Comments Add Comment

विप्लवलाई मानव अधिकार आयोगले भन्यो : एसईईको बेला नेपाल बन्द नगर

१३ चैत, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले माध्यमिक शिक्षा परीक्षा (एसईई) को समयमा नेपाल बन्द नगर्न नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई आग्रह गरेको छ ।

बुधबार विज्ञप्ति जारी गरी आयोगले एसईई परीक्षा र नेपाल बार एशोसिएसनको निर्वाचन परेकाले चैत १६ गते नेपाल बन्द नगर्न आग्रह गरेको हो । चैत १६ गते माध्यमिक शिक्षा परीक्षमा जनसंख्या तथा वातावरण विषयको परीक्षा परेको छ ।

बन्दले आम नागरिकको स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने अधिकार, स्वास्थ्य, शिक्षा, पेशा व्यवसाय र रोजगारीलगायतको अधिकार उपभोगमा बाधा पुग्ने भन्द आयोगले त्यस्ता गतिविधि नगर्न आग्रह गरेको हो । सचिव वेद भट्टराईद्वारा जारी विज्ञप्तिमा चन्दा, विस्फोट, हत्या हिंसायुक्त काम नगर्न र भययुक्त वातावरण सिर्जना नगर्न पनि विप्लव समूहलाई आग्रह गरिएको छ ।

त्यसैगरी आयोगले राजनीतिक विचार, आस्था र आशंकाका भरमा कुनै पनि नागरिकलाई धरपकड नगर्न र संविधानप्रदत्त अधिकार प्रयोगको वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ ।

वार्ताबाटै समस्याको निकास निकाल्न पनि आयोगले विप्लव समूह र सरकारलाई आग्रह गरेको छ । ‘कुनै पनि द्वन्द्व, विमति वा संघर्षको स्थितिलाई प्रतिद्वन्द्व वा विवादबाट भन्दा वार्ता र संवादबाटै निराकरण गर्न सकिने भएको र नेपालमा पनि विगतमा भएका सशस्त्र द्वन्द्व तथा विभिन्न प्रकारका संघर्ष एवं आन्दोलनहरु वार्ता र संवादबाटै अन्त्य भएको दृष्टान्तलाई आत्मसात गर्दै त्यसतर्फ गम्भीर रहन पनि आयोग संवद्ध सबै पक्षलाई आग्रह गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment