Comments Add Comment

हिंसात्मक घटनाको तीन दिनपछि सशस्त्र र नेपाल प्रहरी प्रमुख टीकापुरमा

Security-head-At-Tikapurai

१० भदौ, कैलाली । थारु समुदायको आन्दोलनले हिंसात्मक रुप लिँदा एसएसपीसहित ८ जनाको हत्या भएको टीकापुरमा विहीबार तीन वटै सुरक्षा निकायका प्रमुख पुगेका छन् ।

काठमाडौंबाट नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्त, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिपराज रेग्मी, गृहमन्त्रालयका प्रवक्ता लक्ष्मी ढकाल लगायतको टोली पत्रकारहरुका साथ टीकापुर पुगेका हुन् । गृहमन्त्री जाने भनिएपनि अन्तिममा गएनन् ।

टोलीलाई त्यहाँ सुरक्षा प्रमुखहरुले घटनास्थलमा नै लगेर घटनाबारे जानकारी गराएका थिए । त्यस क्रममा सशस्त्र र नेपाल प्रहरीका प्रमुखले स्थानीयसँग पनि कुराकानी गरेका छन् ।

इलाका प्रहरी कार्यालय टीकापुरमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै प्रहरी महानिरीक्षक अर्यालले भने-‘घटना निकै क्रुर भएको देखियो, दोषिलाई कारवाही भएरै छाड्छ ।’

अर्याल र वन्तले मातहतका सुरक्षाकर्मीलाई घटनाबाट बिचलित नभई कार्यक्षेत्रमा खटिन निर्देशन समेत दिएको पत्रकार शिवराज भट्टले जानकारी दिए । उनीहरुले गोली लागेर मृत्यु भएका डेढ वर्षीय टेकबहादुर साउदको परिवारलाई पनि भेटेका थिए ।

धनगढीबाट पत्रकारहरुको टोली पनि विहीबार टीकापुर पुगेको थियो । पत्रकार भट्टका अनुसार टीकापुरमा आन्दोलन नभए पनि स्थिति अझै सामान्य हुन सकेको छैन । ‘थारु र पहाडी समुदायबीच अझै पनि त्रास कायमै छ’ उनले अनलाइनखबरसँग भने ।

टीकापुरको आन्दोलनले हिंसात्मक रुप लिँदा सेती अञ्चल प्रहरी प्रमुख लक्ष्मण न्यौपानेहित ७ प्रहरी र एक नाबालकको मृत्यु भएको थियो । सो घटनामा घाइते एक प्रहरी हबल्दारको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ । यससँगै टीकापुर घटनामा मृत्यु हुनेको संख्या नौं पुगेको छ ।

आन्दोलनको अगुवा थारु कल्याणकारीणी सभाले घटनामा आफूहरुको हात नभएको र घुसपैठ भएको बताउँदै आएको छ । सरकारले गत मंगलबार राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माको अध्यक्षतामा टीकापुर घटना छानविन समिति गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment