News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनको कसरा पर्यटन व्यवसायी समिति र सिक्किम युनाइटेड टुरिजम अर्गनाइजेसनबीच भगिनी सम्बन्ध स्थापना भएको छ।
- सम्झौतामा दुवै पक्षले पर्यटन आदानप्रदान, संस्कृति आदानप्रदान, दिगो पर्यटन विकास र पर्यावरण संरक्षणमा सहकार्य गर्ने उल्लेख छ।
- सिक्किमका अध्यक्ष शिवाकोटीले सिक्किम र पटिहानी बीच पर्यटन प्रवर्द्धनका लागि विभिन्न प्याकेज बनाउन सहयोग गर्ने बताए।
१९ मंसिर, चितवन । चितवनको भरतपुर महानगरपालिका–२२ मा रहेको कसरा पर्यटन व्यवसायी समिति र सिक्किम युनाइटेड टुरिजम अर्गनाइजेसन बीच भगिनी सम्बन्ध स्थापित भएको छ ।
पटिहानीको होटल सोल्टीमा आयोजित एक कार्यक्रमका बीच कसरा पर्यटन व्यवसायी समितिका उपाध्यक्ष चोपलाल पाण्डे र सिक्किम युनाइटेड टुरिजम अर्गनाइजेसनका अध्यक्ष गणेश शिवाकोटी बीच भगिनी सम्बन्ध स्थापित गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
भरतपुरको प्रमुख पर्यटकीय केन्द्रका रूपमा स्थापित हुँदै गएको पटिहानीको पर्यटन व्यवसायलाई अझै माथि उठाउन नेपाली भाषीहरूको बहुल क्षेत्र सिक्किमसँग दिगो सम्बन्ध राख्ने उद्देश्यले भगिनी साइनो जोडिएको उपाध्यक्ष पाण्डेले बताए ।
कसरा पर्यटन व्यवसायी समिति चितवन र सिक्किम युनाइटेड टुरिजम अर्गनाइजेसन वीच भएको सम्झौता पत्रमा वारिपारी (पटिहानी र सिक्किम)को सम्बन्ध अझै प्रगाढ तथा गाढा बनाउने, दुई पक्षीय पर्यटन आदानप्रदान गर्दै दुवै तर्फबाट नयाँ सम्भावनाहरूको अध्ययन गर्ने, दुवैतर्फको संस्कृति आदानप्रदान गर्ने, अर्गानिक खेती प्रणालीको सिकाइ अनुभव आदान प्रदान गर्ने, पर्यावरण र वातावरण संरक्षण, दिगो पर्यटन विकासका लक्ष्यहरू निर्धारण, पर्यटन विकास कार्यशाला सञ्चालन गर्ने जस्ता विषय समेटिएका छन् ।
सिक्किमले ग्रामिण र दिगो पर्यटनमा गरेका असल अभ्यासहरूका सिकाइलाई पटिहानी कसरा क्षेत्रमा पनि आदिवासी थारु जातिलाई मुख्य प्राथमिकतामा राखेर विभिन्न कामहरू गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
पटिहानी र भारतको सिक्किम बीचको पर्यटन प्रवर्द्धन स्थापित भगिनी सम्बन्धले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आफूले लिएको सिक्किम युनाइटेड टुरिजम अर्गनाइजेशनका अध्यक्ष शिवाकोटीले जानकारी दिए ।
उनले पटिहानी कसरा क्षेत्रको वाइल्डलाइफ, थारु जातिको मौलिक कला संस्कृति, कृषि र उद्यमशीलता, होटल तथा होमस्टे, चितवन राष्ट्रिय निकुञ्जका विविध पक्षहरुका बारेमा सिक्किममा प्रसारप्रचार गरिने बताए ।
सिक्किमका टुर अपरेटरहरुमार्फत पटिहानी क्षेत्रमा पर्यटकहरुलाई भ्रमणका लागि विभिन्न प्याकेजहरु बनाउन सहयोग गरिने उनको भनाइ छ ।
अध्यक्ष शिवाकोटीले नेपालबाट सिक्किम जान जाने पर्यटकहरुलाई पनि सहजताका लागि विभिन्न प्याकेज तथा पर्यटन क्षेत्रमा गर्नुपर्ने सुधारका लागि पहल अगाडि बढाउने बताए ।
दुई पक्षका बीचमा वारिपारिको सुमधुर पर्यटकीय साइनो जोड्न आफूहरू आतुर रहेको बताए ।
७ लाख जनसंख्या रहेको सिक्किममा वर्षिक १४ लाखभन्दा बढी पर्यटक आउने गरेको भन्दै अध्यक्ष शिवाकोटीले नेपालमा समेत उल्लेख संख्यामा पर्यटक भित्र्याउन सकिने बताए ।
कसरा पर्यटन व्यवसायी समितिका सचिव केशव ढकालले चितवनका प्रमुख तीन पर्यटकीय क्षेत्रहरू मध्ये पछिल्लो समयमा पटिहानी कसरा क्षेत्रले आफूलाई फरक ढंगले अगाडि बढाउन खोजेको बताए ।
पटिहानीको मौलिक कला संस्कृतिलाई जोगाउँदै सुविधा सम्पन्न र गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिँदा भीडभाड र कोलाहल मन नपराउने पर्यटक पटिहानीतर्फ आकर्षित बनेको सचिव ढकालको भनाइ छ ।

उनले कसरा र सिक्किम दुवै पर्यटकीय गन्तव्य भएकोले उताका पर्यटकलाई कसरा क्षेत्रमा ल्याउन र यताका पर्यटकलाई सिक्किममा सहजता दिलाउन स्थापित भएको भगिनी सम्बन्धले नयाँ आयाम थपेको बताए ।
सिक्किमको पर्यटन विभागकी पर्यटन अधिकृत गीता गुरुङले सिक्किमका ६ जिल्लामा नै पर्यटनसँग जोडिने गरी विभिन्न क्रियाकलापहरू सञ्चालन भइरहेको बताइन् । सिक्किममा १७ सय ८ वटा होमस्टे रहेको जानकारी गराउँदै गुरूङले सानो लगानीको ग्रामिण पर्यटनलाई विषेश प्राथमिकतामा राखिएको बताइन् ।
उनले सिक्किम र नेपालका बीचमा नागरिक स्तरमा नै सम्बन्ध बनाउन चाहेको बताइन् । सिक्किमको राजधानी गान्तोक, मनगान, नाम्ची, सोरेङ र ग्याल्सिङ प्रमुख पर्यटकीय केन्द्रहरू हुन् ।
भारतको शतप्रतिशत अर्गानिक राज्यका रूपमा सिक्किम रहेको दाबी गर्दै गुरूङले देश कै पाचौं पर्यटकीय गन्तव्य भएको दाबी गरिन् । सिक्किममा प्लाष्ट्रिकको व्यापार र प्रयोगमा रोकसमेत लगाइएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर २२ का वडाध्यक्ष तथा पर्यटन व्यवसायी विष्णुप्रसाद महतोले भगिनी सम्बन्धले कसरा र सिक्किम दुवै पर्यटकीय क्षेत्रलाई अगाडि बढाउन कोशेढुंगा सावित हुने बताए ।
सिक्किम र नेपालका बीचमा धेरै समानता रहेको भन्दै वडाध्यक्ष महतोले भाषा, कला संस्कृति, इतिहास र भूगोल एकै प्रकृतिको रहेको बताए ।
उनले सिक्किमबाट आउने पर्यटकलाई चितवन राष्ट्रिय निकुञ्जका दुलर्भ वन्यजन्तु, नदी किनारमा खेलिरहेका अति नै संकटापन्न अवस्थामा रहेका घडियाल गोही, समुदायमा आधारित पर्यटन र थारु संस्कृतिलाई सिक्किमको पर्यटनसँग जोड्न सकिने बताए ।
पटिहानी कसरा क्षेत्रमा स्तरीय सुविधा सम्पन्न होटलहरू रहेको भन्दै यहाँको आतिथ्यता सधैं उत्कृष्ट रहने भएकोले सिक्किममा यसबारेमा थप प्रसारप्रसार र सहयोग आगामी दिनमा हुने विश्वास वडाध्यक्ष महतोले व्यक्त गरे ।
उनले टुर अपरेटरहरूको फार्म टिप, स्टार्फ आदनप्रदान, मार्केटिङ, तालिम, सिप तथा क्षमतामूलक विभिन्न कामहरू आगामी दिनमा गर्दै जाने बताए ।
सिक्किम युनाइटेड टुरिजम अर्गनाइजेसनका सचिव नेविद गौतमले ५ देखि १० दिनसम्म घुम्ने गरी सिक्किम आउन सकिने बताए ।
उनले सिक्किममा युवाहरू पर्यटन व्यवसायमा लागिरहेको भन्दै कसराका व्यवसायीसँग मिलेर काम गर्न उत्सुक रहेको बताए ।
सन् २०१३ मार्च २८ मा स्थापना गरिएको सिक्किम युनाइटेड टुरिजम अर्गनाइजेसनले युवाहरूलाई पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न तालिम तथा सिपमूलक कामहरुसमेत गर्दै आएको सिक्किमको १६ सदस्यीय टोलीमा सदस्यका रूपमा आएका पत्रकार अम्बर गुरुङले बताए ।
उनले सिक्किमा विभिन्न सञ्चारमाध्यममा विषेश गरी पटिहानी र कसरा क्षेत्रको पर्यटनका बारेमा जानकारी गराउने उद्देश्यले विभिन्न सामाग्रीहरू प्रस्तुत गरिने बताए ।
पहिलोपटक पटिहानी आउँदा फरक खालको अनुभूति संगालेको बताउँदै पत्रकार गुरूङले वाइल्डलाइफ टुरिजम र थारु मौलिक कला संस्कृति निकै राम्रो लागेको बताए ।
प्रतिक्रिया 4