+
+

प्रक्रिया पूरा नगरी आयल निगममा गरिएको नियुक्ति खारेज गर : संसदीय समिति

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन २८ गते १५:४६

२८ साउन, काठमाडौं । व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले नेपाल आयल निगमले करार कर्मचारी प्रक्रिया पूरा नगरी नियुक्त गरेको भन्दै खारेज गर्न निर्देशन दिएको छ ।

निगम २० अर्बभन्दा बढी घाटामा रहेका बेला प्रक्रिया पूरा नगरी ८० जना कर्मचारी नियुक्त गरिएकाले खारेज गर्न वाणिज्य तथा आपूर्ति मन्त्रालय र निगमलाई निर्देशन दिइएको सभापति भीष्मराज आङ्देम्बेले जानकारी दिए ।

“निगमको सङ्गठन र व्यवस्थापन बमोजिममात्र कर्मचारीलाई करारमा नियुक्त गरिनुपर्नेमा प्रक्रिया पूरा नगरेको देखिएकाले खारेज गर्न निर्देशन दिइएको हो, खारेजीको प्रक्रिया पूरा गरी समितिलाई जानकारी गराउन मन्त्रालय र निगमलाई निर्देशन दिइएको हो”– उनले भने ।

निगमको कर्मचारी सङ्गठन संरचना, प्रशासनिक खर्चको अवस्थासम्बन्धी विवरण निगमबाट लिई समितिले अध्ययन गरेपछि मात्र नियमानुसारको कर्मचारी भर्नासम्बन्धी प्रक्रिया अघि बढाउन पाइने निर्णय पनि समितिको बैठकले गरेको छ ।

विसं २०७० मा विज्ञापन गरी २०७२ असारमा नियुक्त गरिएका १०९ कर्मचारीका सम्बन्धमा अर्को बैठकमा छलफल गरिने पनि सभापति आङ्देम्बेले बताए ।

बैठकमा निगमका कार्यकारी निर्देशक गोपाल खड्काले कर्मचारी कसैको तोक आदेशका भरमा नभई आवश्यकताका आधारमा राखिएको बताए ।

मन्त्रालयका निमित्त सचिव तोयनारायण ज्ञवाली र सहसचिव शम्भुप्रसाद घिमिरेले निगममा कर्मचारी भर्ना गरिएका विषयमा अध्ययन गरी समितिलाई जानकारी गराउने प्रतिबद्धता जनाएका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?