Comments Add Comment

के तपाईंसँग आफ्नै लागि १५ मिनेट समय छ ?

बिहान ओछ्यान छाड्दै गर्दा तपाईंको दिमागमा दिनभरको कामबारे योजनाहरु बन्न थाल्छ । के गर्ने, कसलाई भेट्ने, कहाँ जाने यी सबै कुरा मोटामोटी तय हुन्छ ।

शौच कर्म सक्नुहुन्छ । फ्रेस हुनुहुन्छ । हतार हतार चिया नास्ता खानुहुन्छ । घरबाट निस्कनुहुन्छ । यतिबेला पनि तपाईंको दिमागमा उही कुरा सल्बलाइरहका हुन्छन् । कसलाई के भन्नुपर्ने हो, कसलाई भेट्नुपर्ने हो, कोसँग के काम गर्नुपर्ने हो इत्यादि ।

दिनभर काममा व्यस्त हुनुहुन्छ । साँझ थकित ज्यान लिएर घर र्फकनुहुन्छ । विश्राम गर्नुहुन्छ ।

अनुमान गर्न गाह्रो छैन, दिनभरमा तपाईंले जे-जे गर्नुभयो, ति सबै आफ्नो काम, करियर, परिवार, उद्यम-व्यवसायका लागि गर्नुभयो । तपाईंको दिमागलाई हरक्षण यी कुराहरुले कहिल्यै छाड्दैनन्, कसरी कमाउने ? कसरी जागिरमा स्तरोन्नती हुने ? कसरी व्यापारको दायरा बढाउने ? कसरी घर-घडेरी जोड्ने ? कसरी बैंक ब्यालेन्स बढाउने ?

अब सोच्नुहोस् त, के यसबीचमा तपाईंले कहिल्यै नितान्त आफ्नो खातिर केही गर्नुभयो ? दिनभर तपाईंको मनको इशारामा दौडने शरीरको भाषा सुन्नुभयो ?

संभवत तपाईंले दिनभर जे-जति गर्नुभयो, आफ्नै भलाईको खातिर गर्नुभयो । तर, त्यसो भन्दैमा तपाईंले नितान्त आफ्नो निम्ति समय दिनुभयो भन्न सकिदैन । तपाईंले आफ्नो शरीरको भाषा सुन्नुभयो भन्न सकिदैन ।

अर्थात तपाईंले आफ्नो शरीरलाई उपेक्षा गर्नुभयो । तपाईंले आफैलाई हेला गर्नुभयो । काम, करियर, प्रतिष्ठाको चक्करमा तपाईंले आफैलाई महत्व दिनुभएन ।

हो, यही कारण त शरीर तपाईंको प्रतिकुल हुँदैछ । अर्थात दिनदिनै शरीर जीर्ण हुँदैछ । रुखो हुँदैछ । कमजोर हुँदैछ । शिथिल हुँदैछ । रोगी हुँदैछ ।

केवल १५ मिनेट आफ्नै लागि

विहान उठ्नसाथ तपाईं के गर्नुहुन्छ ?

मनतातो पानी पिउनुहुन्छ । शौच क्रिया फत्ते गर्नुहुन्छ । त्यसपछि पत्रपत्रिका हेर्नुहुन्छ वा फेसबुकमा झुन्डिनुहुन्छ । चिया पिउनुहुन्छ । के तपाईं यो तालिकालाई थोरै फेरबदल गर्न सक्नुहुन्छ ? यदि सक्नुहुन्छ भने तपाईं केवल १० वा १५ मिनेट आफ्नै खातिर छुट्याउनुहोस् ।

यो समय नितान्त तपाईंको लागि हो । एक दिन अर्थात १२ घण्टामा तपाईंले केवल आफ्नै लागि १० वा १५ मिनेट निकाल्न किन कञ्जुस ?

चिया पिउनुअघिको समय तपाईंले यो समय छुट्याउन सक्नुहुनेछ । अब ओछ्यान वा अरु कुनै शान्त ठाउँमा बस्नुहोस् । संभव भएसम्म ध्यान मुद्रामा बस्नुहोस् । र, नितान्त आफ्नो शरीर, आफ्नो आत्मामाथि ध्यान केन्दि्रत गर्नुहोस् । यतिबेला तपाईंले आफुबाहेक कसैलाई पनि नसोच्नुहोस् । आफ्नो परिवार, छोराछोरी, पार्टनर, साथीभाई ।

शरीर कस्तो छ ? के सबै कुरा ठिकठाक छ ? कुनै समस्या छ ? कुनै भागमा केही पीडा पो छ कि ?

मनमनै शरीरको अंग-प्रत्याङ्गमाथि घोत्लिनुहोस् त । मुटु, कलेजो, फोक्सो, मिर्गौला सबैको कार्य क्षमता कस्तो होला ? के तपाईंका फोक्सोले सही ढंगले काम गरिरहेको होला ? मिर्गौला स्वस्थ्य होला ? मुटुलाई कुनै बोझ छैन होला ? आन्द्राको अवस्था के होला ? पाचन तन्त्र ठिक होला ?

अब तपाईं आफ्नो आत्मासँग अन्र्तसंवाद गर्नुहोस् । सोध्नुहोस्, म को हुँ ? मैले के गरिरहेको छु ? मैले के गर्नुपर्छ ?

के म शान्त छु ? के म सन्तुष्ट छु ? के म खुसी छु ? के म सही छु ?

तपाईंको आत्माले तपाईंसँग कहिल्यै झुटो कुरा गर्नेछैन । आत्माले सरासर भन्नेछ, ‘तँ दुःखी छस् । तँ असन्तुष्ट छस् । तँ गलत छस् ।’

आखिर किन असन्तुष्ट ? किन दुःखी ?

यसको जवाफ पनि आत्मासँग छ । दुःख, असन्तुष्ट कुनै भौतिक अभाव वा अपुग होइन । यो एक मानसिक स्थिती हो । भौतिक कुराले मान्छेलाई कहिल्यै सन्तुष्ट, सुखी तुल्याउँदैन, भलै त्यो माध्याम हुनसक्छ । यद्यपी सुखी हुनु, सन्तुष्ट हुनु भनेको आफुले आफैमाथि भरोसा गर्नु । आफुले आफैलाई विश्वास गर्नु । आफुले आफैसँग ढुक्क हुनु हो ।

आफ्नो आत्मासँग अन्र्तसंवाद गर्नुहोस् । शरीरसँग अन्र्तसंवाद गर्नुहोस् ।

अब सुन्नुहुनेछ, शरीरको आवाज । आत्माको आवाज ।

यस किसिमको अभ्यासले तपाईंलाई क्षणभरको लागि भएपनि घर परिवार, समाज, दुनियाँबाट अलग गराउँछ । मोवाइल, ल्यापटप, काम धन्दा, उद्यम, जागिर, असाइनमेन्ट सबैबाट मुक्त गराउँछ । तपाईंले नितान्त तपाईं आफुसँग समय साट्न सक्नुहुनेछ । तपाईंले आफ्नै शरीरको कुरा सुन्नुहुनेछ ।

के दिनमा यत्तिका समय दिनसक्नुहुन्न ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment