइनमा जवाफ दिने उनको मौलिक शैलीका कारण धेरै पत्रकार संकटमा पर्थे । त्यो संकट मैले पनि भोगेको छु ।

गोकुलजस्तै घर

राजेश्वर देवकोटाको बालुवाटार पछाडिको घरमा जाने जोकोही पनि खाली मुख फर्किदैनथिए । उनी आफैंले ठेकीमा पारेको मोही खुवाएर पठाउँथे । उनले घर अगाडि गोठ बनाएरै गाई पाले जीवनभर ।

आफ्नै गाईको दूध र मोही पिउँथे । हरेक दिन सिजन अनुसार बिहानै बारी खन्ने उनको बानी थला नपरेसम्म कायमै रहेको पारिवारिक सदस्यहरु बताउँथे ।

देवकोटाको घरमा आफ्नै बारीको तरकारी पाक्थ्यो । कट्टर बाहुन परिवारका यी धार्मिक नेताको घर पुग्दा गाउँघरतिरका कुनै पण्डितको घरमा पुगे जस्तै लाग्थ्यो । पत्रकार भुवन शर्मा भन्थे- राजेश्वर देवकोटाको घर गोकुल जस्तो लाग्छ ।

झण्डा र गाडीको किस्सा

Rajeshwor Debkota (1)राजनीतिमा यिनलाई विद्धता, क्षमता र योग्यताले साथ दिए पनि बेला बेलामा उनको शारीरिक कदले धोखा दिएको भन्नेहरु पनि छन् । राजेश्वरसँग गाँसिएको एउटा किस्सा कुनै बेला निकै चर्चित थियो ।

राष्ट्रिय पञ्चायतको अध्यक्ष हुँदा झण्डावाल गाडीमा कतै निस्किँदै थिए । सिंहदरबारको गेटमा प्रहरीले रोकेर भीआइपीबिना गाडीमा किन झण्डा फहराएको भनेर चालकलाई सोधेछन् । त्यसपछि देवकोटाले पछाडि सिटमा उभिएर ‘म यहाँ छु’ भन्नु परेको थियो । उनलाई एकपटक यो प्रश्न सोध्दा दार्शनिक ढंगले पन्छाएका थिए ।

अग्लो कद र ठूलो पेटधारी एमाले नेता राधाकृष्ण मैनाली र होचो कद भएको लिखुरे नेता राजेश्वर देवकोटा एउटै भोजभतेरमा भेट हुँदा निकै हाँसोमजाक चल्ने गर्थ्यो । मैनालीको पेटले देवकोटालाई छेकेको प्रसंग निकै ठाउँमा आउँथ्यो ।

तर, शारीरिक रुपमा होचो कद भए पनि सक्रिय राजनीतिमा रहुन्जेल देवकोटा सधैं राजनीतिक र नैतिक रुपमा सधैंभरि अग्लो कदका शिखर व्यक्तित्वका रुपमा देखिए ।

प्रधानमन्त्रीबाहेक सबै

पञ्चायतकालमा सांसद, मन्त्री र अहिले सभामुख भने जस्तै त्योबेलाको राष्ट्रिय पञ्चायत अध्यक्ष भए पनि उनी प्रधानमन्त्री बन्न पाएनन् । बहुदलपछि यिनले एमालेको साथ लिएर राष्ट्रिय सभाको सांसद बन्ने बाहेक अरु अवसर पाएनन् ।

नैतिकताको उच्चतम अभ्यास गर्नुपर्छ भन्ने यी धार्मिक नेता पञ्चातयकालमा पनि कुनै आर्थिक विवादमा नपरी चोखो निस्किने थोरै पञ्चहरुमा परे ।

प्रजातन्त्र माग्दा देश निकाला

राजेश्वर देवकोटा १९८६ असोज २३ गते गोरखाको पण्डित गाउँस्थित लिगलिगमा जन्मिएका थिए । विक्रम संवत २००४ सालको जयतु संस्कृतिक आन्दोलनका अगुवा भएपछि उनलाई राणा शासकले देश निकाला गरे । त्यसपछि उनले २००७ सालसम्म राणा शासन विरुद्ध गोरखाबाट नेतृत्व गरे ।

तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन लागु गरेपछि उनी त्यस व्यवस्थापको कट्टर अनुयायी बने । राजतन्त्रप्रति उनको भक्ति जीवन पर्यन्त रहृयो । उनी नेपालबाट राजतन्त्र अन्त्य भएकोमा चिन्तित थिए । गोरखाका राजाले यिनको पूर्खालाई पुरेतका रुपमा काठमाडौं ल्याएकाले पनि राजदरवारसँग यिनी सधै नजिक रहे ।

राजनीतिमा एक्लो

कवि, साहित्यकार, निबन्धकार, प्रखर राष्ट्रवादी छवि देवकोटाको जीवनको अर्को पाटो थियो । यिनी पद र प्रतिष्ठा पाएर पनि सामान्य जीवन बिताउन खोज्थे । अधिकार दुरुपयोग गरेर आफन्त र आसेपासे पोस्न नचाहेकै कारण यिनी प्रायः राजनीतिमा एक्लो भए ।

जीवनको उत्तरार्धमा उनी राजनीतिमा अलग गुमनाम पात्रका रुपमा रहे । राजनीतिले काँचुली फेरेझै, आफ्नो चरित्र फेर्न नचाहेकै कारण उनी अपडेट हुन सकेनन् । जसका कारण आजको नयाँ पुस्ताले राजेश्वर देवकोटा को थिए भन्ने थाहै पाएन ।

साहित्यका सिद्धहस्त

राजनीतिभन्दा साहित्यमा उनी झनै सशक्त थिए । उनका धेरै कृतिहरु अहिले पनि विश्वविद्यालयका पाठ्पुस्तकमा पढाइ हुन्छन् । उनको उत्सर्ग उपन्यासले ०४४ सालमा मदन पुरस्कार पायो । ०४३ सालमा पूर्व कथा उपन्यासका लागि साझा पुरस्कार पाएका देवकोटाको लेखन सशक्त थियो ।

देवकोटाका दर्जनौं कृतिहरु र ब्याकरण सम्बन्धी रचना चर्चित छन् । पूर्वीय दर्शनबाट प्रभावित देवकोटाका निबन्धहरुमा प्रेमरस छ । नेपाली राजनीति र साहित्यका एक प्रखर शिल्पी अब हामीबीच रहेनन् । अलबिदा राजेश्वर देवकोटा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment