Comments Add Comment

लगतारको बन्द हड्तालले बढायो हवार्इ यात्रु

१३ भदौ, भद्रपुर । विगत दुई हप्तादेखि तराइका विभिन्न जिल्लामा आन्दोलनकारीले गर्दै आएको बन्द र हडतालका कारण भद्रपुर विमानस्थलबाट काठमाडौँ जाने यात्रुको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको पाइएको छ ।

नियमित पाँच वटा उडान हुने भद्रपुर विमानस्थलमा केही दिनदेखि १० देखि ११ वटा उडान हुने गरेको भद्रपुर विमानस्थलले जनाएको छ ।

Buddha Airभद्रपुर विमानस्थलबाट बुद्ध एयरले दुई, यति एयरले दुई र सौर्य एयरलाइन्सले एक वटा उडान भर्दै आएकामा बन्द र हड्तालले एयरलाइन्सवालाले आआफ्नो तालिकामा परिवर्तन गरी बुद्धले चार, यतिले पाँच र सौर्यले दुई वटा दैनिक उडान गर्ने गरेका छन् ।

बुद्ध एयरमा एक पटकमा ७२ जना, यतिमा २९ जना र सौर्यमा ५२ जनाले यात्रा गर्ने गरेका छन् भने हवाई जहाजबाट यात्रा गर्नेले सस्तो मूल्यको टिकट नपाइ महँगोमा टिकट खरिद गरी यात्रा गरिरहेका छन् ।

भद्रपुर विमानस्थलबाट अहिले एक पटकमा सबै उडानका गरी १५३ जना आउने र त्यति नै सङ्ख्यामा जाने यात्रुहरु छन् ।

यति एयरलाइन्सले भद्रपुरबाट काठमाडाै यात्रा गर्न पाँच हजार १००,  पाँच हजार ३५५, रु पाँच हजार ७६५,  छ हजार ३९५, सात हजार ५० र  सात हजार ९१० का विभिन्न दरका टिकट कायम गरे पनि अहिले बन्द र हडतालका कारण सस्तो मूल्यको टिकट नपाइ महँगो दरका सात हजार ९१० का मात्र टिकट पाउने गरेको यात्रुहरु बताउँछन् ।

यात्रुहरुले सुरक्षित यात्राका लागि महँगो भए पनि टिकट खरिद गरेर यात्रा गरिरहेका छन् । भद्रपुर विमानस्थलका उपप्रबन्धक गोपाल घिमिरेले विमानस्थलमा अहिले यात्रुको चाप बढेको र एक्स–रे मेसिन नभएका कारण यात्रुलाई सुरक्षा जाँचमा कठिनाइ भइरहेको जानकारी दिए ।

बन्दका कारण जनै फेर्न र रक्षाबन्धन गर्न आफ्नो गृहजिल्ला चितवन जान कृषि विकास कार्यालय भद्रपुरका प्रमुख मेघनाथ तिमल्सेनाले बुद्ध एयरको टिकट खरिद गरी काठमाडाैं र त्यहाँबाट चितवन जाने जानकारी दिए ।

बन्दका कारण राजमार्गबाट जानसक्ने अवस्था नरहेकाले बाध्य भएर पर्व मनाउन यो विधि अपनाएको तिमल्सेनाको भनाइ छ ।

यसैगरी, जनैपूर्णिमाका लागि हवाई जहाजको टिकट नपाएर स्थानीय विकास अधिकारी फणीन्द्र दाहालले घर काठमाडाैं जान नसकी पैतृक घर मोरङको शनिश्चरे जानुपरेको जानकारी दिए ।

यस्ता कैयौँ सरकारी सेवामा आबद्ध सरकारी कर्मचारीले जनैपूर्णिमामा घर जान नसकेकामा चिन्ता व्यक्त गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment