१ भदौ, जलेश्वर । महोत्तरी सदरमुकाम जलेश्वरबाट हतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका १ बस्ने ४३ वर्षीय बिजय गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

गुप्ताको साथबाट दुई थान पेस्तोल र १७ राउण्ड गोली बरामद भएको प्रहरी उपरीक्षक सौरभ राणाले जानकारी दिए ।
जलेश्वर २ बस्ने श्रीराम चौधरीको घरमा डेरा गरी बस्दै आएका गुप्तालाई प्रहरीले सोमबार राती घर धनीसँग झगडा गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । पछि थप अनुसन्धानको क्रममा गुप्तासँग हतियारसमेत रहेको भन्ने जानकारीको आधारमा प्रहरीले उनी बस्दै आएको कोठामा खानतलासी गर्दा मंगलबार बिहान हतियार बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
खानतलासीको क्रममा कागज र पोलिथिनमा प्याक गरी घरको छतमा लुकाइराखेको अवस्थामा हतियार फेला परेको थियो ।
गुप्ताले घरको छतमा लुकाईराखेको ९ एमएमको मेडईन अमेरिका लेखिएको अटोमेटिक पेस्तोल १ थान, सोमा प्रयोग हुने १५ राउण्ड गोली, २ थान म्याग्जिन, सिक्सर पेस्तोल १ थान, सोमा प्रयोग हुने गोली २ राउण्ड र खुकुरी १ थान लगायतका हतियारहरु बरामद हो ।
प्रहरीले घटनाको सम्बन्धमा अनुसन्धान थालेको छ । प्रहरी उपरीक्षक राणाका अनुसार गुप्ताले कुनै आपराधिक घटना गराउन सो हतियार ल्याएको हुनसक्ने भन्दै थप अनुसन्धान थालिएको जानकारी दिए ।
प्रतिक्रिया 4