Comments Add Comment

मैयादेवी श्रेष्ठले गरिन् १० करोड दान

२ भदौ, चितवन । पूर्व सांसद मैयादेवी श्रेष्ठले आफ्नो नाममा रहेको घर र दुई करोड नगद मैयादेवी ट्रष्टलाई हस्तान्तरण गरेकी छन् । श्रेष्ठ बस्दै आएको भरतपुर उपमहानगरपालिका–३ मा रहेको करिब आठ करोड रूपैयाँ पर्ने घर र नगद दुई करोड गरी १० करोडको सम्पत्ति बुधबार चितवनमा आयोजित एक समारोहबीच उनले ट्रष्टलाई हस्तान्तरण गरेकी हुन् ।

Maiyadebi-Shresth-Chitwan

शिक्षा मन्त्री चित्रलेखा यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा श्रेष्ठले घरको लालपुर्जा र चेक ट्रष्टका अध्यक्ष प्रेमकुमार श्रेष्ठलाई हस्तान्तरण गरिन् ।

प्रेस युनियन चितवनलाई जग्गा दिने घोषणा

सो अवसरमा उनले नेपाल प्रेस युनियन चितवनको भवन निर्माणका लागि भरतपुरमा जग्गा दिने घोषणा पनि गरिन् ।

मैयादेवी ट्रष्टलाई घरजग्गा र नगद हस्तान्तरण गर्दै उनले आफ्नो नाममा रहेका बाँकी जग्गा, धनसम्पत्ति एवम् गरगहनासमेत सामाजिक क्षेत्रमा दान गर्ने बताइन्न् । ८७ वर्षिया श्रेष्ठले पछिल्लो समय आफ्नो स्वास्थ्य बिग्रँदै गएपछि बाँकी रहेको सम्पत्ति संस्थागत रुपमा सामाजिक क्षेत्रमा सहयोग पुर्याउन आफ्ना नाममा ट्रष्ट खोलेर हस्तान्तरण गरेको जानकारी दिइन् ।

श्रेष्ठले हालसम्म यसका अतिरिक्त विभिन्न सङ्घ संस्था र व्यक्तिलाई गरी ६२ करोड रूपैयाँ भन्दा बढीको भूमिदान एवम् सहयोग गरी सकेको सो अवसरमा जानकारी गराइएको थियो । श्रेष्ठले १० करोड खर्च गरी मैयादेवी कन्या कलेज निर्माण गरिदिएकी छन् ।

त्यसैगरी, नेपाली काँग्रेसको केन्द्रीय कार्यालय जिल्ला कार्यालय चितवन भरतपुर–३ को नेपाली काँग्रेसको वडा कार्यालयको भवन निर्माण गर्न र नेपाली काँग्रेसका नेता तथा कार्यकर्तालाई समेत गरी छ करोड ५० लाख रूपैयाँ बराबरको जग्गादान श्रेष्ठले  गरेको ट्रष्टका महासचिव टङ्कनाथ पौडेलले जानकारी दिए ।

श्रेष्ठले आफ्नो आश्रममा रहेका र आफूले पालेका विभिन्न परिवारलाई ३३ करोड ५७ लाख रूपैयाँको भूमिदान गरिसकेकी छन् ।

सो अवसरमा शिक्षामन्त्री यादवले श्रेष्ठको व्यक्तित्वबारे चर्चा गरेकी थिइन् ।

कार्यक्रममा नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले स्वर्गीय गिरीजाप्रसाद कोइरालाले समेत चर्चा गर्ने एकमात्र व्यक्तित्व श्रेष्ठले सामाजिक सेवामार्फत विकासमा लागेको बताइन् ।

ट्रष्टले घर बहालको रकम र ब्याजबाट सामाजिक क्षेत्रमा काम गर्ने जनाएको छ । विसं १९८५ असोज ५ गते जन्मिएकी श्रेष्ठले २००३ सालमा नेपाली राष्ट्रिय काँग्रेसमा प्रवेश गरी राजनीतिक र सामाजिक कामको थालनी गरेकी थिइन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment